भारतीय सीमामा अलपत्र नेपालीलाई नराेक्न सरकारको निर्देशन

23 March, 2020

सरकारले सीमामा अलपत्र परेका नेपालीलाई स्वदेश प्रवेशमा नरोक्न निर्देशन दिएको छ।

भारतमा बस्न असहज भएर स्वदेश फर्किएका जनतालाई रोक्न उचित नहुने भन्दै सरकारले यस्तो निर्देशन दिएको हो।

‘सीमामा पर्याप्त परीक्षण गरेर नेपाल पठाउन र उनीहरुको निगरानी समेत राख्न भनिएको छ’ उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले भने, ‘नेपाल फर्किएकालाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न लगाउने र निगरानी समेत गर्न भनिएको छ।’

सरकारले सीमामा आवतजावत रोके पनि स्वदेश फर्किन लागेका आफ्ना जनतालाई रोक्न नमिल्ने पोखरेलले बताए। तर फर्किएपछि सरकारले उनीहरुको निगरानी भने गरिरहने पोखरेलको भनाइ छ।

यसैबीच सरकारले आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामाग्री मगाउने कामलाई तिब्रता दिएको छ। यो सातासम्म सरकारलाई चाहिने सामाग्रीहरु नेपाल ल्याइने उपप्रधानमन्त्री पोखरेलले बताए।

‘हामीलाई चाहिने स्वास्थ्य उपकरण तथा सामाग्रीहरु यो सातासम्म जसरी पनि ल्याउने तयारी भएको छ’ उनले भने, ‘कुनै कारणले ढिला हुने भयो भने जहाज चार्टर गरेर पनि ल्याउन सरकार प्रतिबद्ध छ।’

सरकारले चैत ९ गते चीनबाट १९ र भारतबाट १६ प्रकारका स्वास्थ्य सामाग्री तथा उपकरण ल्याउने निर्णय गरेको छ।

त्यस्तै उपप्रधानमन्त्री पोखरेल संयोजक रहेको कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनेको उच्चस्तरीय राजनीतिक समन्वय समितिले विभिन्न देशबाट स्वास्थ्य सामाग्री तथा उपकरण खरिद गर्ने निर्णय गरेको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024