सुकुम्बासीलाई छाक टार्न धौ–धौ

9 April, 2020

पर्वत पोर्तेल

भद्रपुर, झापा — ५५ वर्षीय विष्णु हेमरम घरनजिकै हडिया खोलामा गिट्टी कुटेर परिवार पाल्थे । दुई सातायता काम बन्द छ । बिहान–बेलुकी छाक टार्ने बाटो पनि बन्द । ‘गिट्टी कुटेर कमाएको पैसाले छोराछोरीलाई ख्वाउँथें,’ भद्रपुर–९ घोडामाराका हेमरम दुखेसो पोख्छन्, ‘अहिले न काम छ, न माम ।’ 

हडिया खोलाकिनारका करिब २० घर सन्थाल समुदायका सुकुम्बासी परिवारको अवस्था समान छ। नगरपालिका र जनप्रतिनिधिसमेत पुगेका छैनन्। हेमरामले आक्रोश पोखे, ‘चुनाव थियो भने भोटका लागि अस्ति नै आइपुग्थे। अभावका बेला कुनै नेताले मुख देखाएको छैन।’ 

८० वर्षकी फूलमुनी सोरेन चन्द्रगढीको होटलमा भाडा मस्काएर परिवार पाल्दै थिइन्। लकडायनसँगै काम बन्द भो। यिनलाई छाक टार्न धौ–धौ छ। ‘घरजग्गा भएकाले राहत पाए भन्ने सुनियो,’ फूलमुनीले भनिन्, ‘हामी भोकै छौं।’ यिनको घरमा न चामल छ, न त अरू खानेकुरा नै। छ त मात्रै पानी र नुन। पानी उमाल्छिन् नुन छर्किन्छिन् अनि घटघटी पिएर भोक मेटाउँछिन्। ‘हामी त भोक सहन पनि सक्छौं,’ फूलमुनीले थपिन्, ‘तर, बालबच्चालाई के ख्वाएर बचाउने ?’ 

४५ वर्षका निर्मल उराउको सानो झुप्रो छ। परिवार भने १० जनाभन्दा बढी। निर्माण श्रमिकका रूपमा कार्यरत निर्मलको १० जनाको परिवारले के खा“दै होला यो बेला। लकडाउनअघि किनेको ५ किलो चालम सकिएपछि यो परिवार पनि भोकै छ। किन्न जाउँ, पैसा छैन। उधारो पनि कसैले पत्याउँदैन। ‘गिट्ठा खान पनि पाइएको छैन’, उनले भने, ‘गिट्ठा खोज्न जंगल पस्नुपर्छ, पुलिसले घरबाट निस्कियो कि पिटिहाल्छ।’ 

झापाका पालिकाहरूले विपन्न र ज्याला मजदुरी गर्ने श्रमिकका परिवारलाई धमाधम राहत वितरण गरिरहेका छन्। भद्रपुरले पनि पहिलो चरणमा विपद् व्यवस्थापन कोषमार्फत १५ लाख रुपैयाँ खाद्यान्न राहतका रूपमा वितरण गरेको छ। नगरका अनुसार ३ हजार २ सय ४८ विपन्न परिवारका लागि ५१ हजार १ सय ६४ किलो चामल, ३ हजार ४ सय ४ किलो दाल, २३ हजार ४ सय ४८ किलो नुन, २ हजार १ सय ९३ लिटर तेल, २ हजार ६ सय ६६ डल्ला साबुन, १ सय २० कार्टुन चाउचाउ, १ सय ४० किलो आलु, २४ किलो चियापत्ती र १ सय २० किलो चिनी वितरण गरेको छ। मेयर जीवनकुमार श्रेष्ठका अनुसार दोस्रो चरणमा थप विपन्नको पहिचान गरी राहत वितरण गरिने बताइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024