पश्चिम एसियाका केही देशमा पुनः श्रम स्वीकृति सुरु

16 April, 2026

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पश्चिम एसियाका चार वटा देशमा कार्यरत रहेर बिदामा घर आएका नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति सुचारु गरेको छ । विभागले मङ्गलबारदेखि इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पुनः श्रम स्वीकृति प्रदान गर्ने कार्य सुचारु गरेको हो ।

विभागका अनुसार गएको चैत ५ गतेदेखि पश्चिम एसियाका सात देश (साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीमा पुनः श्रम स्वीकृति दिँदै आएको विभागले बाँकी चार देश (इजरायल, कुवेत, बहराइन र लेबनान) का लागि पनि पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ ।

सरकारले गएको चैत १७ गतेदेखि पश्चिम एसिया क्षेत्रमा उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राखेर विभागले व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति प्रदान गर्ने कार्य स्थगन गरेको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको २०८२ चैत ३० गतेको मन्त्रीस्तरीय निर्णय अनुसार सम्बन्धित सबैलाई जानकारी गराउँदै यो व्यवस्था लागु गरिएको विभागका महानिर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।

इराकको हकमा भने मन्त्रीपरिषद्को २०८२ पुस ११ गतेको निर्णयबमोजिम श्रम स्वीकृति प्रदान गरिने जनाइएको छ । यसअघि विभागले वैदेशिक रोजगारीका लागि इराकमा काम गरेर ‘भ्यालिड रेसिडेन्सी कार्ड’ प्राप्त गरेका नेपाली श्रमिकलाई श्रम स्वीकृति दिने गरेको थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024