रोजगारीले बढायो आत्मविश्वास

11 December, 2024

बेनी नगरपालिका–८ की ममता पौडेलले कोर स्माइल डेन्टल क्लिनिकमा काम गर्न थालेपछि आफूमा आत्मविश्वास बढेको महसुस गर्नुभएको छ । उहाँ बौद्धिक अपाङ्गता भएकी व्यक्ति हुनुहुन्छ । 

समाजशास्त्र विषयमा स्नातक चौथो वर्षमा अध्ययनरत २५ वर्षिय ममता सो डेन्टल क्लिनिकमा सहयोगीको भूमिकामा छ महिनादेखि काम गरिरहनुभएको छ । 

बौद्धिक अपाङ्गता अभिभावक सङ्घद्वारा राजधानीमा आयोजित रोजगार मेलामा सहभागी हुन आउनुभएकी ममताले २५ वर्षको उमेरमा पहिलो रोजगारी पाउनुभएको हो । त्यसबाट आफूमा आफैँले पैसा कमाउन सक्ने विश्वास बढाएको अनुभव उहाँले सुनाउनुभयो ।

बौद्धिक अपाङ्गता सङ्घ, म्याग्दीकी पूर्वअध्यक्षसमेत रहनुभएकी पौडलले भन्नुभयो, “पहिले त कसरी घरबाहिर काम गर्ने होला भन्ने थोरै डर थियो तर जन्म जातै कसैले पनि सिकेर आउँदैन, अरूलाई पनि मलाई जस्तै गाह्रो हुन्छ होला जस्तो लाग्यो र हिम्मतका साथ काम गर्न सकेँ ।”

बौद्धिक अपाङ्गता भएका पोखरा मालेपाटन–५ का शेरबहादुर खत्रीले पनि आफ्नो उमेर ३० वर्षको हुँदा जीवनकै पहिलो रोजगारी पाउनुभएको छ । मालेपाटनस्थित एएम/पिएम अर्गानिक क्याफेमा सरसफाइको काम गर्नुहुने खत्रीले काममा जान थालेपछि आफैँ कमाउन सकेकोमा निकै खुसी लागेको बताउनुभयो ।

त्यसै गरी सप्तरी राजविराज–२ का शम्भु चौरसिया पनि २६ वर्षको उमेरमा पहिलो रोजगारीका रूपमा घरछेउमै रहेको मिलन डेरी फुड एन्ड इन्डस्ट्री प्रालिमा पाउरोटी, विस्कुट प्याकिङको काम गर्नुहुन्छ । एक वर्षदेखि सो डेरी इन्डस्ट्रीमा काम गरेर कमाएको मासिक आठ हजार रुपियाँ तलब थापेर बुवालाई लगेर दिन पाउँदा आफूले काम गरेर पैसा कमाएर आत्मनिर्भर बन्न पाएकोमा खुसी लागेको बताउनुभयो ।

बौद्धिक अभिभावक महासङ्घका अध्यक्ष राजु बस्नेतले सरकारले वर्गीकरण गरेका १० प्रकारका अपाङ्गतामध्येको एक बौद्धिक अपाङ्गता भएका व्यक्ति पनि पर्ने बताउनुभयो । उहाँले बौद्धिक अपाङ्गता भएका व्यक्तिको दिमागी विकास अन्यको तुलनामा केही ढिला विकास हुने भए पनि उनीहरूको क्षमता र रुचि अनुसार सिप सिकाएर रोजगारी दिने हो भने इमानदारीपूर्वक काम गर्न सक्ने ममता, शेरबहादुर, शम्भुलगायत अरू पनि बौद्धिक अपाङ्गता भएका व्यक्तिले देखाएको बताउनुभयो । 

सङ्घका अध्यक्ष राजु बस्नेतले महासङ्घ र लेभ इन्क्लुजन डेनमार्कको सहयोगमा सञ्चालित परियोजना कोपिला अन्तर्गत बौद्धिक अपाङ्गता भएका व्यक्तिले गर्न सक्ने काम र सोही काम अनुसारको सिप प्रदान गर्दै १० जना बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई रोजगारीसँग जोड्न सफल भएको जानकारी दिनुभयो ।

बौद्धिक अपाङ्गता अभिभावक सङ्घका महासचिव रामनारायण श्रेष्ठले राज्यले अपाङ्गता भएका व्यक्तिका लागि सामाजिक सुरक्षा भत्ता नभई उनीहरूको दक्षता अनुसारको रोजगारी दिएर राज्यलाई कर नै तिर्न सक्ने नागरिक बनाउनुपर्नेमा जोड दिनुभयो । 

कोपिला परियोजना अन्तर्गत सिप सिकेर बौद्धिक अपाङ्गता भएका व्यक्ति प्रदीप अधिकारी, ममता पौडेल, शेरबहादुर खत्री, आशिषकुमार श्रेष्ठ, पूर्णिमा बानियाँ, रेजिना श्रेष्ठ, शम्भु चौरसिया, ईश्वर गिरी, सुनीलकुमार दास, आयुस्मा मानन्धरले आठ हजार रुपियाँदेखि १० हजार रुपियाँसम्म मासिक तलब पाउनुभएको छ । 

महासङ्घले आगामी पाँच वर्षसम्म बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई रोजगारीसँग जोड्ने अभियान नै सञ्चालन गरिने र यस अभियानमा राज्य र निजी क्षेत्रलाई सहयोग गर्न आग्रह गरेको छ । साथै, बौद्धिक अपाङ्गता भएका व्यक्तिले झोल साबुन, फिनेल, पोते बुन्ने, खेलौना बनाउने, उनका विभिन्न साना साना सामग्री बनाउनेलगायतका काम गरी स्वरोजगारमा समेत संलग्न छन् ।  

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024