‘पहिले कोरियामा काम गरेर घर बनायौं, अब व्यवसाय गर्ने सोच छ’

8 May, 2025

निर्मला घिमिरे

परदेश जान पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा विवेक न्यौपानेको मुटुको चाल तेज हुँदै थियो। अर्काको देश कस्तो हुने हो, मान्छेहरू, कस्ता हुँदा हुन्, काम कस्तो हुँदो हो। यस्ता अनेक कल्पनाले मन पिरोलिएको थियो।

विमानस्थलमा परदेश जाने युवाहरूको लर्को निकै लामो थियो। त्यही लर्कोमा कोरिया जान हिँडेका अरू युवाहरू पनि रहेछन्। तीमध्ये दुई जना त उनले काम गर्ने भनेकै कम्पनीमा जान लागेका रहेछन्।

आपसमा चिनजान भयो। भयको भारीले थिचिएको विवेकको मन अलिक हलुकाजस्तो भयो।

कुरा हो सन् २०१३ को।

रूपन्देहीको तिलोत्तमा नगरपालिकाका विवेक रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत पानीजहाज बनाउने (शिप बिल्डिङ) कम्पनीमा कामका लागि जाँदै थिए। विमानस्थलमा भेटिएका पदम पाण्डे र कपिलदेव अधिकारी पनि त्यही कम्पनीमा जान लागेका थिए।

‘संयोगले विमानस्थलमा भेटियौं। कम्पनीमा पुगेपछि हामी तीन जनाको काम र बस्ने कोठा पनि एउटै मिल्यो। तीनै जनालाई निकै सजिलो भयो,’ उनले भने।

पानीजहाजका पाटपुर्जा बनाउने कम्पनी रहेछ। वेल्डिङ गरिसकेपछिका पाटपुर्जा नमिलेको भाग मिलाउने (ग्राइन्डिङ) उनीहरूको काम थियो।

विवेकले शिप बिल्डिङको काम निकै जोखिमपूर्ण हुन्छ भन्ने सुनेका थिए। कहिल्यै नगरेको काम गर्नुपर्ने थियो। गर्नै नसकिने हो कि भन्ने डर थियो।

‘खासगरी पानीजहाजका कोठाहरूमा ग्राइन्डिङ गर्ने काम थियो। कोरियामा काम असाध्यै गाह्रो हुन्छ भन्ने हाउगुजी थियो। म निकै डराएको थिएँ तर हाम्रो काम सजिलै पर्‍यो,’ उनले भने, ‘कतिपयलाई त गाह्रो पनि पर्दो रहेछ। भाग्य पनि होला, हामीलाई धेरै गाह्रो भएन।’

त्यो कम्पनीमा अरू धेरै नेपाली कामदार थिए। पुरानाले नयाँलाई काम सिकाउँथे। कोरियनहरूले पनि सिकाउँथे। सबैको मद्दत पाएको हुनाले विवेक र उनका साथीहरूलाई सजिलो भयो।

त्रिभुवन विमानस्थलमै भेटिएका साथीहरू एकै कोठामा बस्न पाउँदा उनीहरूलाई थप सजिलो भयो। एकले अर्कोलाई सहयोग गर्थे। घुमफिरमा पनि सँगै निस्किन्थे। नेपालमा रहेका सबैका परिवारजनसँग कुरा हुन्थ्यो। परिवारजनले पनि आपसमा खबर आदानप्रदान गर्थे।

यसरी पत्तै नपाई कोरियामा पाँच वर्ष बित्यो। उनीहरू पाँच वर्षको सम्झौता पूरा गरेर सन् २०१८ मा एकसाथ स्वदेश फर्के। कोरियाबाट फर्केपछि नेपालमा पनि विवेक र पदम नजिकमा भए।

पदमको पुर्ख्यौली घर अर्घाखाँची हो। कोरियाबाट उनले पनि बुटवल उप-महानगरपालिका वडा नम्बर १२ मा घर बनाए।

‘विवेक र मेरो घर नजिकमा भयो। नेपाल फर्केपछि पनि महिनामा एकपटक जस्तो भेट भइराख्थ्यो। हामी नेपालमै काम गर्ने कि फेरि विदेश जाने भन्ने सल्लाह गर्थ्यौं,’ पदमले भने।

कोरियामा सँगै हुँदा उनीहरू तीन जना कुनै व्यवसाय गर्ने कुरा गर्थे। पदमले ड्राइभिङ सेन्टर खोले। विवेकले घरजग्गा कारोबार सुरू गरे। कपिलदेव नजिकमा थिएनन्, भेटघाट भएन।

नेपाल आएको एक वर्ष नाघेको मात्रै थियो, कोरोना फैलियो र व्यवसायमा नकारात्मक असर पर्‍यो।

‘घरजग्गा किनेर बेच्ने काम गर्दै थिएँ। कारोबार ठप्प जस्तो भयो। घाटामै त गइनँ तर केही जग्गा आफूले किनेको मूल्यमा बेच्नुपर्‍यो,’ विवेकले भने, ‘घाटा हुनेजस्तो देखिएपछि अब गर्ने भन्ने तनाव भयो अनि फेरि कोरिया जानुपर्छ कि जस्तो लाग्यो।’

कोरियामा काम गर्दा महिना मरेपछि पैसा आउँथ्यो। मेहनत अनुसार कमाइ हुन्छ भन्ने ढुक्क थियो। व्यवसाय घाटामा जाने देखिएपछि विवेकले पदमलाई फेरि कोरिया जाऔं भन्ने कुरा गरे।

पदम सकेसम्म नेपालमै बस्ने विचारमा थिए तर विवेकको कुरा पनि उचित नै लाग्यो। भाषा परीक्षाका लागि उनीहरूले बुटवलमा डेरा लिए र करिब तीन साता सँगै पढे। दुवै जनाले पहिले काम गरेकै कम्पनीमा जान भाषा परीक्षा दिए।

‘जसरी हुन्छ परीक्षा पास हुनुपर्छ भन्ने थियो, भयौं पनि,’ पदमले भने।

उनीहरूको कम्पनीका सुपरभाइजरसँग राम्रो चिनजान थियो। भाषा परीक्षा पास भएपछि उनीहरूले सुपरभाइजरलाई सुनाए। लगत्तै कम्पनीले बोलायो। विवेक र पदम फेरि एकसाथ कोरिया गए।

उनीहरू पुग्नुअघि नै कपिलदेव त्यही कम्पनीमा पुगेका थिए। फेरि तीन जना उही कम्पनीमा भेटिए। दोस्रो चरणमा कपिलदेवको बसाइ फरक पर्‍यो। विवेक र पदम फेरि पनि एउटै कोठामा बस्न पाए।

‘काम उही कम्पनीमा मिले पनि बस्ने कोठा एउटै होला भनेर त सोचेकै थिएनौं तर संयोग मिल्यो। बाहिरबाट देख्नेले पनि कसरी जुरेको भन्छन्,’ पदमले भने, ‘बसाइमा एक जना साथी अलग्गै भए पनि दुई जना छुट्नु परेन। दुःखसुख सँगसँगै हुने भयो।’

कोठा एउटै नभए पनि कपिलदेव टाढा छैनन्, हिँड्दै जाँदा तीन मिनेटको दुरी मात्र हो। काम गर्ने ठाउँ तीनै जनाको एउटै हो। खाना खाने बेलामा पनि सँगै हुन्छन्। घुमफिरमा जाँदा पनि एकसाथ हुन्छन्।

कामपछि प्रत्येक दुई घण्टामा १० मिनेट आराम गर्ने समय हुन्छ। त्यस बेला एक जनाले अर्कोलाई देखिएन भने ओहो कता गयो होला भन्ने हुन्छ। अरू साथीहरू पनि सोध्छन्। उनीहरू आपसमा दुःखसुख साटासाट गर्ने एकै परिवारका सदस्यजस्ता भएर बसेका छन्। फोनमा कुरा हुँदा पनि तीनै जनाका परिवारजनसँग हुन्छ।

‘नेपालीहरू धेरै हुँदा निकै सजिलो भएको छ। एक आपसमा कुरा गर्न पाइन्छ। कहिलेकाहीँ त नेपालमै छु कि जस्तो पनि हुन्छ,’ पदमले भने।

कम्पनीमा दैनिक आठ घण्टा काम गर्नुपर्छ। कहिलेकाहीँ ओभर–टाइम काम हुन्छ, गर्दिनँ भन्न पाइन्छ। धेरैजसो कामदारहरू ओभर–टाइम काम गर्न पाउँदा खुसी हुने विवेकले बताए।

‘हामी कमाउन आएका मान्छे। ओभर–टाइम काम गर्न पाउँदा खुसी लाग्छ,’ उनले भने, ‘आधारभूत कमाइ महिनामा दुई लाख रूपैयाँ सबैको हुन्छ। ओभर–टाइम समेत गर्दा तीन लाख रूपैयाँजति हुन्छ। रात र दिन केही नभनी काम गरेर महिनामै पाँच लाख रूपैयाँसम्म कमाउने साथीहरू पनि छन्।’

उनीहरूले काम गर्ने कम्पनीमा ठूलो संख्यामा आप्रवासी कामदारहरू छन्। विवेकका अनुसार तीमध्ये एक हजार जना हाराहारी नेपाली छन्।

नेपालीहरू धेरै भएकाले आपसमा गफ, ठट्टा र हाँसो चल्छ। समय बितेको पत्तो हुँदैन। उनीहरू चाडवाडमा पनि जम्मा हुन्छन्।

‘विदेशमा भए पनि ठ्याक्कै नेपालमै छु कि जस्तो हुन्छ। दसैंतिहार मनाउँदा पनि परदेशमा छु भन्ने अनुभव हुँदैन,’ विवेकले भने, ‘चाडवाडमा विशेष रमाइलो हुन्छ। दसैंमा अग्रज साथीहरूको हातबाट टीका लगाइन्छ। तिहारमा भैली पनि खेलिन्छ।’

काम हुँदा नेपालीहरू आपससमा नेपाली भाषा नै बोल्छन्। फुर्सदको समयमा समूह मिलाएर घुमफिरमा जान्छन्। विवेक, पदम र कपिलदेव दोस्रो पटक कोरिया गएको पनि दुई वर्ष हुन लागेको छ। अब नेपाल फर्केपछि तीन जना मिलेर व्यवसाय गर्ने सोच बनाएका छन्।

‘हामी तीनै जनाले पहिले कोरियामा पाँच वर्ष पैसा कमाएर घर बनायौं,’ पदम भन्छन्, ‘अब यो कार्यकालमा कमाएको पैसाले केही व्यवसाय गर्न सकिन्छ कि भन्ने सोचेका छौं।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024