विदेशबाट फर्केर उद्यम गरेकालाई राष्ट्रिय सम्मान गर्न आवेदन खुल्यो

22 January, 2026

वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गरिरहेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कारका लागि आवेदन आह्वान गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कारका लागि आवेदन दिन आह्वान गरेको हो ।

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीको योगदान कदर गर्न श्रम मन्त्रालयले सम्मान गर्दै आएको छ । स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिँदै आएको मन्त्रालयले जनाएको छ । सोही अनुसार यो वर्षका लागि आवेदन आह्वान गरिएको हो ।

‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६’ अनुसार आवेदन आह्वान गरिएको छ। त्यस्ता उद्यमीलाई माघ २२ गतेभित्र आवेदन दिन भनिएको छ ।

त्यसका लागि वर्किङ भिसामा विदेश गई कम्तीमा १ वर्ष काम गरी फर्किएको, वैदिशिक रोजगारीबाट नेपाल फर्की व्यवसाय गरेको न्यूनतम १ वर्ष पूरा गरेको, विगत ५ वर्षभित्र श्रम मन्त्रालयबाट पुरस्कार प्राप्त नगरेको लगायतका मापदण्ड तोकिएका छन् ।

विगतका वर्षहरूमा यस प्रकारको पुरस्कारका लागि आवेदन दिएको तर, पुरस्कारका लागि छनोटमा नपरेका उद्यमीहरूले समेत आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ।

उद्यमी पुरस्कारका लागि छनोट गर्दा रोजगारी सिर्जना, पूँजी लगानी, स्थानीय साधन, स्रोत र प्रविधिको प्रयोग, उत्पादन निर्यात गरेको, सामाजिक दायित्व वहन, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदूषण व्यवस्थापन र उद्यम सञ्चालन गरेको भौगोलिक क्षेत्रलाई आधार लिई मूल्याङ्कन गरिने हुँदा यी आधारहरू पुष्ट्याई हुने प्रमाणित कागजातहरू समेत पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024