घर बनाउन भारतबाट गाउँमा

3 May, 2018

हिमनाथ देवकोटा

रसुवाको नौकुण्ड गाउँपालिका–२, यार्साका शेरलामा थोक्राको परिवार भारतको हिमाञ्चलमा बस्छन्। २६ वर्षदेखि उनको परिवार त्यहाँको जेभी कम्पनीमा काम गर्दै आएको छ। थोक्रा अहिले तीन वर्षअघि गएको भूकम्पले भत्काएको घर बनाउँदै छन्। घर निर्माणका लागि थोक्रासँगै उनकी श्रीमती पनि नेपाल आएकी छन्।

‘हामी बूढाबूढी चार महिनाअघि घर बनाउन गाउँ आएका हौं, थोक्राले भने, ‘काम सकिएपछि हामी फेरि उतै फर्कन्छौं।’ वर्षको तीन महिना उनको परिवार गाउँ आउने गरेको छ। यो वर्ष भने घर निर्माणका लागि केही समय बढी छुट्टी मागेको उनले बताए।

 

घर निर्माणका लागि थोक्रा मात्रै होइन, यार्सा गाउँका १५ परिवार गाउँ फर्किएका छन्। घर निर्माणका लागि छुट्टी मागेर गाउँ आएको यार्साका लाक्पा तामाङ बताउँछन्। घर निर्माण सकिएपछि काममै फर्कने उनको तयारी छ।

 

गाउँमा निर्माण सामग्री अभाव, कामदार अभाव तथा ज्याला महंगो हुँदा घर निर्माणमा ढिलाइ भएको तामाङले बताए। ‘तीन महिनाका लागि छुट्टी लिएर गाउँ आएका थियौं, उनले भने, ‘घर बनाउन ढिलाइ भएपछि कम्पनीमा फोन गरेर अर्को महिनामा आउछौं भनेका छौं।’

 

घर निर्माण सकाएर केही परिवार भने यसअघि नै भारत फर्किसकेका छन्। रोजगारीका सिलसिलामा यहाँका ३० परिवार भारतको हिमाञ्चल बस्दै आएका छन्। निर्माण सामग्री अभावले यार्सामा घर पुनर्निर्माणमा ढिलाइ भइरहेको स्थानीय भूकम्पपीडित बताउँछन्।

 

सडक जोडिएपछि ढलानयुक्त घर बनाउने बढे  

 

नौकुण्ड गाउँपालिकाका छवटै वडा सडक सञ्जालसँग जोडिएका छन्। सडक सञ्जालसँग गाउँबस्ती जोडिएसँगै भूकम्पपीडितलाई निजी आवास निर्माण सहज भएको छ।

 

पहिले गाउँमा माटो र ढुंगाका घर बनाइने गरिएकामा अहिले ढलान गरेर घर निर्माण गर्ने क्रम बढेको हो। विकट क्षेत्रका रूपमा परिचित यार्सा गाउँ, अहिले विकासका पूर्वाधार निर्माण भएसँगै सुगम क्षेत्रका रूपमा परिचित हुन थालेको छ।

 

यसअघि माटो र ढुंगाका घर चार चोटीसम्म निर्माण गरेका स्थानीय बुद्धिबहादुर तामाङले त्रिशुलीबाट निर्माण सामग्री ल्याएर घर निर्माण थालेका छन्। ‘भूकम्प जानुभन्दा अगाडि चारचोटी घर बनाएको थिएँ, तामाङले भने, अहिले दुईकोठे ढलान घर बनाउँदै छु।’

 

यार्सामा त्रिशुलीबाट निर्माण सामग्री ढुवानी गरेको प्रतिटिप २३ हजार रूपैयाँ पर्ने गरेको तामाङले बताए। ‘त्रिशुलीबाट सामान ल्याउँदा करिब २३ हजार पर्छ,  उनले भने, ‘गाउँमा डकर्मीलाई १५ सय दिनुपर्दा घर बनाउन समस्या छ।’

 

स्थानीय तह आएपछि नौकुण्डमा करिब ४५ किलोमिटर सडक निर्माण गरिएको गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामाले जानकारी दिइन्।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024