दिल्ली विमानस्थलमा नेपाली यात्रुका लागि नयाँ ट्रान्जिट डेस्क

3 December, 2025

Suraj Kunwar

दिल्ली हुँदै तेस्रो मुलुक उड्ने नेपालका यात्रुहरूका लागि दिल्ली विमानस्थलले हालै नयाँ सहजीकरण व्यवस्था सुरु गरेको छ।

केही समयअघि दिल्ली विमानस्थलबाट दुईटा फरक उडानका चार नेपाली महिला डिपोर्ट भएका घटनाले यात्रुहरूमा भय र असुरक्षाको भावना उत्पन्न गरेको थियो । ती यात्रुहरू कतार एयरबेजबाट बर्लिन र लुफ्थान्साबाट कोलम्बिया जान दिल्ली पुगेका थिए । भारतपछिको अर्को देश उनीहरुको ट्रान्जिट थियो । तर अचानक उनीहरूलाई विमानस्थलबाट फर्काइएको खबरले युरोप र अमेरिका एक्लै उड्ने नेपाली यात्रुहरुमा चिन्ता बढाएको थियो ।

यस घटनापछि दिल्लीस्थित नेपाली दूतावासले पनि सम्बन्धित पक्षसँग कुराकानी गर्दै नेपाली यात्रुहरूको सुरक्षामा ध्यान दिन आग्रह गरेको थियो ।

यही परिस्थितिमा, इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले नेपालबाट यात्रा गर्ने र दिल्लीमार्फत अन्य अन्तर्राष्ट्रिय गन्तव्यतर्फ जाने यात्रुहरूका लागि नयाँ सूचना डेस्क स्थापना गरेर सञ्चालनमा ल्याएको राजदूत शंकर शर्माले कान्तिपुरसँग बताए ।

यस डेस्कमार्फत यात्रुहरूलाई ट्रान्जिट प्रक्रियामा सहजीकरण प्रदान गर्ने लक्ष्य राखिएको छ। भारतीय सूचना अनुसार, यदि नेपाली नागरिक केवल अर्को अन्तर्राष्ट्रिय उडानमा जोडिँदै छन् भने उनीहरूले भारतीय इमिग्रेसन प्रक्रियामा भाग लिनुपर्ने छैन।

यसको सट्टा, उनीहरूले सिधैं अन्तर्राष्ट्रिय ट्रान्सफर क्षेत्रतर्फ जान सक्ने व्यवस्था गरिएको छ। यस कदमले यात्रा प्रक्रियामा अनावश्यक ढिलाइ र झन्झट घटाउने अपेक्षा गरिएको राजदूत शर्माले बताए ।

राजदूत शर्माका अनुसार, दिल्लीबाट विश्वका धेरै देशतर्फ यात्रा गर्ने नेपालीहरूको संख्या बढ्दै गएको छ। तर, यससँगै यात्रुहरूको सुरक्षा र कागजातको प्रमाणीकरण जाँच्नु अत्यावश्यक बनेको छ । राजदूत शर्माले केही गिरोहहरूले नक्कली नो अब्जेक्सन लेटर(एनओसी), नक्कली भिसा र अन्य कागजातहरू बनाएर नेपाली कामदार वा यात्रुहरूलाई भ्रममा पार्ने घटना भइरहेको बताए ।

नेपाली नियोगले पछिल्ला महिना केही भिसा र कागजातहरू नक्कली भएको पुष्टि गरेको छ । जसले गर्दा वास्तविक यात्रुहरू पनि शंकामा पर्न सक्छन्।

साम्भवी अधिकारीको घटना यसैको उदाहरण हो। उनी कतार एयरवेजमार्फत दोहा हुँदै बर्लिन जानुपर्ने थियो। तर, दिल्लीमा उनको कागजात मिलेन भन्ने शंका उठेर कतार एयरवेजका कर्मचारीहरूले उनलाई उडानबाट रोकिदिए।

अन्ततः नेपाल वायुसेवा निगमको सहयोगमा उनलाई सोही दिन नेपाल फर्काइयो । यस घटनाले नेपालबाट दिल्ली हुँदै यात्रा गर्ने यात्रुहरूको समस्या मात्र होइन, कागजात प्रमाणीकरणको महत्त्व पनि स्पष्ट पारेको छ ।

यसै क्रममा, दिल्लीस्थित नेपाली दूतावासले यात्रा अघि सबै कागजात र ट्राभल डकुमेन्ट जाँच्न यात्रुहरूलाई आग्रह गरेको छ । यसले भविष्यमा हुने असुविधा कम गर्ने विश्वास गरिएको छ । दूतावास र विमानस्थल प्रशासनबीचको समन्वयले, नेपाली यात्रुहरूका लागि ट्रान्जिट र अन्तर्राष्ट्रिय यात्रा सहज र सुरक्षित बनाउने पहिलो महत्त्वपूर्ण कदम चालेको देखिन्छ ।

यात्रुहरूले पनि आफ्नो कागजात, टिकट र भिसा वैध छन् कि छैनन् भन्ने कुरा सुनिश्चित गर्नु आवश्यक छ ।

दिल्ली विमानस्थलले हाल लगभग १५० अन्तर्राष्ट्रिय गन्तव्यसँग उडान गर्छ । त्यहाँ दैनिक करिब १४०० उडान सञ्चालन हुन्छन् । यसले दिल्लीलाई भारतीय विमान यातायातको प्रमुख हब बनाएको छ।

१३ प्रतिशत भ्याट, डलरको महँगो विनियम दर, केही वायुसेवाको निश्चित ट्राभल एजेन्सीलाई मात्रै टिकट गिएर महँगो दरमा बिक्री गर्ने सिन्डिकेट प्रणालीले नेपालबाट दिल्ली हुँदै अन्य देशतर्फ जाने यात्रुको संख्या पनि अपेक्षाकृत धेरै रहेको ट्राभल एजेन्टहरु बताउँछन् ।

यसकारण, दिल्लीमार्गले नेपाली यात्रुहरूका लागि सुविधा र सहुलियत दिएर उनीहरुको यात्रालाई सहजीकरण पनि गरिदिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, हाल काठमान्डु-दिल्ली दैनिक कम्तीमा दुईतर्फी २० वटा उडान पुगेका छन् । यी उडानबाट दिल्ली जाने अधिकाशं यात्रु त्यहाँबाट अरु उडानबाट खाडी, युरोप, अमेरिका र एसियायाली गन्तव्य उड्छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024