भूकम्पपीडितलाई पठाउन कम्पनी तयार

11 May, 2015

खाडीस्थित नेपाली दूतावासहरूले आफन्तजन गुमाएका र घर भत्केका कामदार नेपाल पठाउन स्थानीय कम्पनीबाट सहयोग भइरहेको जनाएका छन्। खाडीका युएई, कतार, साउदी, ओमन, बहराइन र कुवेतमा कार्यरत नेपाली स्वदेश गएर परिवारलाई साथ दिन फर्कने बढिरहेका छन्। साउदी अरबको राजधानी रियादस्थित नेपाली दूतावासले झन्डै चार सय जनालाई कम्पनीसँग समन्वय गरेर घर पठाइदिएको छ।  ‘धेरैजसो कम्पनी आफैंले भूकम्पबाट पीडित भएकालाई पठाइदिएका छन्,’ साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले कान्तिपुरलाई भने, ‘कम्पनीले नपठाइदिएका झन्डै चार सय जना दूतावासमा सम्पर्क गर्न आइपुगेका थिए। उनीहरूलाई दूतावासको अनुरोधमा पटाइसकेका छौं।’  उनका अनुसार, अझै एक सय कामदारले दूतावासमा घर पठाइदिन अनुरोध गर्दै निवेदन दिएका छन्। ‘हामीले यहाँको परराष्ट्र मन्त्रालय र चेम्बर अफ कमर्सलाई यस बेला सहयोग गर्न अनुरोध गरेका छौं। जुन कम्पनीले सहयोग गरेको छैनन्, तिनका बारेमा यहाँका सरकारी निकायलाई जानकारी दिने गरेका छौं’, उनले भने। धेरैजसो कम्पनीले महाभूकम्पबाट प्रभावित जिल्लामा घर नभएकाहरूको बारेमा भने सोधखोज गर्न थालेका छन्। ‘जसको परिवार काटमाडौंमा छन्। उनीहरूका घर भूकम्प प्रभावित जिल्ला नहुँदा कम्पनीले सोधखोज गर्न थालेका छन्,’ कतारका श्रम सहचारी लिलानाथ दाहालले कान्तिपुरलाई भने, ‘त्यस्ता कम्पनीले दूतावासको सिफारिस लिने गरेको छ। हामीले कम्पनी र कामदारबीच समन्वय गरिरहेका छौं।’  दाहालले घर फर्कन जान चाहनेहरू समूह–समूहमा आइरहेको बताए। ‘आफन्तजन बितेकाहरू पहिल्यै नै फर्किसकेका छन्। केहीमात्रै बाँकी होलान्,’ उनले भने, ‘पछिल्लो समयमा घर भत्केकाहरू जान खोज्नेहरूको सख्या बढिरहेको छ।’  उनले कतारका कम्पनीहरूले घर जान चाहने कामदारलाई पठाएर सहयोग गरेको बताए। कतारमा एउटै कम्पनीले पीडित भएमा सयभन्दा बढी कामदार पनि फर्केका छन्। दूतावासहरूका अनुसार, कम्पनीको ‘स्टाट्स’ अनुसार कामदारमाथि व्यवहार भइरहेको जनाएको छ। ‘कसैले आफैंले राहत रकम दिएका छन्। टिकट दिएर पठाएका पनि छन्,’ राजदूत पाण्डेले भने, ‘कसैले कामदारको आफ्नै टिकट र तलब बाँकी राखेर पठाइदिएको सूचना आएको छ।’  कुवेतमा घरेलु कामदार (हाउसमेड) का रूपमा कार्यरत महिलालाई पनि घरमालिकले पठाइदिएको छ। ‘घर जान नपाउनेहरू हामीलाई फोन गर्छन्। हामीले उनीहरूमा मालिकसँग कुराकानी गरिदिएर घर पठाउने काम गरिरहेको छ,’ कुबेतका श्रम सहचारी गोमादेवी पौडेलले भनिन्।  ओमनका लागि श्रम सहचारी भबनाथ खतिवडाले ओमनका कम्पनीले कामदारलाई सहयोग गरिरहेको बताए। ‘यस्तो कठिन परिस्थितिमा ओमनका कम्पनीले नेपालीलाई पठाउने काममा सहयोग गरिरहेका छन्,’ उनले भने, ‘कम्पनीबाट पठाएन भनेर कामदारहरू २/४ जना मात्रै आएका थिए।’ 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026