श्रम स्वीकृति लिन अव्यवस्थित भीड

26 September, 2020

सीता शर्मा

काठमाडौँ, असोज १० गते । एकअर्काबीच ठेलमठेल, न सामाजिक दूरी न मुखमा माक्स । वैदेशिक रोजगार विभागअन्तर्गत काठमाडौँका ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा विदेश जान श्रम स्वीकृति लिनेको यस्तो दृश्य हेर्दा लाग्छ अब कोरोना भाइरसको जोखिम सकियो।

चितवनका विजय क्षेत्रीले पुनः श्रम स्वीकृति लिएर कतार जान ताहचलको श्रम कार्यालय धाउन थालेको तीन दिन भयो तर पनि सेवा पाउनुभएको छैन । पुनः श्रम स्वीकृति लिएर जानलाई उहाँले काम गरिरहेको रोजगारदाता कम्पनीबाट ‘नो अब्जेसन लेटर’ कार्यालयको इमेल ठेगनामा आउनुपर्छ ।

उहाँले काम गरेको रोजगारदाता कम्पनीले उक्त लेटर कतारमा रहेको नेपाली दूतावासको इमेल ठेगनामा पठाइदिएछ । त्यसैले इमेल नआएर श्रम स्वीकृति पाउनुभएको छैन । चार दिनभित्र कतार नपुगे भिसा सकिन्छ । चिठी नभई श्रमले दिँदैन ।

क्षेत्रीले भन्नुभयो, “ऋणले थिचिसक्यो, भीडभाडमा मास्क लगाउँदा झन आत्तिन्छु । त्यही भएर निकालेर ब्यागमा राखेको छु । ” भीडमा मास्क नलगाउने उहाँ मात्रै होइन, उहाँसँगै उस्तै सेवा लिन आउनुभएका सर्लाहीका विकास यादवको त आउँदाआउँदै मास्क नै हरायो ।

उहाँले भन्नुभयो, “किन्न जाउँ भने लाइन छुट्छ । काम हुँदैन त्यसैले त्यतिकै लाइनमा बसेको छु । ” १६ वर्ष साउदी बसेर पुनः श्रम स्वीकृतिका लागि दुई दिनदेखि श्रम कार्यालय धाइरहनुभएका पर्वतका राजुप्रसाद सुवेदीले कोरोनाको जोखिममा भीडभाड देखेर डर लागेको तर लाइनमा बस्न बाध्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुई दिन भयो धाउन थालेको, कहिले नो अब्जेसन लेटर, कहिले कम्पनीसँग भएको एग्रिमेन्ट पेपर भन्छन् । उताबाट पठाएँ भन्छ, इमेल चेक गर्न भन्न डराइडराई लाइनमा बसेको छु । ”

कोरोनाको जोखिममा श्रम कार्यालय परिसरमा बिनामास्क लाइनमा भीडभाड गर्र्नेलाई प्रशासनले सचेत गराउनुपर्नेमा कसैले त्यसो गरेको पाइएन । भीडभाड हुने सरकारी कार्यालयमा हात धुने साबुन, पानी र सेनिटाइजरको त के कुरा गर्नु र ! माक्सबिना पस्नेलाई त कुनै जाँच छैन, वरै उभिएका तनहुका रमेश अधिकारीले भन्नुभयो ।

पुनः श्रम स्वीकृति लिएर संयुक्त अरब इमिरेट्स (यूएई) जानलाई आउनुभएका उहाँले भन्नुभयो, “बिहानैदेखि यो कार्यालयमा यस्तै भीडभाड छ । श्रम लिन लाइन बस्दा कोरोना सङ्क्रमित भइन्छ कि भन्ने डरले लाइनमा बस्न सकेको छैन । कर्मचारीले लाइनमा नबसी श्रम स्वीकृति दिन मिल्दैन भन्छन् । ” श्रम लिनेलाई टोकन नम्बर दिने र त्यही नम्बरका आधारमा श्रम दिने भनेर प्रचार गरे । त्यो पनि प्रचारमै सीमित भयो, टोकन प्रणाली लागू भएको भए त जोखिम कम हुने थियो नि, उहाँले भन्नुभयो ।

श्रम कार्यालयका निर्देशक एवं सूचना अधिकारी छत्रबहादुर शाहले वैदेशिक रोजगार कार्यालयमा प्रयास गर्दागर्दै पनि सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गराउन नसकेको स्वीकार गर्नुभयो । उल्टै उहाँले प्रश्न गर्नुभयो, “प्रयास नगरेका होइनौँ तर सकिएन । अधिकांश विदेशमा बसेर पुनः फर्किने हुनुहुन्छ, सरकारले दिनहुँ भनेको भन्यै छ, सेवाग्राहीले बुभ्mनुपर्दैन ?”

उहाँले सेनिटाइजर नराखे पनि हात धुने पानी र साबुनको व्यवस्था गरेको तर सेवाग्राहीले वास्तै नगरेको दाबी गर्नुभयो । उहाँले टोकन प्रणाली कुनै बेला भए पनि त्यो प्रणाली अहिले कार्यान्वयन नभएको पनि स्पष्ट पार्नुभयो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024