दैनिक ज्यालादारी गर्नेहरूका लागि सरकारले राहत कार्यक्रम ल्याउने

28 Mar, 2020

सेतोपाटी संवाददाता

सरकारले कोरोना भाइरस प्रकोपका कारण अभावमा परेकाहरूलाई राहत कार्यक्रम ल्याउने तयारी गरेको छ। ‘लक-डाउन’ बाट दैनिक ज्यालादारी गर्नेहरू मर्कामा परेकाले सरकारले यस्तो तयारी गरेको हो। 

कोरोना रोकथामका लागि भइरहेको प्रयास र जनताका लागि ल्याउन सकिने प्याकेजबारे प्रधानमन्त्री केपी ओलीले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलसँग ब्रिफिङ लिएका थिए। उपप्रधानमन्री पोखरेल कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत हुन्। 

‘अहिलेसम्म भइरहेका कामबारे मैले प्रधानमन्त्रीलाई जानकारी गराएँ। उहाँले अहिलेको अवस्थालाई गम्भीर रूपमा लिनुभएको छ,’ उनले भने, ‘जनतालाई कसरी राहत दिन सकिन्छ भन्नेमा प्रधानमन्त्रीज्यूको चासो छ। भोलि बस्ने मन्त्रिपरिषद बैठकमा यसबारे छलफल हुन्छ होला।’ 

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री पोखरेल र अर्थ एवम् सञ्चारमन्त्री युवराज खतिवडासँग छलफल गरेकी थिइन्। 

राष्ट्रपति भण्डारीले कोरोना रोकथामका लागि भइरहेको प्रयास र राहत कार्यक्रमबारे जानकारी लिएको राष्ट्रपतिनिकट स्रोतले सेतोपाटीलाई बतायो। 

शुक्रबार बसेको उच्चस्तरीय समन्वय समिति बैठकले लक-डाउनका कारण जोखिममा परेका नागरिकलाई खाद्यान्न व्यवस्था गर्ने निर्णय गरेको थियो।त्यसका लागि स्थानीय तहले समन्वय गर्ने भनिएको थियो। राहत प्याकेज कार्यक्रम मन्त्रिपरिषदले घोषणा गर्नुपर्छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024