हामी सद्दे युवा विदेश पठाइरहेका छौं, रातारात मृत्यु भएर बाकसमा फर्किनु परिरहेको छ– श्रममन्त्री भण्डारी

11 December, 2024

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले हामीले स्वस्थ पठाएका युवा बिरामी भएर तथा मृत्यु भएर बाकसमा फर्किनुपर्ने अवस्था निकै दर्दनाक रहेको बताएका छन्।

नेपाल स्वास्थ्य व्यवसायी महासंघको १९औं वार्षिक साधारण सभाका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो अवस्था सिर्जना हुनुमा केही न केही समस्या रहेको बताए।

‘हामी श्रमिक सद्दे पठाइरहेका छौं रातारात मृत्यु भएर कफिनमा फर्किनु परेको छ भनेपछि केही न केही समस्या छ,’ उनले भने।

श्रमिकहरूको स्वास्थ्य अवस्थाबारे जानकारीका लागि ट्रयाकिङ सिस्टम राख्न लागेको पनि उनले बताए।

यसबाट यहाँ स्वास्थ्य परीक्षण पछि गन्तव्य मुलुक पुगेपछि श्रमिकको स्वास्थ्य अवस्था के कस्तो छ भने जानकारी हुने र उनीहरू जोखिममा पुग्ने अवस्था नहुने उनको भनाइ छ।

‘तपाइँहरूले मापदण्ड अनुसार स्वास्थ्य परीक्षण गर्नुपर्छ। श्रमिकको स्वास्थ्यमा खेलवाड नहोस्। यतिका धेरै सरकारी अस्पताल हुँदाहुँदै श्रमिकको स्वास्थ्य परीक्षण गर्ने जिम्मा तपाइँहरूलाई सरकारले किन दिएको छ त?,’ मन्त्री भण्डारीले व्यवसायीहरूलाई प्रश्न गरे।

यहाँबाट गएदेखि नफर्केसम्म स्वास्थ्य को जिम्मा नेपाल सरकारको भएको र वैदेशिक रोजगार बोर्डले यसको जिम्मा लिनुपर्ने पनि उनले बताए।

स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काले गुणस्तरीय स्वास्थ्य सेवाका लागि सधैं प्रतिबद्ध रहेको बताए।

गुणस्तरीय स्वास्थ्य परीक्षणका लागि मन्त्रालयसँग सहकार्य गरेरै अगाडि बढिरहेको बताए। महासंघले उत्कृष्ट सेवा प्रदान गर्ने दुई जना व्यवसायी र यो क्षेत्रमा झक्झक्याउने तीन जना पत्रकारलाई समेत सम्मान गरेको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024