चन्द्र कार्की
जिल्लाका चिया बगानमा कामदारको अभाव भएको छ । बगानमा काम गर्ने र ग्रामीण क्षेत्रका युवा वैदेशिक रोजगारमा गएपछि कामदारको समस्या हुन थालेको हो ।
तेह्रथुममा १४ सय रोपनीमा लगाइएको चियाबगान कामदार नपाउँदा झाडीमा परिणत भएको छ । जिल्लाका व्यावसायिक चिया किसानले कामदार नपाउँदा बर्सेनि लाखौं रुपैयाँ गुमाइरहेको जिल्ला चिया सहकारी संघका अध्यक्ष शंकर खनालले बताए । चिया मुना टिप्ने कामदार नपाइने र प्रशोधन गर्ने उद्योगले कृषकलाई लामो समयसम्म भुक्तानी नदिने समस्या रहेको संघले जनाएको छ । यसअघि बगानमा काम गर्ने र ग्रामीण क्षेत्रका धेरै युवा वैदेशिक रोजगारमा गएपछि चिया खेतीमा कामदार अभाव चुलिएको चिया तथा कफी विकास बोर्ड सोल्माले जनाएको छ ।
अन्न खेती छोडेर चिया रोपेका ग्रामीण क्षेत्रका सयौं किसान बर्सेनि लाखौं रुपैयाँ नोक्सान बेहोरिरहेका छन् । चियाखेती विस्तारका लागि आफैंले नर्सरी राखेका किसानले बिरुवा नर्सरीबाट निकालेका छैनन् । किसानले राखेको चीयाको नर्सरी ब्याड झाँगिन थालेको लालीगुराँस नगरपालिका मुसाङखेलका केदार पौडेलले बताए । धनकुटाको हिलेमा रहेको चिया कारखानाले तीन वर्षअघिको मुनाको पैसा हालसम्म नदिएको उनले सुनाए ।
भविष्यमा पेन्सनसरह हुने सोचेर अन्नबाली हुने बारी बँझ्याएर चिया रोपेका धेरै किसानका लागि निल्नु न ओकल्नु भएको छथर गाउँपालिका हमरजुङका विष्णुकुमार सिंहले बताए । धेरै किसानले यसअघि लगाएको चियाका बोट काटेको उनले बताए । अढाई दशकअघि इलामको कन्यामबाट चियाका बिरुवा ल्याएर खेती सुरु गरेका ३ सयभन्दा बढी किसानले सोचेजस्तो आमदानी लिन नपाउँदै झाँगिएका चियाका बोट हटाउन थालेको उनले सुनाए ।
चियाको मुना लिने उद्योगले किसानलाई समयमा भुक्तानी नदिँदा कामदारलाई पैसा दिनसमेत नसकिएको वसन्तपुरका किसान चित्रबहादुर कार्कीले बताए । ‘अन्य खेतीको तुलनामा चियामा बढी नै कामदार चाहिन्छ,’ कार्कीले भने, ‘उद्योगले समयमा भुक्तानी नदिँदा चियाखेतीबाट उल्टो नोक्सान भइरहेको छ ।’ काँटछाँट गर्ने, बोटको कटिङ गर्ने, मल हाल्ने जस्ता कामका लागि कामदार नै पाइन छाडेको उनले बताए । चिया खेतीमा आश्रित धेरै कामदार रोजगारीका लागि खाडी मुलुक गएका छन् । फर्किएकाले पनि चिया खेतीमा काम गर्न इच्छा नदेखाउँदा धेरै किसानले चिया खेती त्याग्नु बाध्यता बनेको हो ।
टिप्ने अवस्था भएका सयौं रोपनी जमिनको मुना बोटमै हुर्किरहेको छ । बगान झाडीमा परिणत भएका छन् । तर, जिल्लामा उत्पादित चियालाई स्थानीय स्तरमै प्रशोधन गरी बजारीकरण गर्ने उद्देश्यले चिया तथा कफी विकास बोर्डको सहयोगमा मेसिन खरिद गरी उद्योग स्थापना गरिएको भए पनि पर्याप्त मुना अभावमा उद्योग सञ्चालनमा आउन नसकेको बोर्डले जनाएको छ । लाखौं खर्च गरेर चिया रोपेका किसान कामदार अभावमा मुना टिप्न नपाउँदा चिन्तित छन् । जिल्लामा ३ हजार ८ सय रोपनी क्षेत्रफल जमिनमा चिया खेती हुँदै आएको छ ।