करिब तीन वर्षदेखि म्यानमारमा गैरकानुनी अनलाइन स्क्यामिङको काममा लगाइएका नेपालीमध्ये ४६ जनाको समूह उद्धारको पर्खाइमा छ । म्यानमारको विद्रोही समूह नियन्त्रित म्याओडीबाट बाहिर निस्केका नेपालीलाई म्यानमार सरकारले थाइल्यान्ड जान अनुमति दिएपछि दूतावासले समन्वय गरेर २४ मंसिरमा स्वदेश पठाउँदै छ ।
म्यानमारको म्याओडी तथा म्यानमार, लाओस र कम्बोडियाको सीमा जोडिएको जंगल गोल्डन ट्र्यांगल क्षेत्रमा खुलेका गैरकानुनी अनलाइन स्क्यामिङमा कम्तीमा चार सय नेपाली रहेको अनुमान छ । म्यानमार पुगेका नेपालीमध्ये ३७ जनाको समूह गत ३ मंसिरमै स्वदेश आएको थियो । ‘थाइल्यान्डस्थित नेपाली दूतावासले ४६ जना नेपालीको समूहलाई स्वदेश फर्काउन थाई अधिकारीहरू र नेपाल एयरलाइन्ससँग समन्वय गरिरहेको जानकारी छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘अरू नेपाली रहेको यकिन गर्न र उद्धारका लागि समन्वय गर्न थाइल्यान्ड र म्यानमारस्थित दूतावासलाई भनिएको छ ।’
थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपालीको उद्धार निरन्तर भइरहेको बताए । ‘एउटा समूह पठायौँ, फेरि अर्को समूह पठाउँदै छौँ । नेपालबाटै नरोकेसम्म यो समस्या आइरहने स्थिति देखिन्छ,’ ओलीले टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘उद्धार भएर गएकालाई प्रहरीले सोधखोज गर्ने र आवश्यकअनुसार कानुनी कारबाही भएमा गैरकानुनी रूपमा जाने प्रलोभनमा परेका युवाहरू रोकिन्छन् ।’ उद्धारले मात्रै समस्या समाधान नहुने बरु उनीहरूलाई त्यहीँ रोक्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘रोक्न सकेनौँ भने भविष्यमा हाम्रो इगभर्नेन्स सिस्टममाथि जोखिम आउन सक्छ ।’
नेपालबाट कतिपयले व्यक्तित श्रम स्वीकृति लिएर म्यानमार पुगेको, तर दूतावासलाई श्रम मन्त्रालयले नसोधेको एक परराष्ट्र अधिकारीले बताए । ‘कानुनी रूपमा अस्तित्वमा नआएको वा गैरकानुनी कम्पनीमा जाने नेपालीलाई श्रम स्वीकृति दिने कुरामा गम्भीर हुनुपर्छ,’ उनले भने । भारत र दुबई हुँदै बैंकक पुग्ने र त्यहाँबाट पानीजहाजबाट उक्त क्षेत्रमा नेपालीलाई गिरोहले लैजाने गरेको छ ।
म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरेका अनुसार म्यानमार सरकारले म्याओडी क्षेत्रमा गैरकानुनी अनलाइन स्क्यामिङ ६ सय घरमा सञ्चालित रहेको र डेढ सय घर भत्काइएको जानकारी दिएको छ । म्यानमार सरकारले सबै घर भत्काउने जानकारी दिएको छ । ‘त्यस क्रममा केही सयको संख्यामा रहेका नेपालीलाई उद्धार गर्नुपर्ने हुन सक्छ,’ घिमिरेले टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘तर, सरकारको पहुँचमा त्यो क्षेत्र नभएको र कानुनी रूपमा नपुगेको हुनाले नेपाली के कति छन् भन्ने अनुमान नै गर्न सकिएको छैन ।’
बैंककबाट हजार किलोमिटरभन्दा टाढा म्यानमारको सीमाक्षेत्रबाट नेपालीलाई उद्धार गर्नुपर्ने अवस्था छ । ०७९ मंसिरयता करिब ३५० नेपालीको उद्धार भइसकेको छ । ‘त्यहाँ अझै चार सय नेपाली रहेको अनुमान छ,’ परराष्ट्रका एक अधिकारीले भने । कतिपय व्यक्ति दोहोरिएर गएका छन्, एउटै मानिसलाई पटक–पटक उद्धार गर्नुपरेको अवस्था छ । वैदेशिक रोजगार विभागका अनुसार म्यानपावरमार्फत १०४ देशमा नेपालीहरू श्रमका लागि जान पाउँछन् भने व्यक्तिगत श्रम स्वीकृति लिएर १८४ देशमा जान पाउँछन् ।
म्यानमारको विद्रोही नियन्त्रित र थाइल्यान्डसँग सीमावर्ती क्षेत्रमा सञ्चालित गैरकानुनी अनलाइन स्क्यामिङ धन्दामा ३७ देशका मानिसले काम गरिरहेका छन् । ‘चिनियाँ र भारतीय नागरिकको संख्या ठुलो छ । क्रिप्टोकरेन्सी, अनलाइन गेम, जुआ, अनलाइन डेटिङ, अनलाइन चिट्ठा खेलाउने गरिएको छ । चिनियाँ नागरिक त्यसको सञ्चालक छन्,’ नेपाली दूतावास बैंककका एक अधिकारीले भने, ‘त्यहाँ गएका नेपालीमध्ये अधिकांश सूचना प्रविधिमा पोख्त र अंग्रेजी भाषामा दख्खल भएकाहरू भेटेका छौँ । अनलाइनबाट हुने सबै अपराध त्यहाँ हुने गरेको छ ।’ त्यहाँबाट फर्केर आएका नेपालीले बैंककस्थित नेपाली दूतावासका अधिकारीलाई बताएअनुसार सरकारी पँहुच नभएको अनलाइन धन्दा हुने ठाउँ ‘स्वर्गको टुक्राजस्तो’ बनाइएको छ ।
यस वर्ष आसियानको सम्मेलनमा पनि त्यस क्षेत्रको अनलाइन स्क्यामिङबारे छलफल भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानमार, लाओस र कम्बोडियाबारे चासो राखेका छन् । थाइल्यान्डले यही विषयमा छलफल गर्न १७ र १८ डिसेम्बरमा बैंककमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको नेपाली राजदूत ओलीले बताए । म्यानमार, कम्बोडिया र लाओस जोडिएको गोल्डेन ट्र्यांगलमा खुलेका गैरकानुनी अनलाइन धन्दाको कारोबार करिब ६० अर्ब डलरबराबरको रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
फर्केकामाथि अनुसन्धान गर्दैन प्रहरी
फर्केका कसैले पनि दिएनन् उजुरी
नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले म्यानमारबाट बैंकक हुँदै नेपाल फर्केका नेपालीलाई एयरपोर्टबाटै कार्यालय लैजाने र सोधखोज गरेर घर पठाउने गरेको छ । ‘पीडित हो भने उसले किटानी जाहेरी दिनुपर्यो, होइन भने मानव तस्करीको मुद्दा चलाउनुपर्यो,’ परराष्ट्रका एक अधिकारीले भने, ‘त्यहाँ गएकाहरू कि त पीडित हुन्, नभए पीडक हुन् ।
तेस्रो विकल्प हुँदैन । मुद्दा नचलाएसम्म नेपालबाट जाने क्रम रोकिने सम्भावना छैन ।’ मानव बेचबिखन ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले भने म्यानमारबाट फर्केकाले कसैको विरुद्ध उजुरी नदिएको बताए । ‘उनीहरूलाई अध्यागमनबाट लगेर सोधपुछ गर्छौँ र फारम भर्न लगाउँछौँ । तर, अहिलेसम्म कसैले पनि उजुरी दिएका छैनन् ।
उजुरी नभएपछि प्रहरीले यसमा थप अनुसन्धान गर्दैन,’ उनले भने । कतिपयले नेपाल ठगीको अखडा हुन सक्ने जोखिम रहेको औँल्याएका छन् । अनलाइन धन्दामा पोख्त भएर नेपाल फर्केकालाई प्रहरीले ट्र्याक गरेको छैन । उनीहरूबाटै अनलाइन ठगीधन्दा सुरु हुन सक्नेतर्फ सतर्क हुनुपर्ने अधिकारीहरूको भनाइ छ । ‘हामी उनीहरूको सम्पर्क नम्बर राख्छौँ । शंकास्पद गतिविधि भएको जानकारी आएमा छानबिन गर्छौँ । तर, यस्तो जानकारी आएको छैन,’ एसपी खड्काले भने ।
थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओली भन्छन्– एउटा समूह पठायौँ, फेरि अर्को समूह पठाउँदै छौँ । नेपालबाटै नरोकेसम्म यो समस्या आइरहने स्थिति देखिन्छ । उद्धार भएर गएकालाई प्रहरीले सोधखोज गर्ने र आवश्यकताअनुसार कानुनी कारबाही भएमा गैरकानुनी रूपमा जाने प्रलोभनमा परेका युवाहरू रोकिन्छन् । रोक्न सकेनौँ भने भविष्यमा हाम्रो इगभर्नेन्स सिस्टममाथि जोखिम आउन सक्छ ।