वैदेशिक रोजगारीमा ठगी बढ्दै

14 February, 2022

नगेन्द्र अधिकारी 

काभ्रे — चार वर्षदेखि धुलिखेलमा बस्दै आएका सिन्धुपाल्चोकका निकेश सुन्दासले अनलाइनमा यूएईका लागि अवसर देखेर बनेपास्थित इनर्जी मल्टिपर्पोजमार्फत प्रक्रिया सुरु गरे । कम्पनीका प्रबन्ध निर्देशक अदिपबहादुर खड्कालाई २ लाख ५० हजार रुपैयाँ पनि बुझाए । भिसा आए पनि उनलाई कम्पनीले उडाउन सकेन । 

‘विदेश जान नसकेपछि पैसा फिर्ता माग्दा विभिन्न धाकधम्की दिए, भौतिक, सामाजिक रूपमा पनि असुरक्षित भएँ,’ निकेशले भने, ‘वैदेशिक रोजगार विभाग, जिल्ला प्रशासन कार्यालय काभ्रे धाउँदा पनि अझै न्याय पाएको छैन ।’ निकेशको पासपोर्ट खड्कासँगै भएको कारण अन्यत्र जान पनि सकेनन् । पैसा उठाउन बाइक नियन्त्रणमा लिँदा खड्काले उल्टै चोरीको मुद्दा हाले । बाइक बेचेर १ लाख असुल गरे पनि बाँकी पैसा फिर्ता पाएका छैनन् । उनलाई खड्काले दिएको चेक बाउन्स भएको छ । वैदेशिक रोजगार ऐन, २०६४ ले दिएको अधिकार प्रयोग गरेर प्रमुख जिल्ला अधिकारीले पीडकलाई बोलाएर छलफल गराउन सक्ने भन्दै निकेशले पहल गरिदिन अनुरोध गरे ।

खड्काबाट ठगिने निकेश एक्ला पात्र हैनन् । सिन्धुपाल्चोक घर भई काठमाडौं थली बस्दै आएकी सुकुरानी तामाङ र उनका देवर लक्ष्मण पनि ठगिएका छन् । दुवैसँग ३ लाख ५० हजारका रकम लिएका खड्काले भनेअनुसारको काममा पठाउन सकेनन् । ‘दुबईको पाँच तारे होटलमा क्यासियरको कामका लागि भनेर पैसा लिएको थियो, भिसा आयो तर मान्छे गायब भयो,’ सुकुरानीले भनिन्, ‘पछि फरक कम्पनीमा पर्सनल सेक्रेटरीमा काम गर्नुपर्छ भनेपछि शंका लागेर गइनँ, फसेको रकम उठाउन धेरै प्रयास गरे, अझै मान्छे भेट्न सकेको छैन ।’

लक्ष्मण विदेश त गए खड्काले भनेको कम्पनीमा काम नपाएर अलपत्र परे । धुलिखेल–१ देवीटारका स्थानीय मानबहादुर, प्रकाश र निमा तामाङलाई पोल्यान्ड पठाइदिने भन्दै काठमाडौं नारायणस्थानका चिनादास तामाङले सुरुमा डेढ लाख रुपैयाँका दरले उठाए । उक्त रकम बिमाका लागि भन्दै फेरि २ लाख रुपैयाँ असुले । ‘अब भारत हुँदै उड्नुपर्छ भनेर एक महिना त्यहाँ राख्दा पनि उडाउन सकेन, अन्तिममा काम बनेन भन्यो,’ निमाका बाबु सुकमानले भने, ‘तर पैसा अझै फिर्ता गरेको छैन, धेरै पटक धाइसकें, न्याय पाएको छैन ।’

काभ्रेमा वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेको छ । एकै व्यक्तिबाट धेरै जना ठगिएका उजुरी परेका छन् । जिल्ला प्रहरी प्रवक्ता डीएसपी हरि खतिवडा भन्छन्, ‘आवश्यक अनुसन्धान, खोजबिन गरेर अर्धन्यायिक निकायलाई सहयोग गर्दै आएका छौं । यस्ता मुद्दामा ठगी, मानव बेचबिखन ऐन आकर्षित हुने भएकाले सोहीअनुसार कारबाही अघि बढाउँछौं ।’ 

जिल्लास्थित आप्रवासी स्रोत केन्द्रको तथ्यांकअनुसार २०७८ साउनदेखि पुस मसान्तसम्म जिल्लामा ठगी, मृत्यु, उद्धार, जेल, बेपत्ता, सम्झौताअनुसारको काम र बिदा नभएको ६८ मुद्दा दर्ता भएका छन् । ९ वटा ठगीका मुद्दा दर्ता भएकामा ७ वटा मुद्दा प्रशासनले विभागमा सिफारिस गरेको छ । जि प्रका काभ्रेका अनुसार, आर्थिक वर्ष २०७७/७८ मा ४९ सय ४८ जनाले राहदानी बनाएका छन् । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ४६ सय ३१ जनाले राहदानी लिएका छन् । राहदानी बनाउनेमध्ये कम्तीमा ३० प्रतिशत रोजगारीका लागि विदेश जाने अनुमान छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024