डोरीका भरमा अडिएर ११० तलामा काम गर्ने युवक

22 May, 2025

सन्जिब बगाले

गोरखाका युवक श्रेष्ठ रोजगारीका लागि विदेश गएको १२ वर्ष भयो। उनी सुरूमा ‘अफिस ब्वाइ’ भएर कतार गएका थिए। उनी ग्यासको कारखानाबाट अघि बढ्दै हाल निर्माण काममा छन्।

उनी विशेष गरेर अग्ला भवनमा भएका फलाम रंगाउने, सफा गर्ने, बत्ती, सिसा र एसी जडान गर्ने लगायत काम गर्छन्।

‘यीमध्ये सबैभन्दा जटिल काम फलाम रंगाउने हो जसलाई ब्लास्टिङ पेन्टिङ भनिन्छ। ग्यास कारखाना र ठूला भवनहरूमा जडित फलाममा खिया लाग्न नदिन यस्तो रङ लगाइन्छ,’ उनले भने, ‘यो रङ स्प्रे गरेर लगाइन्छ।’

उनका अनुसार यो काम निकै कठिन र जोखिमपूर्ण मानिन्छ। यसमा ठूल्ठूला मेसिन प्रयोग हुन्छ। तालिमप्राप्त व्यक्तिले मात्र काम गर्न सक्छ।

गगनचुम्बी भवनहरूमा डोरीका भरमा अडिएर (झुन्डिएर) काम गर्नुपर्छ। उनले १०–२० तलादेखि ४० तला, ८० तला हुँदै ११० तलाका भवनमा यसरी रङ लगाउने काम गरिसकेका छन्।

उनी युएई (युनाइटेड अरब इमिरेट्स), साउदी अरब, कतार, ओमान, कुवेत लगायतका देशमा घुम्दै काम गर्छन्। सामान्यतया ६ महिना एउटा देशमा हुन्छन् त ६ महिना अर्कै देशमा।

उनी कहिलेकाहीँ आफ्नो कामको भिडिओ टिकटकमा राख्छन्। भिडिओ नै आङ सिरिंग गराउने खालको हुन्छ। कयौं तलामाथि डोरीमा झुन्डिएर काम गरेको देखिन्छ।

यसरी उनी दैनिक १८ घण्टासम्म काम गर्थे।

डेढ वर्षयता भने उनको काम अलि फेरिएको छ। उनले अरूले गरेको यस्तै कामको अनुगमन गर्ने जिम्मेवारी पाएका छन्। उनी सिनियर ‘रोप एक्सेस टेक्निसियन’ हुन्।

अनुगमनसँगै नमूना काम देखाउनु र काम सिकाउनु पनि उनको जिम्मेवारी हो। कहिलेकाहीँ उद्धारमा पनि खट्नुपर्छ।

‘अहिले हाम्रो समूहमा नौ जना छौं। हामी अलराउन्डर हौं, कहिले कुन देशमा हुन्छौं, कहिले कुन देशमा। हामी दुबई आएको ६ महिना भयो। अब केही दिनमा साउदी अरब जान्छौं,’ युवकले भने, ‘हाम्रो मुख्य काम ठूल्ठूला भवनमा सिसा लगाउने, सरसफाइ गर्ने, ग्यास प्लान्टमा पाइप काट्ने, समुद्रमा डुंगाको खिया निकाल्ने, एसी जडान गर्ने हो लगायत हो।’

गगनचुम्बी भवनमा डोरीका भरमा झुन्डिएर गर्नुपर्ने काममा सुरक्षा मापदण्ड निकै बलियो हुन्छ। उच्च रक्तचाप भएका व्यक्तिलाई त्यस्तो काममा पठाइँदैन। काममा पठाउनुअघि स्वास्थ्य परीक्षण गरिन्छ। अनुभवका आधारमा काम गर्ने तला थपिँदै जाने उनले बताए।

धेरै उचाइमा पुग्दा डर लाग्दैन भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘एकैचोटि ११० तलमा पुग्ने हो भने त बेहोस भइन्छ। दस तला र अझ तलबाट काम सुरू गरेर बिस्तारै माथि (११० तलामा) पुग्ने हो।’

जति अनुभवी हुँदै गयो त्यति माथिल्लो तलामा काम गर्नुपर्छ।

यस्तो उचाइमा काम गर्नु निकै जोखिमपूर्ण हुन्छ। कहिलेकाहीँ दुर्घटना भएको उनले सुनेका छन्। एक पटक आफै पनि दुर्घटनामा परे। धन्य, त्यो सामान्य किसिमको थियो।

‘डोरी बाँधेको ठाउँ धस्सिएर ९ तलामुनि खसेका थिएँ। मेरो त सातो गइहाल्यो। धस्सिएको ठाउँभन्दा माथि पनि बाँधेको हुनाले मलाई नराम्रो हुन पाएन,’ उनले भने।

भवनको आकार अनुसार पनि काम सजिलो वा अप्ठ्यारो हुने युवकको भनाइ छ। अंग्रेजी अक्षर सी आकारको भवनमा काम गर्न अलिक कठिन हुन्छ। गगनचुम्बी भवनमा डोरीमा झुन्डिएर यस्तो काम गर्नेको कमाइ लेबल (स्तर) अनुसार हुन्छ। लेबल वान (एक) सबैभन्दा कम हो।

लेबल वानमा काम गर्नेको मासिक पारिश्रमिक दुई हजार रियाल (कतारी) सम्म हुन्छ, हालको विनिमय दरमा नेपाली रूपैयाँ करिब ७५ हजार। ‘लेबल टू’ मा २५ सय देखि ३५ सय रियाल र ‘लेबल थ्री’ मा ५ हजार देखि २० हजार रियालसम्म हुन्छ।

युवक हालै ‘लेबल थ्री’ मा पुगेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024