रुद्र खड्का
काठमाडौं- वैदेशिक रोजगारीमा जाने कामदारको बिमा गर्ने बिमा कम्पनीका एजेन्टले अब त्यस्तो बिमा गरेबापत कमिसन नपाउने भएका छन्। वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य गरिएको म्यादी बिमा गर्दा एजेन्टबाट हुने शोषण रोक्न र पीडित परिवारले पाउने बिमांक रकम आकर्षक बनाउन वैदेशिक रोजगार बोर्डले म्यादी बिमा गर्ने एजेन्टलाई कमिसन नदिने व्यवस्था मिलाइदिन बिमा समितिलाई आग्रह गरेको छ।
बिमा शुल्कको २५ प्रतिशत कमिसन पाउँदै आएका एजेन्टको म्यादी बिमा गर्दा खासै भूमिका नहुने भएकाले यस्तो निर्णय गरेको बोर्डले जनाएको छ। पीडितले वैदेशिक रोजगारीमा जानुअघि एजेन्टले बिमा शुल्कभन्दा एक सयदेखि एक हजार रुपैयाँसम्म असुल गर्ने गरेको गुनासो गर्दै आएका थिए। साथै बोर्डले बिमा समितिलाई बिमा नियमावली २०४९ संशोधन गरी एजेन्टलाई कमिसन दिन नपर्ने व्यवस्था गर्नसमेत आग्रह गरेको छ।
बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेका अनुसार अब वैदेशिक रोजगारीमा जाने कामदारको बिमा रकम पनि वृद्धि गरिएको छ। कामदारले हाल तिर्दै आएको बिमा शुल्कमा ६५ प्रतिशत वृद्धि गरी बिमांक रकम दोब्बर गरिएको छ। बोर्डको आग्रहअनुसार बिमा नियमावली संशोधन भए वैदेशिक रोजगारीमा जाने कामदारले तिर्ने प्रिमियम ४५ प्रतिशतमा झर्नेछ।
श्रम स्वीकृति लिएर विदेश गएका कामदारको विदेशमा मृत्यु भए आफन्तले पाँच लाख क्षतिपूर्ति पाउने गरेकामा अब दोब्बर पाउनेछन्। काफ्लेका अनुसार मृतकका परिवारले हाल पाउने रकम निकै कम भएकाले परिवारको सामाजिक सुरक्षा र मानवीय पक्षलाई ध्यान दिएर बिमा रकम बढाउने निर्णय गरिएको हो। ‘बिमाबापतको रकम दोब्बर गरिएपछि हरेक मृतकका परिवारले शव ल्याउनेदेखि काजकिरिया गर्नेसम्म बिमा कम्पनीबाट १४ लाख रुपैयाँ बराबर क्षतिपूर्ति पाउनेछन्,’ काफ्लेले भने। उक्त निर्णय वैशाख १ गतेदेखि लागू गर्ने तयारी छ। वैदेशिक रोजगारीमा जाने हरेक कामदारलाई म्यादी बिमा अनिवार्य गरिए पनि कामदारको रोजगारदासँगको सम्झौता तथा उमेरका आधारमा बिमा शुल्क भने फरक पर्ने सक्नेछ। बोर्डले २०६४ सालपछि पहिलोपटक बिमाको रकम बढाउने निर्णय गरेको हो।
पछिल्लो समय विदेशमा ज्यान गुमाउने, अंगभंग तथा बिरामी हुनेको संख्या निरन्तर बढिरहेको छ। वैदेशिक रोजगारीमा ज्यान गुमाउनेमा अधिकांश युवा हुन्छन्। युवा अवस्थामै ज्यान गुमाउँदा आर्थिक समस्याका कारण कैयौं परिवारको बिचल्ली भएको छ भने अभिभावकको निधनपछि बालबालिकाको शिक्षा प्रभावित भइरहेको छ। बोर्डका अनुसार पछिल्लो समय वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउनेको संख्या बढेर दैनिक तीनजनासम्म पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०७१/०७२ मा पाँच लाख १२ हजार युवायुवती वैदेशिक रोजगारीमा जाँदा एक हजार दुईजनाको उतै निधन भएको थियो। वैदेशिक रोजगारीमा ज्यान गुमाउनुका मुख्य कारणमा मुटुजन्य समस्या, सडक दुर्घटना पाइएको छ।
चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ६ सय ५६ जनाले ज्यान गुमाएको बोर्डले जनाएको छ। सो अवधिमा दुई लाख ८० हजार युवायुवती श्रम स्वीकृति लिएर विदेश गएको तथ्यांक छ। चिकित्सकका अनुसार वैदेशिक रोजगारीमा जानुअघि गन्तव्य मुलुकको हावापानी र सडक सुरक्षाबारे यथेष्ट जानकारी नलिनु पनि मृत्युको प्रमुख कारणमध्ये एक बनेको छ। अत्यधिक गर्मी हुने खाडी मुलुकमा काम गर्ने कतिपयले एसीको तापक्रम मिलाउन नजानेरै ज्यान गुमाउने गरेको सरकारी अधिकारी बताउँछन्।
त्यस्तै, वैदेशिक रोजगारीमा जानुअघि कामदारले तिर्ने एक हजार रुपैयाँबापत मृतकलाई उपलब्ध गराउँदै आएको तीन लाख रुपैयाँलाई पाँच लाख र औषधि उपचारको तीन लाखसम्मको सिलिङ बढाएर पाँच लाख रुपैयाँसम्म पुर्या उने बोर्डको तयारी अन्तिम चरणमा पुगेको काफ्लेले जनाए।