दक्ष कामदारलाई गाउँमै अवसर

14 Jan, 2019

कामको खोजीमा धमाधम विदेशिने युवा जनशक्तिको संख्या दिनप्रतिदिन बढ्दो छ । श्रमकै लागि भनेर जाने र विद्यार्थी भिसामा विदेश गएर श्रम गर्ने नेपाली युवाको संख्या पनि यहाँ कम छैन ।पछिल्लो समय नेपालमै स्वदेशी तथा बहुराष्ट्रिय कम्पनी खुल्न थालेपछि भने दक्ष कामदारले यहीं कामको अवसर पाउन थालेका छन् ।

 

पश्चिम नवलपरासीको भुमहीदेखि रूपन्देहीको भैरहवासम्मको बाइपास सडक वरपर अहिले धमाधम कलकारखाना र उद्योग खुल्न थालेका छन् । बहुराष्ट्रिय पेप्सी, वास्र्टेनर, एसियन कंक्रिटो, हुलासजस्ता दर्जनभन्दा बढी कम्पनी सञ्चालनमा आएपछि दक्ष कामदारले काम पाउन थालेका हुन् ।

 

रामग्राम नगरपालिकाको हकुहीमा सञ्चालनमा आएको एसियन कंक्रिटो प्रालि जर्मन प्रविधिमार्फत ब्लक उत्पादन गर्ने कम्पनी हो । तर, यहाँ आवश्यक कच्चापदार्थ संकलन गर्ने मजदुरबाहेक कम्पनीभित्र मेसिन सञ्चालन गर्ने र कम्प्युटर प्रविधिमार्फत नियन्त्रण र गुणस्तर नाप्न सक्ने नेपाली जनशक्तिको अभाव छ । उद्योगले अहिले कतार, साउदीजस्ता खाडी मुलुकमा काम गरिरहेका नेपाली र भारतीय नागरिकलाई उनीहरूले भनेअनुसारको सुविधा दिएर काममा लगाएको छ ।

 

तनहुँका पूर्णबहादुर गुरुङले करिब १० वर्ष कतारमा काम गरे । नेपालमा कुनै पनि सीप नसिकेका उनी विदेश गएपछि मासा कम्पनीको प्लान्टलाई कम्प्युटर प्रविधिमार्फत नियन्त्रण गर्न सक्ने कलामा पोख्त भए । १० वर्षसम्म विदेशमा श्रम गरेपछि स्वदेशमा नै केही गराैं भन्ने सोच उनमा आयो । तर, आफूले जानेको सीपअनुसारको कम्पनी नेपालमा नै नभएकाले उनी खिन्न थिए ।

 

‘उद्योग नै खोलाैं भने लगानी गर्न नसक्ने, काम गरौं भने आफूले जानेको कम्पनीको उत्पादन नेपालमा थिएन,’ उनले भने, ‘नेपालमा पहिलोपटक विदेशी प्रविधिको कंक्रिटो उद्योग सञ्चालनमा आएपछि मलाई कम्पनीले नै कामका लागि नेपाल बोलायो ।’ अहिले उनी नेपालमा नै आफूले जानेको सीपअनुसारको काम गर्न पाउँदा दंग छन् । ‘विदेशमा सिकेको सीपले स्वदेशमा काम गर्न पाउँदा साह्रै खुसी लागेको छ,’ उनले भने, ‘नेपालमा पनि औद्योगिक वातावरण बनेमा सीप सिकेकामजस्तै धेरै युवाले यहीं रोजगारी पाउनेछन् ।’

 

जिल्लाकै सुक्रौलीमा रहेको बहुराष्ट्रिय कम्पनी वास्र्टेनर र पेप्सीजस्ता कम्पनीमा पनि दक्ष नेपाली कामदारको अभाव देखिएको छ । यहाँ भारतीय र विदेशी कामदार आएर काम गरिरहेका छन् । स्वदेशी दक्ष र सीपयुक्त जनशक्तिको अभावमा अहिले यी उद्योगमा खासगरी भारतको विहार र उत्तर प्रदेशबाट कामदार ल्याएरकाम गर्नुपरेको उद्योगहरूको भनाइ छ ।

 

सामान्य मजदुरीबाहेक प्राविधिक काममा विदेशी कामदार लगाउँदा खर्च बढ्नुका साथै लामो समयसम्म कर्मचारी टिकाउन पनि समस्या परिरहेको कम्पनीको दाबी छ । समय–समयमा कर्मचारी आवश्यकताको सूचना प्रकाशित गर्दासमेत दक्ष जनशक्ति पाउन नसकिएको उद्योग सञ्चालकले गुनासो गरे । ‘हामीले मुस्किलले ४/५ जना दक्ष कामदार विदेशबाट ल्याएका छौं,’ एसियन कंक्रिटोका निर्देशक राजेश अग्रवालले भने, ‘हाम्रोमा मात्रै होइन, धेरै नयाँ उद्योगलाई दक्ष नेपाली कामदारको खाँचो छ ।’

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024