परराष्ट्रमन्त्री शर्माले गरे कुवेतका विदेशमन्त्रीसँग टेलिफोन संवाद

17 March, 2026

परराष्ट्रमन्त्री बालानन्द शर्मा र कुवेत राज्यका विदेशमन्त्री शेख जर्राह जाबेर अल–अहमद अल–सबाहबिच पश्चिम एसिया क्षेत्रमा विकसित भइरहेको परिस्थितिबारे सोमबार टेलिफोन संवाद भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार संवादका क्रममा मन्त्री शर्माले कुवेतको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि भएको आक्रमणप्रति चिन्ता व्यक्त गरेका थिए। उनले त्यहाँ बसोबास गर्ने नेपाली समुदायसहित सबै बासिन्दाको सुरक्षा र स्थायित्व कायम राख्न कुवेत सरकारले गरिरहेको प्रयासको सराहना गरेका छन्।

कुवेतका विदेशमन्त्री अल–सबाहले युद्धले क्षेत्रीय कानुन तथा संयुक्त राष्ट्रसंघको मानवीय कानुनको उल्लंघन गरेको उल्लेख गर्दै आफ्ना देशमा रहेका नेपाली नागरिकहरूको सुरक्षाप्रति कुवेत सरकार प्रतिबद्ध रहेको दोहोर्‍याएका छन्। उनले क्षेत्रीय तनाव संवादमार्फत शान्तिपूर्ण रूपमा समाधान हुने आशा पनि व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रका अनुसार दुवै पक्षले क्षेत्रीय शान्ति र स्थायित्व सुनिश्चित गर्न संयमता, संवाद र कूटनीतिक पहलको महत्त्वमा जोड दिएका छन्। उनीहरूले पश्चिम एसियामा बढ्दो तनाव चाँडै समाप्त हुने अपेक्षा पनि व्यक्त गरेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024