फर्केका श्रमिकलाई पुनःस्थापना गर्ने कोरियाको अभ्यास गन्तव्य देशले सिक्नुपर्छ : श्रममन्त्री भण्डारी

27 June, 2025

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले दक्षिण कोरियामा आफ्नो करारपत्र समाप्त भएर फर्किएका श्रमिकलाई स्वदेशमै पुनःएकीकरण गर्ने अभ्यास अन्य गन्तव्य देशका लागि नमुना भएको बताएका छन् ।

‘कोरियाले आफ्नो देशमा श्रम गर्ने श्रमिकलाई स्वदेशमै पुनःस्थापना वा पुनःएकीकरण गर्न उद्यमशीलताका लागि आर्थिक सहयोग गरिरहेको छ । यो अन्य गन्तव्य देशका लागि नमुना हो,’ बिहीबार केही मिडियामा एप जारी गर्दै उनले भने, ‘यसले कोरियामा सिकिएको सीप, प्रविधि र अनुभव नेपालमा प्रयोग भइरहेको छ ।’

उनले कोरियाको विकासमा नेपाली श्रमिकको योगदान रहेको बताए । ‘कोरियालगायत विभिन्न मुलुकमा गएर नेपालीले काम गरिरहेका छन् । ती राष्ट्रको आर्थिक विकासमा नेपालीहरूले महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्,’ उनले भने, ‘ती देशले नेपालीको योगदानलाई कदर गर्नुपर्छ।’

श्रममन्त्री भण्डारीले नेपाली श्रमिकले आफ्नो रगत, पसिना बगाएर काम गरिरहेको बताए। ‘त्यो कामका कारण उनीहरूको मुलुकमा आर्थिक उन्नति, समृद्धि र विकास भइरहेको छ । त्यस विकासका साझेदार हामी पनि हौं,’ उनले भने, ‘त्यसैले हाम्रा श्रमिकहरू सम्मानका पात्र हुनुपर्छ। सुरक्षित आप्रवासनको व्यवस्था हुनुपर्छ । उनीहरूले त्यही मुलुकका नागरिकसरह सेवा, सुविधा र पारिश्रमिक पाउनुपर्छ ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024