विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

13 May, 2025

तीन वर्ष विदेशमा काम गरेर फर्केका बराहक्षेत्र–९ का अजित भुजेल अहिले च्याउखेतीमा रमाउँदै वार्षिक १८ लाखभन्दा बढी बचत गरिरहेका छन्। दुबईको तातो घाम र परदेशको पीडा छोडेर उनी च्याउको टनेलमा हरियाली सपना साकार गरिरहेका छन्।

दुबईमा महिनाको ३५–४० हजार कमाउँदा उनलाई खाना र घरखर्च चलाउनै मुस्किल थियो। बचत गर्न त परै जाओस्, कहिलेकाहीँ ऋण लाग्थ्यो। उनले भने, ‘गाउँ फर्किंदा हातमा धेरै पैसा थिएन, तर मनमा आँट र अनुभव थियो। विदेश होइन, आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले च्याउखेती सुरु गरेँ।’

उनले भने, ‘सुरुमा दुख र चुनौती धेरै थिए। २०७० मा दुई टनेलमा २ लाख २७ हजार लगानीबाट सुरु गरेको थिएँ। च्याउ बिक्री गर्न बजारको समस्या थियो। उत्पादन हुन्थ्यो, तर बजार, प्रविधि, सीप र रोगको समस्याले सतायो। तालिम र अनुभवले यी समस्या समाधान गरेँ। अहिले सबै ठीक छ।’

अहिले उनले १२ टनेलमा च्याउखेती गरिरहेका छन्। अफसिजनमा दैनिक ३०० केजी र सिजनमा ६०० केजीसम्म च्याउ उत्पादन हुन्छ। पुसदेखि फागुनसम्म राम्रो उत्पादन हुने सिजन हो। उनले भने, ‘यो समयमा उत्पादन धेरै हुन्छ, तर बजारमा मूल्य कम हुन्छ। प्रतिकेजी ६० देखि ८० रुपैयाँमा बिक्री गर्नुपर्छ। अहिले भने १६० देखि १७० रुपैयाँमा बिक्री गर्छु। यो खेतीबाट घरखर्च चलाएर वार्षिक १८ लाख बचत हुन्छ।’ उनको वार्षिक २२–२४ लाखको च्याउ बिक्री हुन्छ।

अहिले बजारको समस्या छैन। सुरुमा बजार अभाव थियो, तर अब व्यापारी फार्ममै आउँछन्। कतिपयले फोन गरेर च्याउ माग्छन्। उनले भने, ‘फार्ममै च्याउ लिन आउने व्यापारीलाई २०–३० रुपैयाँ कममा दिन्छौँ। आफैँ बजार पुऱ्याउँदा नाफा बढी हुन्छ। धरान, इटहरी, चक्रघटी, कालाबन्जरमा म आफैँ पुर्‍याउँछु। विराटनगर, राजविराजबाट व्यापारी लिन आउँछन्।’

उनले दुई युवालाई रोजगारी दिएका छन् भने परिवारलाई पनि यही खेतीमा काम छ। देशमा केही छैन भन्ने कुरा पुरानो भयो। काम गर्ने इच्छा भए आफ्नै देशमा मनग्य कमाउन सकिन्छ भन्ने उनको भनाइ छ।

उनले भने, ‘परदेशको कमाइ परदेशमै सकिन्छ। तर यहाँ व्यापार सिकेर गरियो भने आम्दानी राम्रो हुन्छ। च्याउखेतीमा विशेष स्याहार चाहिन्छ। व्यापार सधैँ एकनास हुँदैन, तर कम जग्गा र थोरै लगानीमा राम्रो आम्दानी हुन्छ।’

च्याउखेतीका लागि पराल, चुन, बाँस, खर, प्लास्टिक र झुल चाहिन्छ। चार–पाँच दिन मेहनत गरेपछि एक महिना ढुक्क हुन्छ। उनले कन्य जातको च्याउखेती गरिरहेका छन्। विषादी प्रयोग नहुने भएकाले यो स्वास्थ्यका लागि राम्रो मानिन्छ र बजारमा माग पनि बढ्दो छ। रासस

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024