‘अँध्यारो महादेश नामले चिनिने महादेश कुन हो?’ विद्यालयस्तरीय हाजिरिजवाफ होस् या लोकसेवा आयोगका परीक्षा, प्रायः दोहोरिइरहने यस प्रश्नको उत्तर हो– अफ्रिका।
लामो समयसम्म यो महादेशको धेरै भागमा विद्युतको पहुँच नपुगेको तथा गरिबी, अज्ञानता र विकासको कमी भएकाले यसलाई ‘अँध्यारो महादेश’ भन्ने गरिएको हो। तर यही महादेशमा उज्यालो भविष्यको खोजीमा बर्सेनि हजारौँ नेपाली जाने गरेका छन्। प्राकृतिक स्रोतले सम्पन्न अफ्रिकामा निकै विकसित र विकासशील देशहरू पनि छन्। गरिबी र द्वन्द्वमा फसेका देशमा पनि नेपालीले राम्रो स्थान बनाएका छन्।
इजिप्टका लागि नेपाली राजदूत सुशील लम्साल अफ्रिका विविधताले भरिपूर्ण महादेश भएको बताउँछन्। “अफ्रिकामा धेरैथरि मुलुक छन्। पोटेन्सियल डेमोग्राफी, प्राकृतिक स्रोतमा धनी ठाउँ पनि छन्,” उनी भन्छन्, “तर यहाँ परिवर्तन भइरहन्छ। जस्तो, रोजगारीका लागि हिजो निकै राम्रो मानिएको देश आज द्वन्द्वग्रस्त पनि हुनसक्छ।”
अफ्रिकी साना देशले दिएको भरोसा
अफ्रिकाको सबैभन्दा सानो देश हो सिसेल्स। पूर्वी अफ्रिकाअन्तर्गत हिन्द महासागरमा पर्ने टापुहरूको देशले पर्यटनबाट आर्थिक फड्को मारेको छ। नेपाली श्रमिकहरू रोजगारीका लागि धेरै जाने अफ्रिकी देशमा सिसेल्स पनि पर्छ, जसको भूगोल काठमाडौँ उपत्यकाभन्दा सानो छ। नेपाली श्रमिक यो देश जान १०–१५ लाखसम्म तिर्न तत्पर छन्।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार, गत आर्थिक वर्षमा २४२ नेपाली रोजगारीका लागि सिसेल्स पुगेका छन्। विगत पाँच वर्षमा ३०४ महिलासहित एक हजार ४५० जनाले त्यहाँ जान वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिए। यसबाहेक विभिन्न उदेश्यले त्यहाँ पुगेर रोजगारीमा संलग्न हुनेहरू पनि छन्।
इटहरीका गणेश खड्का १७ वर्षअघि रोजगारीका लागि सिसेल्स पुग्दा नेपालीको संख्या नगण्य थियो। उनी भन्छन्, “सिसेल्समा म आउँदा दुईतीन जना नेपाली भेटेको थिएँ, तर पछि बढ्दै गए। अहिले त दुई हजारभन्दा धेरै पुग्नुभएको छ।”
खड्का सिसेल्सको पाँचतारे रिसोर्ट ‘फ्रिगेट आइल्यान्ड’मा काम गर्छन्। विसं २०५० को दशकमा रेडियो नेपालमा नाटक लेखन तथा कार्यक्रम सञ्चालन गरेका उनी माओवादी द्वन्द्वका बेला विदेश पसेका थिए।
शुरूमा मलेसिया पुगेका उनी त्यहाँबाट घर फर्किने क्रममा थाइल्यान्डको ट्रान्जिटमा एक स्वीस नागरिकसँग भेट भयो। तीनै स्वीस नागरिकको सहयोगमा सन् २००८ मा सिसेल्सको रिसोर्ट पुगे।
खड्काका अनुसार, सिसेल्समा नेपालीहरूले राम्रो काम गरिरहेकाले त्यहाँको सरकारले नै प्राथमिकतामा राखेको छ। “यहाँ नेपालीहरू होटेल, निर्माण र सेक्युरिटी गार्डमा त हुनुहुन्छ नै, अर्को गजबको कुरा भनेको सरकारले गोर्खालीहरूको महत्त्व बुझेर नगरप्रहरीमा पनि भर्ना गर्ने गरेको छ,” उनले सुनाए।
अर्को सानो देश मौरिसस नेपालीहरू सबैभन्दा धेरै जाने अफ्रिकी देशमध्ये अग्रस्थानमा छ। पूर्वी अफ्रिकी टापु देश मौरिसस क्षेत्रफलका हिसाबले जम्मा दुई हजार ४० वर्ग किलोमिटर मात्रै छ। त्यहाँ जाने नेपाली पनि बढिरहेका छन्।
पर्यटन र होटेल क्षेत्रमा काम गर्न नेपालीहरू मौरिसस पुग्ने गरेका छन्। मौरिसस नेपाली कामदारको आकर्षक रोजगार गन्तव्य बनेको ५–६ वर्ष भएको छ। अघिल्लो आर्थिक वर्षमा मात्रै ११४ महिलासहित पाँच हजार ६९६ जनाले मौरिससको रोजगारीका लागि विभागबाट श्रम स्वीकृति लिएका थिए।
अफ्रिकाका गरिब देशमा पनि अवसर
पूर्वी अफ्रिकी देश सिसेल्सले विकासको फड्को मारिरहँदा पश्चिम अफ्रिकी देश गिनी भने अझै गरिबीसँग जुधिरहेको छ। बक्साइट भण्डार, सुन, हीरा र फलामसहितको विशाल प्राकृतिक स्रोतले सम्पन्न भए पनि यहाँका लगभग ४३ प्रतिशत परिवार गरिबीको रेखामुनि छन्। कमजोर शासन प्रणाली, लुटपाट र भ्रष्टाचारका कारण पछि परेको यो देशमा पनि नेपालीहरू रोजगारी र व्यवसायमा संलग्न छन्।
विभागको तथ्यांकअनुसार, विगत पाँच वर्षमा १० जना नेपाली वैधानिक तवरमा रोजगारीका लागि त्यहाँ पुगेका थिए। समग्रमा नेपालीको संख्या करिब १०० को हाराहारीमा रहेको गिनीमा निर्माण कम्पनी चलाइरहेका चितवनका विकास श्रेष्ठ बताउँछन्। उनका अनुसार, त्यहाँ नेपालीहरू भारतीयले खोलेका होटेल, सेक्युरिटी गार्ड र निर्माण क्षेत्रमा छन्। उनकै निर्माण कम्पनीमा पनि इन्जिनियर तथा कामदार गरी २९ नेपाली कार्यरत छन्।
आफ्नै कम्पनीमा थप नेपाली कामदार ल्याउन खोजे पनि उच्च दक्षता भएकाहरू पाउन गाह्रो भएको श्रेष्ठको भनाइ छ। नेपालको नियम कानूनले पनि नेपालीलाई कामदारको रूपमा ल्याउन अप्ठेरो परेको उनले सुनाए।
शुरूमा उनीहरूले तालिमका लागि पर्यटन भिसामा नेपालबाट कामदार लैजान्थे। “नेपालीलाई वर्किङ भिसामा यहाँ ल्याउन नेपालकै कानूनले समस्या हुने रहेछ, हाई स्किल्ड जनशक्ति पाउन पनि गाह्रो छ,” उनले भने, “हाम्रो कम्पनीबाहेक यहाँ २५/३० जना नेपालीहरू भारतीय कम्पनीमा हुनुहुन्छ। फाइभस्टार होटेलमा प्रायः कुक हुनुहुन्छ। २/४ जना सेक्युरिटी गार्ड पनि हुनुहुन्छ। खानीमा पनि काम गर्नुहुन्छ।”
गिनीमा काम गर्ने नेपाली सबै दक्ष छन्। पारिश्रमिक पनि राम्रै छ। निर्माण क्षेत्रमा काम गर्नेको कम्तीमा १ लाख रुपैयाँ र फाइभस्टार होटेलमा काम गर्नेहरूको २ लाखभन्दा धेरै तलब छ।
नेपालबाट गएर गिनीको उद्योग क्षेत्रमा जम्न त्यति सजिलो भने छैन। त्यहाँ गुण्डागर्दी र लुटपाटसँग जुधिरहनुपर्छ। यसका बाबजुद पनि आफ्नो ‘एभरेस्ट ग्रुप अफ कम्पनी’ गिनीमा समग्रमा टप थ्रीमा पर्ने निर्माण कम्पनी रहेको श्रेष्ठ बताउँछन्।
“यहाँ गार्डहरू नलिइकन हिँड्न सकिने अवस्था छैन,” उनले भने, “तर सही नियत राखेर काम गरेपछि डराउनुपर्ने केही छैन, हाम्रो कम्पनी मेसिनरीमा वु आर द वन। भारतीयसँग मिलेर काम गरिरहेका छौँ।”
अफ्रिकाको गरिब र आन्तरिक युद्धमा फसेको देश हो सुडान। यही देशमा विगत पाँच आर्थिक वर्षमा १० नेपाली रोजगारीका लागि पुगेका छन्। सन् २०२३ मा सुडान गृहयुद्धमा फसेका बेला १९ नेपालीको उद्धार पनि गरिएको थियो। त्यसपछि केही समय त्यहाँ जान रोकियो। गत वर्ष एक जनाले पुनः त्यहाँ जान श्रम स्वीकृति लिए।
अहिले पनि सुडानमा आन्तरिक द्वन्द्व छ। गत शनिबार मात्रै मध्य सुडानमा विस्थापित परिवारहरू बोकेको गाडीमा एक कुख्यात अर्धसैनिक समूहले गरेको ड्रोन आक्रमणमा आठ बालबालिकासहित कम्तीमा २४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
१५ वर्षअघि सुडानबाट टुक्रिएर बनेको देश दक्षिण सुडानमा पनि नेपालीहरू छन्। विगत पाँच वर्षमा २६ नेपाली रोजगारीका लागि त्यहाँ पुगेको विभागको तथ्यांक छ।
दक्षिण सुडानको पनि दक्षिणमा अवस्थित देश हो युगान्डा। असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुई वर्षअघि युगान्डाको राजधानी कम्पाला पुगेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए, “मैले अफ्रिकी देशहरूमा रहेका नेपालीहरूको पीडा बुझ्ने अवसर पाएँ।”
उनले कूटनीतिक नियोग नहुँदा अफ्रिकामा छरिएका नेपालीले खेपिरहेको हैरानीको सन्दर्भ निकालेका थिए। त्यति बेला एनआरएनए युगान्डा च्याप्टरका संयोजक रमेश कँडेल रेस्टुरेन्टमा सेफ थिए। अहिले उनी व्यवसायी भइसकेका छन्।
सन् २०११ मा आफ्ना मीतको सल्लाहमा युगान्डा हानिएका कँडेल त्यहाँ लामो समय सुसी सेफ भए। डेढ वर्षअघि भने उनले आफ्नै रेस्टुरेन्ट खोलेका छन्। उनका छोराहरू पनि त्यतै पढ्छन्। भविष्यमा छोराहरूलाई व्यवसाय सुम्पेर नेपाल आउने उनको योजना छ।
सीप भएका र पढेलेखेका नेपाली मात्र युगान्डा पुगेको कँडेलको भनाइ छ। “त्यही भएर हामीले यहाँ हेपिनु पर्दैन, उनीहरूलाई काम लगाएर खाने हो,” उनले भने, “यहाँ साधारण काम गर्ने नेपालीहरू पनि रोयल लाइफ जिउँछन्, कतिले त काम गर्ने मान्छेसमेत राखेका छन्।”
उनका अनुसार, युगान्डामा ३५० जति नेपाली छन्। उनीसहित अन्य पाँच नेपालीले रेस्टुरेन्ट चलाइरहेका छन्। कोही सेफ, कोही इन्जिनियर र कोही सीए छन्। पछिल्लो समय युगान्डा शान्त र पर्यटकको हब बन्दै गएको छ।
साधारण कामका लागि त्यतैका नागरिक जति पनि भएकाले दक्ष नेपाली कामदारले मात्र काम पाउने कँडेल बताउँछन्। “युगान्डा अहिले शान्त हुँदै गइरहेको छ, आर्थिक क्रियाकलाप बढेको छ, यद्यपि राति लुटपाट चाहीँ हुन्छ,” उनले भने, “यहाँका मानिस त्यति धेरै शिक्षित छैनन्, विश्वासको लागि भए पनि बाहिरका मान्छेलाई जिम्मेवारीको काममा राख्छन्।”
शान्त देश घाना
हेटौँडाका विकास सुवेदी सन् २०१४ मा नै रोजगारीका लागि पश्चिम अफ्रिकी देश घाना पुगेका थिए। अहिले उनी त्यहाँ व्यवसाय गर्छन्, दुई महिनाअघि मात्र आफ्नै रेस्टुरेन्ट खोलेका छन्। घाना पुग्नुअघि उनी दिल्लीको क्राउन प्लाजा होटेलमा सेफ थिए। चिनजानका व्यक्तिमार्फत नै उनी सेफमै घाना गए।
अफ्रिकाका अरू देशको तुलनामा घाना सुरक्षित भएको सुवेदी बताउँछन्। त्यहाँ भारतीय निर्माण कम्पनी, चाइना मलजस्ता ठाउँमा नेपाली कामदार छन्। घानाका विदेशी व्यवसायी र त्यही देशका ठूला कम्पनीले स्थानीयभन्दा विदेशी कामदार खोज्ने उनको भनाइ छ।
घाना जान विगत पाँच वर्षमा ४१ जनाले विभागबाट श्रम स्वीकृति लिएका छन्। चिनजान भएको आधारमा नै नेपाली त्यहाँ काम गर्न जान्छन्। तर नेपालबाट श्रम स्वीकृति सजिलै नमिल्दा कामदार ल्याउन मुस्किल पर्ने सुवेदीको भनाइ छ।
घानाले नेपालीलाई अन–अराइभल भिसा दिन्छ। त्यसरी गएपछि श्रम स्वीकृतिको प्रक्रिया गर्नुपर्छ। “रेस्टुरेन्ट हेर्न आफन्तलाई ल्याउन खोजेको, कानूनी झन्झट भयो। बच्चा हेर्न मान्छे चाहिएको थियो, दिल्लीबाटै ल्याउनुपर्यो। परिवारकै सदस्यलाई पनि रोकिदिन्थ्यो,” उनले सुनाए।
घानाका मानिसले नेपालको नाम उस्तो सुनेका छैनन्। आफूले माउन्ट एभरेस्ट वा भारत र चीनको बीचको देश भनेर चिनाउने गरेको उनको भनाइ छ। जेन–जी आन्दोलनपछि भने नेपाललाई धेरैले चिन्न थालेको उनी बताउँछन्। त्यहाँ १०० देखि १५० नेपाली छन्। धेरैजसो होटेल क्षेत्रमा, केही निर्माण क्षेत्र र सुनखानीमा काम गर्छन्।
लमजुङका धर्मानन्द अधिकारी सुनखानीमा सुरक्षा गार्ड छन्। दलाललाई ७ लाख रुपैयाँ बुझाएर २०२१ सेप्टेम्बरमा आफ्ना दुई साथीसँगै उनी घाना पुगेका थिए। क्रुजमा गार्डको काम लगाइदिने भनेर घाना पुर्याएपछि दलाल आफै सम्पर्कविहीन भयो। चार महिनासम्म काम नपाएर एउटा कोठामा त्यत्तिकै बसे। त्यसपछि आफैले प्रहरीलाई सम्पर्क गरेर अध्यागमन अधिकारीलाई भेटी वृत्तान्त सुनाए।
धर्मानन्द र उनका साथीहरू नेपालका पूर्वसैनिक भएकाले ती अध्यागमन अधिकारीले विश्वास गरे। अनि आदमस रिसोर्सेस लिमिटेडले चलाइरहेको सुनखानीमा सुरक्षा गार्डको काम खोजिदिए। यो खानी निकै ठूलो जंगल क्षेत्रमा पर्छ। सुन भएका ठाउँमा ढुंगामाटो संकलन गरेर छान्छन्। उनीहरू प्लान्ट राखिएको स्थानमा छन्।
अहिलेसम्म असुरक्षा महसुस नभएको धर्मानन्द बताउँछन्। “घाना अफ्रिकाको शान्त देशमै पर्छ। खाडीतिर गएको भन्दा यता राम्रो छ। काम गर्ने समय ८ घण्टा हो, तर कहिले १२–१३ घण्टा पनि हुन्छ,” उनी भन्छन्, “काम सहज नै छ। खान बस्न कम्पनीकै हो। नौ हप्ता काम गरेपछि घरबिदा पाइन्छ, तीन हप्ता बिदा र आउजाउ टिकट कम्पनीले नै दिन्छ।”
घानाबाट पूर्वतर्फ टोगो र बेनिनपछि नाइजेरिया छ। पछिल्ला पाँच वर्षमा टोगोका लागि २८ जना र बेनिनका लागि चार जनाले श्रम स्वीकृति लिएका छन्। तर मध्य अफ्रिकी देश नाइजेरियामा अझै धेरै नेपाली छन्।
विगत एक दशकदेखि नाइजेरियाको निर्माण कम्पनीमा साइट मेनेजरको काम गरिरहेका रसुवाका कान्छा तामाङ शुरूमा त्यहाँ पुग्दा लागस शहरमा नेपाली भेट्नै मुस्किल हुन्थ्यो। “अहिले लागसमै २५–३० जना नेपाली छन्, तीमध्ये धेरैजसो होटेल क्षेत्रमा छन्,” उनी भन्छन्।
विद्रोही समूह बोकोहरामको प्रभाव रहेको नाइजेरियामा बेलाबखत भिडन्त भइरहन्छन्। तर नेपाली त्यहाँ जान रोकिएका छैनन्। विभागको तथ्यांकअनुसार, पाँच वर्षमा नौ महिलासहित १५२ नेपालीले त्यहाँ रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। तामाङ भन्छन्, “कुनै पनि विशेष सीप नभएका तथा साधारण कामदारलाई नाइजेरियाले भिसा नै दिँदैन। पछिल्लो समय झन् कडा गरेको छ।”
दक्षिण अफ्रिकामा हुर्किंदैछ तेस्रो पुस्ता
दक्षिण अफ्रिका धेरै पहिलेदेखि नेपाली रोजगारीका लागि जाने गरेका थिए। यहाँ नेपालीहरू करिब पाँच दशकदेखि स्वास्थ्य क्षेत्रमा जमेका छन्। शुरूमा दक्षिण अफ्रिका पुगेका नेपालीका दोस्रो–तेस्रो पुस्ता अहिले त्यहाँ हुर्किरहेका छन्।
दक्षिण अफ्रिकामा दोस्रो पुस्ताकी गैरआवासीय नेपाली हुन् डा. सरिता पाण्डे। उनका बुबा खडानन्द सरकारी जागिर छाडेर सन् १९८० मै अफ्रिका पुगेका थिए, त्यहाँ उनी शिक्षण पेसा गर्थे। त्यसको एक दशकअघि नै सरिताका मामा डा. खिमानन्द गैरे भारतबाट डाक्टरी पढेपछि सहपाठी अफ्रिकन साथीकै सल्लाहमा दक्षिण अफ्रिका पुगेका थिए।
नाक कान घाँटी सर्जन डा. पाण्डेका अनुसार त्यहाँ चिकित्सक र व्यापार क्षेत्रमा लागेका नेपाली प्रशस्त छन्। विद्यार्थी भिसामा गएर पढ्दै काम गर्ने पनि छन्। चाइनिज कम्पनीमा काम गर्ने नेपालीहरू पनि धेरै छन्। पछिल्लो समय नेपालीहरूले अफ्रिकी नागरिकसँग बिहे गर्ने क्रमसमेत बढिरहेको उनले सुनाइन्।
“अफ्रिकाको यो रिजनमा आउने हाम्रो मामा नै पहिलो नेपाली हो भन्छन्, उहाँकै सल्लाहमा बुवा पनि पुग्नुभयो, हामी यतै हुर्कियौँ” डा. पाण्डेले भनिन्, “दक्षिण अफ्रिकामा पाँच हजार नेपालीमध्ये हजार–बाह्र सय जति महिला हुनुहुन्छ होला।”
एनआरएनएको अफ्रिका महिला संयोजकसमेत रहेकी पाण्डेका अनुसार, नेपाली महिला श्रमिक विशेषगरी मौरिससका डान्सबारमा काम गर्न जाने गरेका छन्। त्यसबाहेक विभिन्न अफ्रिकी देशमा ब्युटीपार्लर र वेटरमा काम गरिरहेका छन्। कति त आफ्नै व्यवसाय गरेर पनि बसेका छन्। दलालहरूले नेपाली चेलीबेटीलाई ललाइफकाई अफ्रिकाका डान्सबारहरूतिर पनि पुर्याउने गरेको उनले बताइन्।
“महिलालाई एजेन्टहरूले फसाउँछन्। डान्सबार तथा क्लबबाट उद्धार गर्नुपरेको छ। अफ्रिकाको बाटो भएर अमेरिका, अस्ट्रेलिया लैजाने भनेर पनि फसाउने गर्छन्,” उनले भनिन्, “अहिले यस्ता गतिविधि कम भएको देखिन्छ। नेपालबाटै सचेत भएर, सबै कुरा बुझेर आउनेहरू समस्यामा पर्दैनन्।”
मौरिसस र सिसेल्सपछि नेपाली धेरै जाने अफ्रिकी देशमा दक्षिण अफ्रिका, इजिप्ट, नाइजेरिया, कोमोरस, सियरालियन, केन्या, जिबुटी, कंगो, अल्जेरिया, मोरक्कोलगायत देश पर्छन्। इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालका अनुसार, त्यहाँ ५०० जति नेपाली छन्। तीमध्ये करिब १५० विद्यार्थी छन्, जो मेडिकल र इस्लामिक अध्ययन गरिरहेका छन्। घरेलु कामदारलगायत केमिकल र टेक्सटाइल उद्योगमा पनि नेपाली छन्।
राजदूत लम्सालका अनुसार, अल्जेरिया खानी उद्योगमा काम गर्न ६०–७० नेपाली पुगेका छन्। यस्तै, मोरक्को, लेबनान, कंगो, इथियोपियाजस्ता देशमा पनि रोजगारीका लागि नेपाली पुगेका छन्। कतिपयले भने युरोप छिर्ने मार्गका रूपमा यी देशलाई प्रयोग गरिरहेका छन्।
अफ्रिकामा खड्किएको नेपाली कूटनीति
अफ्रिकासँग नेपालको सम्बन्ध खोज्ने हो भने जंगबहादुर राणाको पालासम्म पुग्नुपर्छ। सन् १८५० मा युरोप भ्रमणमा जाँदा जंगबहादुरको टोलीले इजिप्टमा पनि केही समय बिताएको थियो। इजिप्ट लामो समयसम्म युरोप प्रवेश गर्ने ‘ट्रान्जिट’ थियो।
राजा त्रिभुवन पनि १९५४ जनवरीमा युरोप भ्रमणमा जाँदा स्वास्थ्य समस्याका कारण इजिप्टमा बसेका थिए। त्यतिबेला इजिप्टका तत्कालीन राष्ट्रपति जनरल मोहम्मद नागुइबले राजा त्रिभुवनलाई सिगरेट सल्काउन मद्दत गरेको तस्वीर बेलाबेला सामाजिक सञ्जालतिर पनि छाइरहन्छ।
परराष्ट्र मन्त्रालयका अनुसार, नेपालले द्विपक्षीय सम्बन्ध स्थापना गरेका कुल १८३ देशमध्ये अफ्रिकी महादेशका ४६ देश पर्छन्। नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको दशौँ र अफ्रिकाको पहिलो देश इजिप्ट नै हो। इजिप्टसँग १९५७ जुलाई १६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसको नौ वर्षपछि कायरोमा र सन् १९७० मा इजिप्टले नेपालमा आवासीय दूतावास स्थापना गरेका थिए।
त्यस्तै, नेपालले श्रम सम्झौता गरेको एकमात्र अफ्रिकी देश मौरिसस हो। सिसेल्ससँग पनि श्रम सम्झौता गर्र्न विभिन्न चरणमा छलफल भएको छ। अफ्रिकाका ५४ देशमध्ये अहिले ३८ देशमा नेपालीहरू श्रम स्वीकृति लिएर रोजगारीका लागि गइरहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ।
दुई दशकदेखि नाइजेरियामा बस्दै आएका खाद्य प्राविधिज्ञ तथा गैरआवासीय नेपाली अभियन्ता हिक्मत थापाका अनुसार, अफ्रिकाका ४० भन्दा बढी देशमा २० हजारभन्दा धेरै नेपाली कार्यरत छन्। उनका अनुसार, त्यति ठूलो महादेशमा इजिप्ट र दक्षिण अफ्रिकामा मात्र दूतावास हुँदा नेपालीहरूले दुःख र हैरानी खेपिरहेका छन्। दूतावास नहुँदा अवैधानिक तथा अनौपचारिक रूपमा आएकाहरू समस्यामा पर्ने गरेका छन्।
अफ्रिका सम्भावना बोकेको महादेश हो। सरकारले उचित कूटनीतिक पहल नगर्दा तमाम सम्भावना त्यत्तिकै हातबाट फुत्किरहेका उनी बताउँछन्। “अफ्रिकामा नेपाली दिन प्रतिदिन बढिरहेका छन्। भोलिको अर्थतन्त्रको केन्द्र अफ्रिका हो। नेपालले अफ्रिकामा लगानी, रोजगारीलगायतमा टाई अप हुन जरुरी छ,” उनी भन्छन्।
राहदानी नवीकरण गर्ने, अलपत्र परेका नेपालीलाई उद्धार गर्ने मात्र नभई अहिलेको समयमा अर्थ कूटनीतिका लागि पनि दूतावास आवश्यक पर्ने थापाको भनाइ छ। “यहाँ कम्तीमा ५–१० वटा दूतावास हुनुपर्ने हो। तर दुःखद कुरा वाणिज्य दूतावास राख्नको लागि पनि परराष्ट्रका हाकिमदेखि नेता मन्त्रीलाई पैसा बुझाउनुपर्ने अवस्था छ,” उनले भने, “पहिला उत्तर र दक्षिणमा भएकामा अब कम्तीमा पनि पूर्वमा केन्या र पश्चिममा नाइजेरियामा पनि दूतावास चाहिन्छ।”