दुबईबाट काठमाडौं र नेपालगन्ज हुँदै धनगढी पुगेका थिए संक्रमित

27 Mar, 2020

कान्तिपुर संवाददाता

धनगढी — धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेको अवस्थामा कोरोना भाइरस संक्रमित भएको पुष्टि भएका व्यक्ति दुबई हुँदै धनगढी आएका थिए ।

चैत ७ गते दुबईबाट उनी दिल्ली हुँदै काठमाडौं आइपुगेका थिए। भोलिपल्ट८ गते बुद्ध एयरको उडानबाट नेपालगञ्‍ज उत्रिएका उनी त्यहाँबाट माइक्रो हायसमा धनगढी आइपुगेको जिल्ला प्रहरी कार्यालय धनगढी स्रोतले जनाएको छ।

उनी दुई दिन घर बसेका थिए। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको घरमा बस्दा उनको परिवार र नातागोतासँग सम्पर्क भएको थियो। शुक्रबारसम्म उनको परिवारका कुनै पनि सदस्य आइसोलेसनमा बसेका छैनन्। रुघाखोकी र ज्वरो आएपछि उनी आफैं अस्पताल पुगी भर्ना भएका थिए। अस्पतालले उनको स्वाबको नमुना परीक्षणका लागि काठमाडौं जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो। अस्पताल भर्ना भएको चार दिनपछि शुक्रबार स्वास्थ्य मन्त्रलायले उनमा संक्रमण भएको पुष्टि गर्‍यो ।

दुबईमा बैदेशिक रोजगारीमा रहेका उनी घर फर्कने क्रममा धनगढी पुग्दासम्म बाटोमा कतिजनासँग उनको सम्पर्क भयो भन्ने अझै यकीन छैन। उपचारमा संलग्न डाक्टरका अनुसार ३४ वर्षीय ती युवाको स्वास्थ्य अवस्था हालसम्म चिन्ताजनक छैन।

सेती प्रादेशिक अस्पतालले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार हालसम्म अस्पतालमा १९ जनालाई आइसोलेसन वार्डमा राखिएको छ । सबैको स्वाबको नमुना परीक्षाण गर्ने क्रममा हालसम्म ८ जनाको नेगेटिभ रिपोर्ट आएको छ। १० जनाको रिपोर्ट आउन बाँकी छ। ८ जना सञ्चो भएर डिस्चार्ज भइसकेका छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024