३१ वैशाख, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोलेका बर्तौलाले साउदी अरबको जुवेल सहरमा सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द भएपछि चार सय बढी नेपाली अलपत्र परेको बताए । उनले अलपत्र परेका नेपालीहरूको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए ।
कम्पनी बन्द हुँदा २ देखि ९ महिनासम्मको पारिश्रमिक पाउन नसकेको र बर्हिगमन भिसा बन्द भएकाले स्वदेश आउन पाएकाले नेपालीहरू अलपत्र परेको प्रमुख सचेतक बर्तौलाले बताए ।
‘अपलत्र परेका सबै नेपालीको यथाशीघ्र उद्धार गरी आवश्यक सहयोग र सहजीकरणमा जुटन सरकारसँग आग्रह गर्दछु,’ उनले भने ।