विदेशबाट ल्याइने शवमाथि बिमाको नाममा ठगी

10 April, 2023

काठमाडौँ — वैदेशिक रोजगारका क्रममा मृत्यु भई ल्याइने शवमाथि पनि ठगी हुने गरेको पाइएको छ । शव ल्याउँदा परिवारले पाउने बिमा रकम मिलाउने भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरी यस्तो ठगीमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।

‘जब विमानस्थलमा शव भित्रिन्छ, त्यसपछि गिरोहका व्यक्तिहरु परिवारसँग नजिक हुने गर्छन्, परिवारसँग नजिक भई बिमा रकम दिलाइदिने बताउँछन्’ ठगीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीले भने ‘पीडितको घरमै पनि पुगेर बिमाको सम्पूर्ण डकुमेन्ट मिलाइदिने र बिमा रकम आइसकेपछि ठगी गरेको पाइन्छ ।’

प्रहरीको अनुसन्धानमा बिमावापत पीडित परिवारले १३ लाख पाउनुपर्नेमा, गिरोहले ५ लाख मात्रै दिलाएर आफूले ७ लाख लिएको पाइएको उनले बताए ।

‘त्यसरी ठूलो बिमा रकम ठगी गर्ने समूहले लिएको पाइन्छ’ उनले भने । गिरोहमा संलग्न ६ जनालई प्रहरीले सार्वजनिक गरेको छ । यसरी पक्राउ पर्नेमा काभ्रेका रामबहादुर तामाङ, सर्लाहीका विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन्द्र मोक्तान, प्रकाशबहादुर गोले, रुद्रमान गोले छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024