‘स्याङ्जाका ७३ जनाले त्यागे नागरिकता ’

3 April, 2023

स्याङ्जा : स्याङ्जाका ७३ जनाले युवायुवतीले नेपाली नागरिकता परित्याग गरेका छन्। १३ वर्षको अवधिमा ७३ जना युवायुवतीले नागरिकता त्यागेका हुन्।

जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार वि.सं. २०६७-०२-०३ देखि २०८०-११-२७ गतेसम्ममा ७३ जना स्याङ्जालीले विदेशी नागरिक बन्नका लागि नेपाली नागरिकता परित्याग गरेको उल्लेख छ।

नेपाली नागरिकता परित्याग गर्नेमा २५ जना महिला र ४८ जना पुरुष छन्। महिलाका तुलनामा पुरुषको संख्या झण्डै दोब्बर छ। नेपाली नागरिकता परित्याग गरी उनीहरूले बेलायत, हङकङ, बेल्जियम, अमेरिका, युगाण्डा, अष्ट्रेलिया,फ्रान्स, जर्मनी, फिनल्याण्ड, न्यूजील्याण्ड, पोर्चुगल, क्यानडा, केन्या, कोरियन, चाइनिज नागरिकता लिएका छन्।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार,मुख्यतः गैरआवासीय नेपाली नागरिकले नागरिकता लिन पाउने भएपछि एनआरएन नागरिकता लिन र नेपालमै नबस्ने लक्ष्य लिएर नागरिकता परित्यागको गर्नेहरु बढेका हुन्। डीभी, पीआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग विवाह गरी बसेकाले पनि नागरिकता त्याग गर्ने गरेको प्रजिअ नेपालको भनाइ छ। त्यसो त, विदेशी नागरिकता लिने प्रक्रिया थालेसँगै नेपाली नागरिकता परित्याग गर्नुपर्ने हुन्छ।

यसरी नागरिकता त्याग गर्नेमध्ये अमेरिका, अष्ट्रेलिया र यूरोप पुग्नेहरु धेरै छन्। प्रशासनको तथ्यांक अनुसार अमेरिकी नागरिकता प्राप्त गर्नेमा स्याङ्जाका १७ जना छन्। त्यसपछि क्रमश : अष्ट्रेलियाको १५, हङकङ १२, बेलायत ११, कोरियन ३, जर्मनी ३, न्यूजील्याण्ड २, चाइनिज २, पोर्चुगल २ र क्यानडा, केन्या, बेल्जीयम, युगाण्डा, फ्रान्स, फिनल्याण्डका नागरिकता लिने एक/एक जना रहेका छन्।

वि.सं. २०४० सालदेखि २०७६ सालभित्रमा जारी गरिएका ती नागरिकता सबैभन्दा धेरै यही वर्ष २०८० सालमा ३६ जनाका नागरिकता परित्याग भएको प्रशासनले जनाएको छ। यसैगरी, वि.सं. २०६७ मा २ वटा, २०६८मा ३ वटा, २०७० मा २ वटा, २०७१ मा ३ वटा, २०७२ मा ४ वटा, २०७३ मा ६ वटा, २०७४ मा ६ वटा, २०७५ मा ३ वटा, २०७६ मा एउटा, २०७७ मा ५ वटा, २०७८ मा एउटा र २०७९ मा २ वटा नागरिकता त्याग भएका छन्। २०६९ सालमा भने एउटा पनि नागरिकता त्याग नगरेको पाइएको छ।

राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगार, शिक्षा र स्वास्थ्यलाई मुख्य कारण देखाउँदै विदेशी मुलुक छिरेका नेपाली नागरिक उतै बस्न चाहेको पाइएको हो।

राज्यले आफ्नो नागरिकको शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगारको ग्यारेन्टी गर्न नसक्नु विदेश पलायनको प्रमुख कारण रहेको स्याङ्जाबाट केही महिनाअघि अमेरिका पुगेका युवा दिपक वाग्लेको भनाइ छ। उनले भने,‘भष्ट्राचार नियन्त्रण, शिक्षा, स्वास्थ्य रोजगारका निम्ति यस्तै अवस्था रहीरहे अझै धेरै युवाहरू विदेशिन वाध्य हुनेछन्। अब, युवा शक्ति स्वदेशै रमाउने राज्यको नीति बनाइनुपर्छ।’

राष्ट्रिय जनगणना २०७८ का अनुसार स्याङ्जाको जनसंख्या २ लाख ५३ हजार २४ जना रहेको छ। गत वर्ष झण्डै १२ हजार जनाले राहदानी लिएका थिए। ती मध्ये अधिकांश युवायुवती रोजगार र अध्ययनका लागि भन्दै विदेशिने गरेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024