ज्याला माग्दा ठेकेदारले मजदुरलाई बिजुलीको पोलमा बाँधेर कुटे, कपाल मुन्डन गरिदिए

12 April, 2023

महोत्तरीको लोहारपट्टी नगरपालिकामा एकजना मजदुरमाथि अमानवीय व्यवहार गरेको घटना बाहिरिएको छ। काम गरेको ज्याला माग्दा लोहारपट्टी नगरपालिका-६ का निर्माण व्यवसायी कृष्ण मिश्रले कुटपिट गदै स्थानीय मोबारक नदाफमाथि दुर्व्यवहार गरेका हुन्।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दीलिपकुमार गिरीका अनुसार गत चैत २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर चोरी गरेको भन्दै विद्युत पोलमा पाता कसेर मिश्रले नदाफलाई अमानवीय व्यवहार गरेका थिए।

‘मिश्रले उनको कपाल पनि मुण्डन गरेर मोसो दले। मान्छेहरूले त्यहाँ रमिता हेरेर बसेका थिए। प्रहरीलाई खबर पनि गरिएनछ। यो घटनाले उनलाई विक्षिप्त बनाइयो,’ उनले भने। घटनाको भोलिपल्ट समाजिक सञ्जालमा भिडिओ दखेपछि प्रहरीले मिश्रलाई पक्राउ गरेको छ।

उनीविरूद्ध अमानवीय अपमानजनक व्यवहार कसुरमा मुद्दा चलाएको डिएसपी गिरीले बताए। अमानवीय व्यवहार गरिएका नदाफ मिश्रले पाएका ठेक्कामा मजदुरी गर्दै आएका थिए।

रमजान मनाउन निर्माण व्यवसायी मिश्रसँग काम गरेको ज्याला मागेपछि नदिँदा उनले काम गर्दैगर्दा एउटा औजार लगेका थिए। औजार लिएर आएपछि पैसा दिने भन्दै गाउँमै रहेको शिव मन्दिरमा बोलाएर चोरीको आरोप लगाउँदै मिश्रले कुटेको स्थानीयको भनाइ छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024