मलेसियाले १० हजार नेपाली सुरक्षा गार्ड लिने

29 January, 2012

विज्ञान अधिकारी

सुरक्षा गार्डमा नेपालीमाथिको प्रतिबन्ध फुकुवा गर्दै मलेसियाले १० हजारजना लिने घोषणा गरेको छ। दुई वर्षदेखि यो क्षेत्रमा मलेसियाले नेपालीलाई लिएको थिएन। तत्कालका लागि मलेसियाले त्यहीं अवैध रुपमा कार्यरत सुरक्षा गार्डलाई वैधता दिने छ।

मलेसियाका लागि नेपाली राजदूत ऋषिराज अधिकारीले १० हजार नेपालीलाई सुरक्षा गार्डमा लिन लागेको सञ्चार माध्यमहरुलाई बताएका छन्। मलेसियाका गृहमन्त्री डाटुक सेरी हिसामुद्धिन हुसेनसँग केही दिनअघि छलफल भएको र नेपालीलाई प्राथमिकता दिएको अधिकारीले जानकारी दिएका छन्।

 

मलेसियाले दुई वर्षअघि स्थानीय संस्थाको दबाबमा सुरक्षा गार्डका रूपमा नागरिक सुरक्षा स्वयंसेवक दस्ता (रेला) र नागरिक सुरक्षा दस्तामा कार्यरत स्थानीय अधिकारीलाई मात्र रोजगार दिने नीति लिएको थियो। त्यही नीतिअनुसार सुरक्षा गार्डमा नेपाली जान रोकिएका थिए।

 

मलेसियामा सुरक्षा गार्डको धेरै ठूला माग छ,’ अधिकारीले मलेसियाको अनलाइन द स्टारसँग भनेका छन्, ‘धेरै कम्पनीले दूतावासमै आएर सोधेखोज गरिरहेका छन्।’ उनले यहीं अवैध रुपमा काम गरिरहेका १० हजारलाई सुरक्षा गार्डलाई लिने घोषणा गरिसकेेको बताए। अवैध कामदारलाई लक्ष्य गरी मलेसिया सरकारले ल्याएको कार्यक्रममा ३३ हजार नेपाली दर्ता भई बैध बनेका थिए। अधिकारीले कार्यक्रममा ३३ हजार सहभागी भएको जानकारी दिदै ९ हजारलाई फिर्ता पठाइसकेको बताए ।

 

मलेसियाले खासगरी नेपाली सेना र प्रहरीका निवृत्तलाई सुरक्षा क्षेत्रमा लिइरहेको थियो। विगतमा सुरक्षा गार्डमा गएका कामदार सेना र प्रहरीभन्दा बाहिरका व्यक्ति गएर समस्या परेको थियो। त्यहाँ सुरक्षा गार्डको काम गर्नेले सैन्य तालिम अनिवार्य लिएको वा यससम्बन्धी जानकारी लिएको हुनुपर्ने कानुनी व्यवस्था छ। सैन्य तालिम लिएकाले मासिक १ हजार ५ सय रिंगिट पाउँछन्। तालिम नलिएकाले मासिक ९ सय रिंगिटमात्र पाउँछन्। नेपालबाट सुरक्षा गार्डको रुपमा गएकाहरु सेना र प्रहरीका नभएकाले समस्या पर्दै आएको छ।

 

मलेसियाले तीन वर्षदेखि नेपालीलाई मात्र सुरक्षा गार्ड लिँदै आएको थियो। नेपाल वैदेशिक रोजगार संघका अनुसार ७० हजार नेपाली सुरक्षा गार्डको काम गर्छन्। सेक्युरिटी गार्ड एसोसिएसन अफ मलेसिया (एसएसएएम) लेे त्यहाँ १५ हजार नेपाली सुरक्षा गार्ड गैरकानुनी रूपमा काम गरिरहेको दाबी गरेको थियो। तीन वर्षअघि मलेसियाले बंगलादेश, श्रीलंका र पाकिस्तानबाट सुरक्षा गार्ड लिने गरेको थियो।

 

पाकिस्तानी सुरक्षा गार्डले एक स्थानीय महिलाको बलात्कार गरेपछि उनीहरूले अन्य मुलुकबाट सुरक्षा गार्ड लिन रोक लगाएका थिए। त्यसपछि दुई वर्ष नेपालीले पनि त्यो अवसर पाउँदै आएका थिए। त्यसपछि मलेसियाले फेरि स्वदेशीलाई रोजगारी दिने भन्दै नेपालीलाई रोकेको थियो। नागरिक सुरक्षा दस्ता मलेसियाको पूर्वसेना र प्रहरीको संगठन हो भने रेला अर्धसैन्य बल हो। यसले त्यहाँ गुप्तचरको काम गर्दै आएको थियो। रेलाले अवैध रूपमा कार्यरत विदेशी कामदारलाई समातेर सरकारबाट निश्चित रकम लिने गर्थ्यो। 

 

नेपालमा रहेका वैदेशिक रोजगारदाताका अनुसार सिंगापुरबाट मलेसिया गएका नेपालीहरू अवैध रूपमा बसी काम गर्ने प्रवृत्ति छ। व्यवसायीका अनुसार सिंगापुरबाट १५ दिनको भिसा लगाएर मलेसिया पुगेकाहरू त्यहीं लुकेर काम गर्ने प्रवृत्ति छ। त्यहाँको एसोसिएसनका अनुसार मलेसियामा ४ हजार ९ सय नेपाली सुरक्षागार्ड कानुनसम्मत काम गरिरहेका छन्।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024