जापानबाट एसईई दिने १४ जना

6 April, 2023

जापान : शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईमा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरूले जापानको एभरेष्ट इण्टरनेशनल स्कूलबाट यस वर्ष १४ परीक्षार्थीहरूले एसईई परीक्षा दिन लागेका हुन्। जसमा ४ जना छात्रा र १० जना छात्र छन्।

जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरू एसईईमा सहभागी हुन लागेको स्कूलका प्रिन्सिपल विष्णु भट्टले जानकारी दिए।

भट्टका अनुसार यस स्कूलबाट एसईईमा सहभागी हुने यो तेस्रो ब्याच हो। यसअघि ४४ जनाले एसईईमा सहभागिता जनाइसकेका छन्। परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डद्वारा निर्माण गरिएका प्रश्नपत्र अनलाइनमार्फत् प्राप्त हुने र नेपाली राजदूतावास टोकियोको सुपरिवेक्षणमा परीक्षा सञ्चालन हुने प्रिन्सिपल भट्टले बताए ।

उनका अनुसार राष्ट्रिय परीक्षा बोर्डको सम्पूर्ण नीति नियमभित्र रहेर परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशनसम्म गरिने बताए। जापानको एभरेष्ट इण्टरनेशनल स्कूल विदेशमा नेपाली पाठ्यक्रम अध्यापन गराउने पहिलो विद्यालय हो। यहाँ हाल कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ।

अहिले ४ सय भन्दा बढी विद्यार्थीले यहाँ अध्ययन गरिरहेका छन्। अहिले पाँच लाख १६ हजार ५९१ परीक्षार्थीका लागि देशभरका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र कायम गरिएको छ। जापानी विद्यार्थीका लागि जापानमै केन्द्र राखिएको छ।

Other News

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024