ज्याला माग्दा मजदुरलाई अमानवीय व्यवहार, ठेकेदारले चोकमा बाँधेर मोसो दले

12 April, 2023

२९ चैत, जनकपुरधाम ।काम गरेको ज्याला माग्दा महोत्तरीमा एक निर्माण व्यवसायीले मजदुरलाई अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का २१ वर्षीय मोबारक नदाफमाथि दुर्व्यवहार भएको हो ।

स्थानीय निर्माण व्यवसायी ३५ वर्षीय कृष्ण मिश्रले उनीमाथि कुटपिटसहित अमानवीय व्यवहार गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

यही चैत २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर मिश्रले कुटपिट गर्दै चोकको विद्युत पोलमा पाता कसेर, मोसो दलेर केस मुण्डन गरिदिएका छन् ।

प्रहरीले मिश्रलाई घटनाको भोलिपल्ट पक्राउ गरेको छ । उनीमाथि अमानवीय अपमानजनक व्यवहार कसुरमा मुद्दा चलाएको डिएसपी गिरीले बताए । अमानवीय अपमानजनक व्यवहार कसुरमा पाँच वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ ।

मुस्लिम धर्माम्बलम्बीको अहिले रमजान (रोजा) चलिरहेको छ । पीडित परिवारका अनुसार रमजान मनाउन नदाफले निर्माण व्यवसायी मिश्रसँग काम गरेको ज्याला मागरेका थिए । पटक-पटक ज्याला माग्दा पनि नदिएपछि उनले काम गर्दैगर्दाको औजार लगेका थिए ।

औजार लिएर आउनू पैसा दिन्छु भनेर शिव आश्रममा बोलाएर मिश्रले नदाफलाई चोरीको आरोप लगाउँदै चोकमा लगेर अमानवीय व्यवहार गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

पीडितले जिल्ला प्रहरी कार्यालयमा मिश्र लगायत विरूद्ध किटानी जाहेरी दिएका छन् ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024