वैदेशिक रोजगारीमा ठगी गर्ने चार जना पक्राउ

6 April, 2026

वैदेशिक रोजगारीमा ठगी गर्ने चार जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाइ उनीहरू सम्पर्कबिहीन भएका थिए ।

प्रहरीका अनुसार फिनल्यान्ड पठाउने भनी ५७ लाख रुपियाँ ठगी गर्ने ५२ वर्षीय कर्णबहादुर राउत पक्राउ परेका छन् । उनी स्थायी घर सल्यानको कालिमाटी गाउँपालिका वडा नं ७ भई हाल रूपन्देही बुटवल नगरपालिका–२ बस्दै आएका छन्।

माल्टा पठाउने भनी चार लाख ५० हजार रुपियाँ ठगी गर्ने ४२ वर्षीय आनन्द थापा पक्राउ परेका छन् । उनी स्थायी घर तनहुँको भानु नगरपालिका वडा नं २२ भइ हाल काठमाडौँ नागर्जुन नगरपालिका वडा ९ बस्दै आएका थिए ।

फिनल्यान्ड पठाउने भनी चार लाख २० हजार रुपियाँ ठगी गर्ने ३९ वर्षीय राधिका पाठक पौडेल पक्राउ परेकी छन् । स्थायी घर नवलपरासी (पूर्व) कावासेती नगरपालिका वडा नं ३ का पौडेल काठमाडौँ महानगरपालिका वडा नं १२ बाट पक्राउ परेका थिए।

यसैगरी, सर्विया पठाउने भनी आठ लाख रुपियाँ ठगी गर्ने ४७ वर्षीय तिलक परियार पक्राउ परेका छन् । उनी स्थायी घर मोरङ सुन्दरहरैँचा नगरपालिका वडा नं ३ भइ हाल काठमाडौँ महानगरपालिका वडा नं ३१ बस्दै आएका थिए। उनीहरूलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वेदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024