वैदेशिक रोजगारीमा जाने श्रमिकको बढेको मेडिकल शुल्क खारेज

22 December, 2025

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण (मेडिकल)शुल्क बढाउने निर्णय खारेज गरेका छन्।

मन्त्री भण्डारीले पुस ४ गते मन्त्रीस्तरीय निर्णय गर्दै यसअघि शरतसिंह भण्डारी श्रममन्त्री हुँदा बढाएको मेडिकल शुल्क खारेज गरेका हुन्।

शरतसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णयबाट ६ हजार पाँच सय रूपैयाँ रहेको मेडिकल शुल्क बढाएर ९ हजार ५०० रूपैयाँ पुर्‍याएका थिए।

विशेषज्ञ समितिको सिफारिसका आधारमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको विभिन्न ३४ प्रकारका परीक्षण गर्ने गरी ९ हजार पाँच सय रूपैयाँ शुल्क तोकिएको मन्त्रालयले जनाएको थियो।

त्यसबेला श्रमिकमाथि आर्थिक भार थपिएको भन्दै चौतर्फी आलोचना समेत भएको थियो। मन्त्रालयले मेडिकल व्यवसायीसँगको मिलोमतोमा शुल्क बढाएको आरोप थियो।

यस विषयमा सेतोपाटीले मन्त्रालयका अधिकारीहरूसँग कुराकानी गर्दा स्वास्थ्य परीक्षण शीर्षकहरू थप भएका आधारमा शुल्क सस्तो भएको दाबी गरेका थिए।

बढेको मेडिकल शुल्क गत मंसिर १० गतेदेखि कार्यान्वयन भएको थियो।

कार्यान्वयनमा आएसँगै म्यानपावर व्यवसायी तथा अधिकारकर्मीहरूले श्रमिकमाथि आर्थिक शोषण भएको भन्दै फेरि पनि चौतर्फी विरोध गरेका थिए।उनीहरूले शुल्क तत्काल घटाउन आग्रह गरेका थिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024