काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा भक्तपुरको सूर्यविनायक नगरपालिका-३ बस्ने इलामको सूर्योदय नगरपालिका-७ घर भएका ६५ वर्षीय टंकनाथ कटुवाल, काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने तनहुँको भिमाद नगरपालिका-४ घर भएका २७ वर्षीय शेर बहादुर कुमाल र काठमाडौं टोखा नगरपालिका-५ बस्ने मकवानपुरको थाहा नगरपालिका-३ घर भएका ३१ वर्षीय अशिम नगरकोटी रहेका छन्।
पक्राउ मध्ये टंकनाथले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ, शेरबहादुरले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रुपैयाँ र अशिमले डेनमार्क पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रुपैयाँ लिई सम्पर्कबिहीन भएका थिए।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले टंकनाथलाई भक्तपुर सूर्यविनायक नगरपालिका-३ बाट, शेरबहादुरलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बाट र अशिमलाई काठमाडौं टोखा नगरपालिका-५ बाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग काठमाडौं पठाइएको छ।