श्रम स्वीकृतिपछि मात्रै टिकट लिन आग्रह

29 November, 2020

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १४ गते । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएपछि मात्रै टिकट लिन श्रमिकलाई आग्रह गरेको छ । विभागले सूचना सार्वजनिक गर्दै श्रम स्वीकृति नलिई टिकट लिएमा र स्वीकृति हुन नसकेमा कार्यालय जिम्मेवार नहुने जनाएको छ ।

विभागका अनुसार नवीकरण गर्ने सेवाग्राहीको माग एवं चाप बढ्दै गएपछि मङ्सिर १४ देखि दैनिक ३०० टोकन जारी गरिने व्यवस्था गरिएको छ । श्रम कार्यालयमा सेवा लिन आउने सेवाग्राहीबाट ‘आजै मेरो टिकट छ’ भनी टोकन अगाडि सार्न अनुरोध गर्ने गरिएको उल्लेख गर्दै अब १४ गतेबाट कुनै पनि बहाना र बेहोराबाट जारी टोकन अगाडि सार्ने कार्य पूर्ण रूपमा बन्द गरेको विभागले जनाएको छ ।

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘सेवाग्राहीबाट आज मेरो टिकट छ भनी टोकन अगाडि सार्न अनुरोध गर्ने गरिएकामा उहाँहरूलाई मर्का नपरोस् भन्नाका लागि सम्बन्धित शाखा एवं वैदेशिक रोजगार विभागसँग समन्वय गरी टिकट, पीसीआर रिपोर्ट देखाउन लगाई र भिसा समाप्त हुनेका हकमा सो हेरी राखी जारी टोकन एक दिनपूर्व वा भोलिपल्ट बिदा भए अर्को दिन ११ः०० बजेसम्मको भए अघिल्लो दिन पारदर्शी रूपमा सारिदिने गरिएकामा यस सम्बन्धमा कार्यालयको कार्यसम्पादनमा प्रश्न उठ्न जाने अवस्था रहेको छ । ’ श्रम स्वीकृति नलिई टिकट लिएमा र स्वीकृति हुन नसकेमा कार्यालय जिम्मेवार नहुने सूचनामार्फत विभागले स्पष्ट गरेको छ । वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024