‘यहाँ ठूलीआमाको शव कुरेर बसेका छौँ, उता उत्तराखण्ड पहिरोमा परिवारका ६ जना परेका छन्’

11 August, 2025

यज्ञ खत्री

२३ साउन, सुर्खेत । ओठ मुख सुकेको छ । गलेको शरीर र बेचैन मन लिएर सुर्खेतमा छटपटिइरहेका छन्, लोकेन्द्र सिंह (३२) । पेशाले सवारी चालक उनी बिहीबार बेलुका मात्रै जुम्लाबाट वीरेन्द्रनगर आइपुगेका हुन् ।

जाजरकोटको कुशे गाउँपालिका‐२, का लोकेन्द्रको पछिल्लो तीन दिन तनावमै बित्यो । भारतको उत्तराखण्ड जान भनेर हतार हतारमा सुर्खेत आएका उनी सुर्खेतमै रोकिनु पर्‍यो । ‘उत्तराखण्डको बाढीपहिरोमा परी परिवारका ६ जना सम्पर्कविहीन भएको खबर आएको छ,’ लोकेन्द्रले अनलाइनखबरसँग भने, ‘यता फेरि ठूली आमाको निधन भयो भन्ने सुनियो ।’

भारतको सिम्लामा पछिल्लो दुई महिनादेखि उपचार गराइरहेकी उनकी ठूली आमा बिजुला सिंह (४०) को निधन भएपछि उनको शव सुर्खेत ल्याइँदै छ । ‘गाउँमा मान्छेहरू छैनन्, सुर्खेतमै दाहसंस्कार गरेर उत्तराखण्ड जानुपर्ला,’ उनले भने, ‘रुपैडिया नाका पुग्न लागेको छ रे । त्यही शव कुरेर बसेका छौँ ।’

बिजुलाको शव सुर्खेतमा ल्याउँदै गर्दा उनका श्रीमान् टोपबहादुर, एउटा छोरा कृष्णबहादुर र बुहारी उत्तराखण्डमै छन् । बिजुलाकै उपचारका लागि कमाउन कालापहाड (भारत) गएका उनीहरू पनि सम्पर्कविहीन छन् । बिजुलाको साथमा छन्, छोरा प्रकाश र राजेन्द्र सिंह । ‘यता ठूली आमाको निधन भयो, उता ठूलाबुबा, दाइ-भाउजू सम्पर्कविहीन हुनहुन्छ,’ लोकेन्द्रले भने, ‘यति ठूलो ब्रजपात आयो ।’

दुई वर्ष अगाडि गएको भूकम्पले घर भत्काएपछि बिजुलाको परिवार टहरामा बस्दै आएको थियो । त्यही टहराको चिसो बसाइले बिरामी परेकी बिजुलाको ज्यानै लियो । लोकेन्द्रका अनुसार, भत्किएको घर बनाउन, बिजुलाको उपचार गर्न भन्दै टोप बहादुर छोरा-बुहारी सहित उत्तराखण्ड गएका थिए । अहिलेसम्म उनको अत्तोपत्तो छैन ।

२० साउनमा उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोमा परी जाजरकोट कुशे‐२ का ५ जना बेपत्ता रहेको गाउँपालिकाले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ । त्यही सूचीमा छन्, लोकेन्द्रका माइलो अंकल रामबहादुर सिंह (४०), साइँलो अंकल मानबहादुर सिंह (४५), अर्को अंकल निमबहादुर सिंह (३५), मामा कर्णबहादुर सिंह (४२), भाइ रवीन्द्र सिंह (१७) । उनीहरूसँगै बेपत्ता छन्, ज्वाइँ दीपक राना पनि । दीपकको नाम भने पालिकाको सूचिमा छैन ।

हाल बेपत्ता रहेका मानबहादुरका श्रीमती र एक छोरा पनि उत्तराखण्डमै छन् । उनीहरू अहिलेसम्म सुरक्षित रहेको आफूले जानकारी पाएको लोकेन्द्रले बताए । नेपालमा उनका एउटा छोरा र दुई छोरी छन् । उनलाई लिएर इन्डिया जान थालेको लोकेन्द्र बताउँछन् ।

उनीहरूसँगै गएका भाइ (अंकलको छोरा) सुनिल सिंह (२१) भने सम्पर्कमा आएका छन् । उनले २१ साउनमा नै लोकेन्द्रलाई फेसबुक म्यासेन्जरमा फोन गर्दै बुबासहित ६ जनालाई बाढीले लगेको बताएका थिए । ‘२१ साउन बेलुका म्यासेन्जरमा भिडियो कल गर्दै दाइ बुबा सहित ६ जनालाई बगायो । बुबाले मेरो शरीर आधासम्म लेदोले पुरिएको छ, बचाउन आइज भनेर फोन गर्नुभएको थियो,’ भाइको कुरा उद्धृत गर्दै लोकेन्द्रले भने, ‘पछि बुबाले भनेको ठाउँमा पुग्दा केही पनि थिएन । बाढीले सबै लिइसकेको थियो ।’

सुनिलले २२ साउन बेलुका एउटा भ्वाइस म्यासेज लोकेन्द्रलाई पठाएका छन् । ‘दाइ म सुरक्षित छु, बुबा सहित ६ जनालाई पहिरोले बगाइसक्यो । यहाँको आर्मीले हामीलाई घटनास्थल जान दिएको छैन । हाम्रा गाउँका धेरै जना सम्पर्कमा हुनुहुन्न । तपाईँहरू यहाँ आउनुहोस,’ उनले भ्वाइस म्यासेजमा भनेका छन् ।

२० साउनमा उत्तराखण्डमा ठूलो पानी परेको थियो । घर बनाउने, गिट्टी बोक्ने, गाडीको समान ओसार्ने जस्ता काम गर्दै आएका उनीहरू पानीकै कारण त्यो दिन काममा गएका थिएनन् । कोठामा बसेका उनीहरू तास खेल्दै, खानपान सहित रमाइलो गरिरहेका थिए । त्यति नै बेला सुनिल भने डेरा (कोठा) भन्दा तल रहेको बजार झरेका थिए ।

सामान लिन बजार आएका उनीहरू भागेर ज्यान बचाउन सफल भएको सुनिलले दाइ लोकेन्द्रलाई भिडियो कलमा बताएका थिए । लोकेन्द्रका अनुसार, पछि उनीहरू बसेको थातथलो नै बाढीले बगाइसकेको थियो । ‘हिजो भ्वाइस म्यासेज पठाएको थियो । त्यसपछि सुनिल भाइ पनि सम्पर्कमा छैन,’ लोकेन्द्रले भने ।

गत असारमा खेतीपाती लगाएर कालपहाड गएका उनीहरूको दशैं तिहार मनाउन घर फर्किने योजना थियो । कुशेका मात्र होइन जाजरकोट, रुकुम पश्चिमका अधिकांश स्थानीय तहका बासिन्दाहरू असारको खेतीपाती सकेपछि भारतका विभिन्न ठाउँमा मजदुरीका लागि जाने गरेका छन् ।

कुशेका सबै जसो गाउँ रित्तिएको लोकेन्द्र बताउँछन् । यो भन्दा अगाडि लोकन्द्र पनि भारतको उत्तराखण्डमै थिए । अहिले बाढीले बगाएको ठाउँमै मजदुरी गर्ने गरेको उनी बताउँछन् । ‘आज कुशेका अधिकांश गाउँहरू रित्ता छन् । गाउँमा मलामी जाने मान्छे भेटिँदैनन्,’ उनले भने, ‘गाउँमा रोजगारी छैन, काला पहाड नगएर कहाँ जानु । अहिले गाडी चालकको काम पाएर म यहाँ बसेको हुँ । नत्र म पनि काला पहाड हुन्थे यति बेला ।’

कर्णालीका १५ मजदुर सम्पर्कविहीन

उत्तरकाशीको बाढीपहिरोमा परी जाजरकोट, रुकुम पश्चिम र जुम्लाका गरी १५ जना मजदुर सम्पर्कविहीन भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रारम्भिक सूची तयार पारेको छ । सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्य जारी रहेको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी माधवप्रसाद श्रेष्ठले बताए ।

प्रदेश प्रहरी कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार घाइते हुनेहरूमा जाजरकोटको कुशे गाउँपालिका–२ ढाडगाउँका कर्णबहादुर सिंह (४२), सोही ठाउँका मानबहादुर सिंह (४३), रामबहादुर सिंह (४०), रबिन सिंह (१७), निमबहादुर सिंह (३५) र जुम्ला तिला गाउँपालिका ३ का जनक शाही (४५) रहेका छन् ।

त्यस्तै, जाजरकोट कुशे २, ससुराली घर भई रोल्पाका दिपक राना (२२), जाजरकोट जुनीचाँदे २, मजकोटका गगनबहादुर शाही (२८), सोही ठाउँका रामबहादुर शाही (५०), गोरखबहादुर शाही (३१), हरिबहादुर खड्का (३५), रेशम खड्का (३०), पार्वती खड्का (२८), केशव खड्का (३४) र निर्मला खड्का (३०) रहेका छन् ।

जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले एक विज्ञप्ति जारी गरेर गाउँपालिकाका १३ जनाभन्दा बढी बेपत्ता भएको जनाएका छन् । ‘उक्त बाढी तथा पहिरोमा कुशे गाउँपालिका-२ का करिब १३ जनाभन्दा बढी र अन्य वडाका केही व्यक्तिहरू पनि सम्पर्कमा नरहेकाले हराएको हुनसक्ने जानकारी सामाजिक सञ्जालमार्फत प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

हराएकाहरूको खोजी तथा उद्धार कार्यलाई द्रुत र प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरिदिन प्रदेश र संघीय सरकारको ध्यानाकर्षण समेत गराइएको अध्यक्ष बस्नेतले बताए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024