हजारौं श्रमिक अलपत्र, वर्षमा १ को मात्र उद्धार

1 August, 2025

काठमाडौं : वैदेशिक रोजगारीको सिलसिलामा वार्षिक हजारौं नेपाली विदेशमा अलपत्र पर्ने गरेका छन् । तर, तीमध्ये वर्षमा एक जनाको मात्र उद्धार हुने गरेको पाइएको छ । वैदेशिक रोजगार बोर्ड श्रम स्वीकृत नभएका र नगरी गएका कामदारको हकमा केही गर्न नसक्ने भन्दै पन्छिने गरेको छ ।

श्रम मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डले बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा बोर्डले एक वर्षमा विदेशमा अलपत्र परेका एक जना कामदारको मात्रै उद्धार गरेको उल्लेख छ । वैदेशिक रोजगार कल्याणकारी कोषअन्तर्गत ३ सय जना अलपत्र कामदारको उद्धार गर्ने वार्षिक लक्ष्य रहेको प्रतिवेदनले जनाएको छ ।

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक द्वारीका उप्रेतीले वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०८१/८२ मा १ हजार १ सय ८० नेपालीको शव घरसम्म ढुवानी गरेको तथ्यांक सार्वजनिक गरे । बोर्डले यी शवहरू आफ्नै पहलमा विदेशबाट ल्याएको भने होइन । श्रम स्वीकृत भएका र लिएर गएका श्रमिकको मृत्यु भएको हकमा उनीहरूले काम गर्ने कम्पनीले नै शव नेपाल पठाउने गरेका छन् । त्रिभुवन विमानस्थलमा आएको शवलाई बोर्डले पशुपति आर्यघाट तथा सम्बन्धित व्यक्तिको घरसम्म मात्रै पुर्‍याउने गरेको छ ।

बोर्डले आव २०८१/८२ मा विभिन्न देशमा अलपत्र परेका ७० वटा शव नेपाल झिकाएको छ । जबकी बोर्डले वार्षिक २ सयवटा अलपत्र शव झिकाउने लक्ष्य राखेको थियो । १,२५० जना मृतक कामदारका परिवारलाई बोर्डले आर्थिक सहायता गरेको तथ्यांक सार्वजनिक गरेको छ । उप्रेतीले बोर्डले वैदेशिक रोजगारीमा जाने श्रमिकको हकहितका लागि काम गरिरहेको बताए । उनले भने, ‘बोर्डले बिरामी कामदारलाई आर्थिक सहायता गरेका छौं, कामदारका परिवारलाई स्वास्थ्य उपचारमा सहयोग गरेका छौं । उनीहरूका सन्ततीलाई छात्रवृत्ति प्रदान गरेका छौं ।’

बोर्डले सार्वजनिक गरेको तथ्यांक हेर्ने हो भने पनि निकै थोरै संख्यामा मात्रै कामदारका परिवारले यस्ता सहयोग पाएका छन् । लाखौं व्यक्ति वैदेशिक रोजगारीमा गएका छन् । हजारौं अलपत्र परेका छन्, हजारौं व्यक्तिहरूको मृत्यु भइसक्यो । घाइते र अपांग अवस्थामा छन् । तर, बोर्ड भने श्रम स्वीकृति लिएर गएका कामदारका लागि मात्रै पहल गर्छौं भन्ने अडानमा छ ।

वैदेशिक रोजगार बोर्डका प्रवक्ता गुरुदत्त सुवेदीका अनुसार आव २०८१÷८२ मा ८ लाख ३९ हजार २ सय ६५ जनाले श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका छन् । यो तथ्यांकमध्ये विदेश जाने नयाँ कामदार तथा दोहोर्‍याएर विदेश जाने दुवैको तथ्यांक हो । अघिल्लो आवमा यो संख्या ७ लाख ६० हजार ३ सय ९१ जना थियो ।

सुवेदी भन्छन्, नेपालबाट वार्षिक रूपमा लाखां व्यक्तिहरू विदेश जान्छन् । श्रम स्वीकृति नलिएका, भिजिट भिसामा गएर उतै लुक्ने र शैक्षिक भिसामा जाने व्यक्तिहरूको संख्या पनि लाखौं छ । विभिन्न बहानामा महिनामा हजारांै व्यक्तिहरूले देश छाड्छन् ।
प्रवक्ता सुवेदी भन्छन्, ‘श्रम स्वीकृति नलिइ विदेश जाने श्रमिकको हकमा कुनै पनि पहल गर्न बोर्ड जिम्मेवार छैन । कानुनले नै बोर्डलाई यो जिम्मेवारी दिएको छैन ।’

बोर्डले चालु आर्थिक वर्षमा पुराना शव वाहनको सट्टा दुईवटा नयाँ विद्युतीय शववाहन खरिद गर्ने योजना अघि सारेको छ । विदेशमा जेल परेका अधिकांश व्यक्तिहरू लागुऔषध वा मदिरा सेवनजस्ता गतिविधिमा संलग्न भएको र उनीहरू आफैं कानुनी प्रक्रियामा जान नचाहने भएकाले उनीहरूको उद्धारमा अप्ठ्यारो अवस्था आउने बोर्डका प्रमुख उप्रेतीले बताए । उनका अनुसार विशेषगरी साउदी अरबको कानुनी प्रक्रिया जटिल भएकाले त्यहा मृत्यु भएका कामदारको शव ल्याउन ढिलाइ हुने गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024