विश्वमा अझैपनि १३ करोड ८० लाख बाल श्रमिक

13 Jun, 2025

श्रीराम सुवेदी

विश्वमा अझैपनि १३ करोड ८० लाख बालबालिका बालश्रममा संलग्न रहेको युनिसेफ र अन्तर्राष्ट्रिय श्रम सङ्गठनले जनाएका छन् । यी दुवै संस्थाले बुधवार जारी गरेको संयुक्त प्रतिवेदनका अनुसार गत बर्ष अर्थात सन् २०२४ मा विश्वमा यति धेरै सँख्यामा बाल श्रमिक रहेको देखिएको हो ।

बालश्रममा संलग्न कुल सँख्या मध्ये करिब ५ करोड ४० लाख बालबालिका खतरनाक काममा संलग्न रहेका र यसले उनीहरूको स्वास्थ्य, सुरक्षा वा विकासलाई जोखिममा पारेको प्रतिवेदनमा उल्लेख छ ।

पछिल्ला तथ्यांकले २०२० देखि यता बाल श्रमिकको सँख्यामा २ करोड २० लाख कमी आएको र र यसले २०१६ देखि २०२० को बिचमा देखिएको चिन्ताजनक वृद्धिलाई सल्टाएको देखिन्छ । त्यसो हुँदाहुँदै पनि, २०२५ सम्ममा बालश्रम उन्मूलन गर्ने लक्ष्य हासिल गर्न विश्व असफल रहेको छ ।

हरेक बर्ष जून १२ मनाइने बाल श्रम विरुद्धका अन्तर्राष्ट्रिय दिवसको पूर्व सन्ध्यामा जारी गरिएको ‘बाल श्रम: विश्वव्यापी अनुमान , यसको प्रवृत्ति र आगामी बाटो–२०२४’ नामक उक्त प्रतिवेदनमा ‘लाखौँ बालबालिका अझै पनि सिक्ने, खेल्ने र बच्चाको रूपमा बाँच्ने आफ्नो अधिकारबाट वञ्चित’ रहेको उल्लेख छ ।

प्रतिवेदन सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक गिल्बर्ट एफ. हुङग्बोले बाल श्रम उन्मूलन गर्ने लक्ष्य हासिल गर्न ‘अझै लामो बाटो तय गर्न बाँकी’ रहेको बताएका छन् ।

तथ्याङ्क अनुसार, विश्वका कुल वाल श्रमिक मध्ये, सबैभन्दा बढी सँख्या कृषि बाल श्रमिकको (६१ प्रतिशत) छ । त्यसपछि दोस्रोमा घरेलु काम र बजारमा सामान बेच्ने वाल श्रमिकको सँख्या(२७ प्रतिशत) छ भने तेस्रोमा खानी,उत्पादनजन्य उद्योग लगायत अन्य उद्योगमा कार्यरत बाल श्रमिकको संख्या(१३ प्रतिशत) छ ।

प्रतिवेदनका अनुसार २०२० यता एसिया र प्रशान्त क्षेत्रमा सबैभन्दा राम्रो प्रगति भएको छ । यो क्षेत्रमा बाल श्रम दर ५.६ प्रतिशतबाट ३.१ प्रतिशतमा झरेको छ । सङ्ख्याको हिसाबमा यो क्षेत्रमा ४ करोड ९० लाखबाट यो २ करोड ८० लाखमा झरेको हो । यसै गरी, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रले बालश्रममा ८ प्रतिशत सापेक्षिक कमी र कुल संख्यामा ११ प्रतिशत कमी हासिल गरेको प्रतिवेदनले उल्लेख गरेको छ।

सब–सहारा अफ्रिकाले अझै पनि विश्वव्यापी बाल श्रमको लगभग दुई तिहाइ लिएको छ, जहाँ झण्डै ८ करोड ७० लाख बाल श्रमिक छन् । यो क्षेत्रमा बाल श्रमको उपस्थिति दर(प्रिभालेन्स) २३.९ बाट २१.५ प्रतिशतमा झरे पनि जनसंख्या वृद्धिको पृष्ठभूमिमा कुल संख्या स्थिर रहेको छ।

‘विश्वले बाल श्रममा धकेलिएका बालबालिकाको संख्या घटाउन महत्त्वपूर्ण प्रगति गरेको छ। तर अझै पनि धेरै बालबालिका बाच्नका लागि खानी, कलकारखाना वा खेतबारीमा काम गरिरहेका छन्,’ युनिसेफकी कार्यकारी निर्देशक क्याथरीन रसेलले भनेकि छिन् ।

‘कानूनी सुरक्षा, विस्तारित सामाजिक संरक्षण, निःशुल्क, गुणस्तरीय शिक्षामा लगानी, र वयस्कहरूका लागि राम्रो कामको पहुँच सुनिश्चित गरेर बाल श्रम अन्त्य गर्न सम्भव छ,’ उनको भनाई छ ।

शिक्षा, सामाजिक संरक्षण र जीविकोपार्जनका क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगमा कमी आएको खण्डमा यसले यसअघि जोखिममा रहेका परिवारलाई झन सङ्कटतर्फ धकेल्ने प्रतिवेदनको ठहर छ ।

यसैबिच, बाल श्रमिकको तथ्याङ्क सङ्कलनमा कमी आउँदा बाल श्रमिकको अवस्थाको निगरानी गर्न र समाधान गर्न झन् गाह्रो हुने प्रतिवेदनमा भनिएको छ ।

‘बाल श्रमले बालबालिकाको शिक्षामा सम्झौता गर्छ, उनीहरूको अधिकार र भविष्यका अवसरहरूलाई सीमित गर्छ, र उनीहरूलाई शारीरिक र मानसिक हानिको जोखिममा पार्छ, प्रतिवेदनमा भनिएको छ, ‘यो गरिबी र गुणस्तरीय शिक्षाको पहुँचमा कमीको परिणाम पनि हो। यसले परिवारहरूलाई आफ्ना बालबालिकालाई काममा पठाउन बाध्य पार्छ र अन्ततः सामाजिक वञ्चितीकरणाको चक्रलाई निरन्तरता दिन्छ । ’

‘आगामी पाँच वर्षभित्र यसलाई अन्त्य गर्ने हो भने प्रगतिको वर्तमान दरलाई ११ गुणाले बढाउनुपर्ने हुन्छ’ प्रतिवेदनमा भनिएको छ ।

दुवै संयुक्त राष्ट्र संघीय निकायले यो प्रगतिलाई गति दिन सामाजिक सुरक्षा प्रणालीमा थप लगानी गर्नुपर्ने, बाल संरक्षण प्रणाली सशक्त पार्नुपर्ने, गुणस्तरीय शिक्षामा विश्वव्यापी पहुँच विस्तार गर्नुपर्ने, शोषण अन्त गर्न कानुनी तथा व्यवसायिक जबाफदेहिता लागु गर्नुपर्ने तथा वयस्क र युवाका लागि कामको अवसर सुनिश्चित गर्नुपर्ने सुझाव दिएका छन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024