मलेसियास्थित नेपाली दूतावासले भन्यो : कलिङ भिसामा स्क्याम र प्रलोभनप्रति सचेत रहनुहोला

22 July, 2025

५ साउन, काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीका लागि कलिङ भिसा निकालिएको भन्‍ने सूचना भ्रामक रहेको मलेसियास्थित नेपाली दूतावासले प्रस्ट पारेको छ ।

दूतावासले सोमबार सूचना जारी गर्दै नेपाली राजदूतावासबाट मागपत्र प्रमाणीकरण नभइकन अवैधानिक मार्गबाट नेपाली श्रमिकहरुलाई मलेसियामा पठाउनका लागि मलेसियामा रहेका कुनै पनि कम्पनीहरुको प्रलोभनमा नपर्न नेपालका मेनपावर व्यवसायीहरुलाई सचेत गराएको छ ।

साथै वैदेशिक रोजगारीमा मलेसियमा आउन चाहने नेपाली श्रमिकहरुलाई समेत आधिकारिक रुपमा राजदूतावासबाट कम्पनीको मांगपत्र प्रमाणिकरण भए नभएको तथा म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारीमा पठाउनु पूर्व पूरा गर्नुपर्ने सम्पूर्ण भर्ना प्रक्रिया पूरा गरे नगरेको विषयमा जानकारी राख्नुहुन र कोही कसैको प्रलोभनमा नपर्न समेत आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ पछिल्लो समय विभिन्न सञ्चार माध्यममा मलेसियामा रहेका केही सेक्यूरिटी कम्पनीबाट नेपालका केही म्यानपावर व्यवसायीहरुमार्फत अवैधानिक रुपमा नेपाली कामदार ल्याउनका लागि माथि उल्लेखित प्रक्रिया पूरा नगरी कलिङ्ग भिसा निकालिसकेको भन्ने समाचार प्रति नेपाली राजदूतावास मलेसियाको ध्यानाकर्षण भएको छ।’

पछिल्लो समय विभिन्न सञ्‍चार माध्यममा मलेसियामा रहेका केही सेक्युरिटी कम्पनीबाट नेपालका केही म्यानपावर व्यवसायीहरू मार्फत अवैध रुपमा नेपाली कामदार ल्याउने प्रक्रिया सुरू भएको समाचारप्रति दूतावासले ध्यानाकर्षण गरेको छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित तथा मर्यादित बनाउनका लागि गन्तव्य मुलुकको नेपाली कूटनितिक नियोगबाट सम्बन्धित देशको कुनै कम्पनीमा नेपाली कामदार ल्याउन मागपत्र प्रमाणीकरण गर्नुपर्ने र वैदेशिक रोजगार ऐन तथा नियमावली बमोजिम नेपाली कूटनीतिक नियोगबाट प्रमाणित मागपत्र र सम्वन्धित देशको कम्पनीले प्रदान गरेको अख्तियारीका आधारमा वैदेशिक रोजगार विभागवाट पूर्व स्वीकृति लिनुपर्ने हुन्छ ।

त्यसपश्चात मात्र कामदारको भिसा प्रक्रिया शुरु हुन्छ। छनौट भएका कामदारको मेडिकल चेकजाँच, विमा, कल्याणकारी कोष तथा सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरीसकेपछि श्रम स्वीकृति जारी हुन्छ र यी सबै प्रक्रिया पूरा गरिसकेपश्चात मात्र वैदेशिक रोजगारीमा जान पाइन्छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024