परदेशिएका आफन्तसँग पैसामुखी व्यवहार किन?

4 April, 2023

पूर्णिमा शर्मा

अहिलेको समयका सायद कसैले आफ्नो मासु काटेर ‘तेरो खुसीका लागि दिँदैछु है’ भन्दा पनि आँखा तर्दै भन्थे होला- ‘जाबो हाड-छाला त दिइस्, मलाई त मुटु-कलेजो पो खान मन थियो।’

यस्तै-यस्तै लाग्छ कसैका कुरा सुन्दा त!

एकजना परदेशी दाजु भन्दै थिए- ‘बहिनीलाई फोन किनिदिएँ, घरमा राम्रोसँग कुराकानी होला भनेको आज ऊ आइफोन किनिदिएन भनेर गुनासो पोख्छे रे। यताबाट बिदाको दिनमा हप्तामा एकपटक फोन गर्दा पनि उठाउँदिन। कहिलेकाहीँ म व्यस्त छु भन्ने रिप्लाई आउँछ, कहिले त कुनै रेस्पोन्स नै आउँदैन।’

भाइलाई पनि बेलाबखत सक्दो केही सहयोग गरेका विचरा उनी, उसले पनि बिना स्वार्थ के छ दाजु भनेर कहिल्यै सम्झँदैन भन्दै आँसु खसाल्दै थिए।

‘दिदी त झन् मलाई भाइले हेरेन भनेर सधैं बेखुसी थिई, सम्झने त सवालै भएन नानी’ भन्दै उनले निन्याउरो अनुहार पारे।

यसैबीच उनले अझैं थपे- ‘पैसाको प्यास निकै भयानक हुँदोरहेछ नानी, यसले जति पायो उति तृष्णा बढाउँदो रहेछ। आज पराई भूमिमा आएर दु:ख गरेर परिवार सुखी अनि खुसी राखुँ त भनि कमाएको सबै परिवारको भलोमा खर्चिंदा पनि मेरा लागि माया दिने परिवार रहेन, नाता सम्बन्ध जति दिएन र पाएनमै बिलाए।

आफ्नो तागतले भ्याएजति गरेर सबैको लागि लगानी गरिरहँदा पनि यसले त अझैं भण्डार नै लुकाको छ जस्तो गर्छन् सबै। म रित्तो छु भनेर उनीहरूलाई कसरी सम्झाउँ भन त बाबै? आज आएर मेरो दु:ख कसैले देखेन, पीडा कसैले बुझेन, आखिर म एक्लो भएर के पाए त? म भोको छु कि, नाङ्गो छु कि अहँ! कसैलाई चिन्ता छैन।

कहिले घाममा सेकिएको छु त कहिले चिसो हिउँमा कठ्याङ्ग्रिएर काम गरेको छु। शरीर बिमार हुँदाका बखत तातो पानी वा एक गाँस खान दिने यहाँ कोही हुँदैन। दु:ख-बिमारी नभनी रुँदै ड्युटीमा खट्नुपर्छ यहाँ। त्यसको मतलब नगरी मेरै कमी खोतल्छन् सबै। परदेशिएर सायद बिराएछु कि मैले!’

उनी भावुक हुँदै अझैँ बोले- ‘यति सब भोग्दा आमा भने खुबै याद आउँछिन् नानी। सबै बदलिए पनि ती बुढीले त पक्कै मेरो माया मान्दी हुन् जस्तो लाग्छ। तिनैलाई बरु केही दिन सकेको छैन मैले। तर आजसम्म यो दिएनस् या पुर्याएनस् भनेकी छैनन। आकलझुक्कल कुरा हुँदा पनि मिठो बोलेर मनको न्यास्रो मेट्छिन्। तर उनैलाई फोन चलाउन आउँदैन।

तिनैलाई सम्झेर फेरि अरुका रुखा बानी बिर्सेर भए पनि हरेक हप्ता फोन गर्ने प्रयास गर्छु, तैपनि मेरो त्यति वास्तै गर्दिनन् मेरा आफ्ना भनाउँदाहरूले। यो बिरानो सहरमा एक्लो त सधैं छँदै नै छु, आफ्नाबाट मनैदेखि पनि अपनत्व नमिल्दा कहिलेकाहीं त बेकार बाँचेछु जस्तो पनि लाग्छ।’

उनको कुरा सुनेर म पनि भावविह्वल भएँ। मैले आफूले सकेजति विवेक प्रयोग गरेर सान्त्वना दिई उनलाई यसपटक त सम्हालिन मद्दत गरेँ तर फेरि-फेरि उनी यसैगरी टुट्दै गए भने सकुशल रहलान् र उनको जीवन रहला भन्ने के नै ग्यारेन्टी छ र?

त्यसैले मलाई उनीजस्तै अन्य परदेशिएका दाजुभाइ, दिदीबहिनीको यसप्रकारको पीडाले झकझकायो। व्यक्तिपिच्छे कहानी फरक पर्ला तर प्रायः मानिसलाई नजिकबाट नियाल्ने हो भने अधिकांश मानिस यस किसिमको मनोदशाबाट गुज्रिरहेको हामीले महसुस गर्न सक्छौं।

कतिपय अवस्थामा त बाबुआमाले नै पैसामुखी व्यवहार देखाउँदा घरपरिवार या जीवनप्रति नै वितृष्णा पलाएका धेरै भेटिन्छन्। त्यसैले हामी आफ्नो तर्फबाट मात्रै अवस्थाको मूल्यांकन गरेर कतै अन्जान पारामा आफ्ना आफन्तमाथि घातक विष त ओकलिरहेका छैनौँ? यो विषय सबैले मनन गर्नुपर्ने कुरा हो।

आफ्नाको मायाको प्यास पराईको सहानुभूतिका शब्दले कहाँ मेटिन सक्छ र? र फेरि सबै-सबैले आफ्नो मनको पीर अरुसामु बिसाउँछन् भन्ने पनि त छैन। त्यसकारण लामो समयसम्म यस्ता विचार मनमा रहँदा मानिस मानसिक रोगी बन्नसक्छ। यस किसिमका दुर्घटना हामीले पछिल्लो समयमा धेरै नै सुन्दै, भोग्दै आएका पनि छौँ।

त्यसैले सबैमा बिन्ती यो छ कि, परदेशिएको आफन्तलाई सकेसम्म सबैले माया दर्शाऔँ। उनको अनुपस्थितिमा परिवार अधुरो रहेको भाव व्यक्त गरौँ ताकि भौतिक रुपले टाढिएका उनीहरूको मनले एक्लो कहिल्यै महसुस नगरोस् र उनीहरूको मनोबल सदा उच्च रहिरहोस्।

अर्काको ठाउँमा उनका पनि आफ्नै समस्या हुन्छन, सङ्घर्ष हुन्छन्, अनेक नियम कानुनको दायरामा चल्नुपर्ने बाध्यता हुन्छ। सबै दु:ख परिवारलाई बाँढेका पनि हुँदैनन्। त्यसैले आफै बुझ्ने प्रयास गर्नुपर्छ। सबैको राम्रो सोची टाढिएका उनीहरूलाई पैसामुखी व्यवहार मात्र हैन, आत्मीय व्यवहार गरौँ।

आखिर धनको मोहले कसलाई पो पुग्यो भन्ने बनाको छ र? यसैले उनीहरू आर्थिक रुपले अस्थिर भएका बखत पनि मिठो बोलेर हौसला दिउँ न कि घृणा या अपमान दिने। परदेशमा पैसा फल्ने बोट कतै छैन र सोचेजस्तो सजिलो गरी पैसा पनि कमाइँदैन। जसकारण आम्दानी सधैं स्थिर नहुन सक्छ। यो सत्य कसैले पनि नभुलौं।

मेहनत गरे हाम्रै देशमा पनि केही त सम्भावना पक्कै छन, त्यता पनि ध्यान दिउँ। सबै लागि मिली परिवार चलाऔं र जति प्राप्त हुन्छ त्यसमै सन्तोष मानी रमाउने बानी बसालौँ। क्षणिक लालचमा परेर माया अनि आफ्नोपन देखाउन चुक्नाले आफ्ना प्रिय मान्छे नगुमाऔं।

उनीहरूसँग कुरा गर्न कम्तीमा हप्तामा एकपटक त समय जुटाऔं र उनका पनि सुखदु:खका कहानी सुनी आपसी माया बाँढ्दै खुसी जीवन बिताऔं।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024