मध्यपूर्वमा रहेका नेपालीको उद्धार गर्न राष्ट्रिय स्तरमै योजना बनाउनुपर्छ : परराष्ट्रमन्त्री 

12 March, 2026

परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्वमा रहेका लाखौं नेपाली नागरिकको उद्धारका लागि राष्ट्रिय स्तरमै योजना हुनुपर्ने बताएका छन् ।

मध्यपूर्वमा जारी इजरायल–अमेरिका र इरानबीचको युद्धलाई मध्यनजर गर्दै उनले यस्तो बताएका हुन् ।

‘नेपाल सरकारले १९–२० लाख औपचारिक रूपले, त्योभन्दा बढी अनौपचारिक रूपले २५–३० लाख नागरिक नेपाल फर्काउनु पर्ने हुन्छ । यसका लागि नेशनल स्तरमै प्लानिङ भएको हुनपर्छ,’ परराष्ट्रमन्त्री शर्माले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने ।

उनले परराष्ट्र मन्त्रालयले पूर्वाधार निर्माणका लागि कामको थालनी गरिसकेको पनि बताए ।

‘यसको लागि पूर्वाधार निर्माण गर्नका निमित्त यस कामको थालनी मन्त्रालयको अगुवाईमा भएको छ,’ मन्त्री शर्माले भने, ‘हामीले एउटा सिचुयसन सेन्टरको स्थापना गरेका छौं ।’

सिचुयसन सेन्टरले नियमित रूपमा अपडेट गरिरहेको र सबै ठाउँमा सम्पर्क स्थापित गरेको मन्त्री शर्माले बताए ।

‘जसले यो कुराको नियमित रूपमा यो काराहरूको अपडेट गर्छ र भोलि उद्धार गर्नुपर्‍यो भने यसले बेसको रूपमा काम गरिदिन्छ,’ उनले भने, ‘यसले सबै ठाउँमा सम्पर्क स्थापित गरेको छ । कति नागरिक छन्, कतातिर छन्, कसरी समन्वय गर्ने भन्ने कुरा मन्त्रालयले निर्देशन दिइसकेको छ ।’

परराष्ट्रमन्त्री शर्माले सिचुयसन सेन्टरमार्फत् भइरहेको काम विकसित हुँदै गए परेको बेला नेपाली नागरिकको उद्धार कार्यमा सहज हुने पनि बताए ।

‘कमसेकम एउटा सञ्जाल सुरु भएको छ । यसलाई निरन्तरता दिने हामीहरूको आशय छ,’ मन्त्री शर्माले भने, ‘यसले निरन्तरता पायो भने यो विकसित पनि हुँदै जान्छ । परेको बेला उद्धार कार्यलाई सजिलो पनि होला ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024