नेपालसँगको श्रम सम्झौताबमोजिम नै श्रमिकको स्वास्थ्य परीक्षण  : मलेसिया

19 May, 2026

Hom Karki

मलेसिया सरकारले दुई देशबीच सम्पन्न श्रम सम्झौताबमोजिम नेपालमा बायो मेडिकल प्रणाली (बीएमएस) मार्फत सञ्चालन गर्न नियुक्त गरिएको ३६ वटा स्वास्थ्य संस्थाबाट नेपाली श्रमिकको स्वास्थ्य परीक्षण र तोकिएको सेवा शुल्क संकलन भइरहेको स्पष्ट पारेको छ ।

काठमाडौंस्थित मलेसियन दूतावासले सोमबार सार्वजनिक सूचना जारी गर्दै १२ कार्तिक २०७५ मा नेपाल र मलेसिया सरकारबीच श्रमिकको भर्ना, रोजगारी तथा स्वदेश फिर्तासम्बन्धी सम्झौतालाई पुनः स्मरण गराउँदै स्वास्थ्य परीक्षण प्रणालीबारे स्पष्ट पारेको हो ।

‘सम्झौतामा मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण बायो–मेडिकल प्रणाली (बीएमएस) मार्फत सञ्चालन गर्न ३६ वटा स्वास्थ्य संस्थालाई नियुक्त गरिएको उल्लेख गरिएको थियो । यस प्रयोजनका लागि नेपाल सरकारले तोकेको शुल्कबाहेक मलेसिया सरकारले थप सेवा शुल्कबापत ३ हजार रुपैयाँ निर्धारण गरेको थियो,’ दूतावासको सूचनामा उल्लेख छ,‘उक्त सम्झौतामा बायो–मेडिकल प्रणालीसम्बन्धी खर्च रोजगारदाताले व्यहोर्ने स्पष्ट व्यवस्था गरेको थियो ।’ जुन खर्च मलेसियन रोजगारदाताले पहिलो पहिनाको तलबमा फिर्ता गर्ने व्यवस्था छ ।

३६ वटा स्वास्थ्य संस्थाले नेपालमा मलेसियाको स्वास्थ्य प्रोटोकल (एसओपी) अनुसार स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य परीक्षणका लागि ६ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । यसबाहेक थप ३ हजार रुपैयाँ बायो–मेडिकल प्रणाली प्रयोग गरेबापत सेवा शुल्क लिन पाउने व्यवस्था गरेको थियो ।

दूतावासले श्रम सम्झौतामा उल्लेख भएबमोजिम नेपालमा बायो मेडिकल प्रणालीलाई कार्यान्वयन गर्न म्याक्रो टेक प्रालि तथा वेस्टिनेट एसडिएन बीएचडीलाई कानुनी अधिकार दिइएको जनाएको छ ।

‘म्याक्रो टेक प्रालि र वेस्टिनेट एसडीएन बीएचडीलाई नेपालमा बायोमेडिकल कार्यान्वयन गर्ने, शुल्क संकलन गर्ने तथा कानुनबमोजिम रकम पठाउने अधिकारसमेत प्रदान गरिएको थियो,’ दूतावासको सूचनामा उल्लेख छ,‘म्याक्रो टेक प्रालि तथा वेस्टिनेट एसडीएन बीएचडीलाई दुवैले नेपाल र मलेसिया सरकारबीच भएको सहमतिअनुसार आफ्नो काम सञ्चालन गरिरहेको छ ।’

मलेसियासहित प्रमुख गन्तव्य देशले आफ्नो स्वास्थ्य प्रोटोकल (एसओपी) बमोजिमको मापदण्ड पूरा गर्न सक्ने सूचीकृत स्वास्थ्य संस्थाबाट छानिएको मेडिकलबाट दिइएको मेडिकल रिपोर्ट पेस गरेपछि मात्रै श्रम भिसा आउने गरेको छ ।

गल्फ कोआपेरसन काउन्सिल (जीसीसी)ले साउदी अरब, बहराइन र ओमान जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न ३१ वटा मेडिकल पुर्‍याएको छ । कतार एउटा, इजरायल ५ र दक्षिण कोरियाका लागि ४ वटा स्वास्थ्य संस्थालाई अनुमति दिइएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024