विदेशमा अहिलेसम्म कोरोनाका कारण दुई सय ४३ नेपालीको मृत्यु

13 September, 2020

विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको संख्या दुई सय ४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताए ।

गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै स्वास्थ्य समितिले उल्लेख गरेको छ । योसँगै साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्रसिंह राजपुतले जानकारी दिए । यो साता कतारमा पनि थप दुई नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्यान्ड, भारत, कतार र साउदी अरबलगायतका मुलुकमा कोरोना संक्रमणदर सामान्य रूपमा वृद्धि भएको छ । समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपाली कोरोना– १९ बाट संक्रमित छन् ।

कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् । यस्तै नेपालमा शनिबारसम्म ५३ हजार एक २० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये ३७ हजार ५२४ कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ७० दशमलव ६ प्रतिशत हो । हालसम्म नेपालमा तीन सय ३६ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

कोरोना संक्रमणका कारण नेपालसहित विश्वभर जम्मा पाँच सय ७९ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ । यस्तै विश्वभर ९० हजार सात सय ६७ जनामा नेपालीमा संक्रमण देखिएको छ भने तीमध्ये ७१ हजार सात सय १७ जना कोरोनामुक्त भएका छन् । नेपालसहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७८ दशमलव सात प्रतिशत रहेको छ ।

६१ हजार सात सय १० को उद्धार

कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धारकार्य जारी छ । हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरूको संयुक्त पहलमा ३० देशमा रहेका ६१ हजार सात सय १० नेपालीको उद्धार गरिएको छ ।

साउदीमा ६० शव अलपत्र

साउदीस्थित नेपाली राजदूतावासका अनुसार साउदी अरबमा कोरोनालगायत अन्य विभिन्न कारणले निधन भएका ६० नेपालीको शव नेपाल ल्याउन बाँकी छ । साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्रसिंह राजपुतका अनुसार ती शव नेपाल पठाउने प्रक्रियामा रहेका छन् । हालसम्म विदेशमा विभिन्न कारणले निधन भएका तीन सय नेपालीको शव नेपाल ल्याइएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024