गैरखेलाडी जापानमै लुके

31 August, 2016

क्रिकेटका नाममा मानव तस्करी

 

दीपेन्द्र गुरुङ

 

काठमाडौंः क्रिकेट खेलाडीका रूपमा मैत्रीपूर्ण खेल खेल्न जापान लगिएका नौजना गैरखेलाडीले काठमाडौं फर्कने टिकट जापानबाटै रद्द गराएको खुलेको छ ।

 

१५ दिनको भिसासहित जापान लगिएका उनीहरू जापानमै भासिएको मंगलबार ४७ दिन बितेको छ । अध्यागमन विभागका अनुसार अन्य नेपाली टोलीसहित गत १५ जुलाईमा जापान गएका ती गैरखेलाडी मंगलबारसम्म स्वदेश फर्किएका छैनन् । ती गैरखेलाडीले पहिले नै बुकिङ गरिसकेको आफ्नो फर्कने टिकटसमेत रद्द गरेको जानकारी सम्बन्धित ट्राभल एजेन्सीले दिएको छ ।

 

गत १५ जुलाईमा जापानमा आयोजना हुने होन्डा कप क्रिकेट प्रतियोगितामा सहभागी हुन १८ सदस्यीय टोली त्यसतर्फ गएको थियो । त्यसमा सातजना क्रिकेटर, दुईजना पदाधिकारी र नौजना गैरखेलाडी थिए । टोलीमा समावेश सातजना क्रिकेटर र दुईजना पदाधिकारी यसअघि नै नेपाल फर्किसकेका छन् ।

 

सिनियर राष्ट्रिय टोलीका पूर्वसदस्य सिद्धान्त लोहनीसहित यू १९ टोलीका प्रेम तामाङ, सौरभ खनाल, फजलुर रहमान, रामनरेश गिरी, अमित श्रेष्ठ र राष्ट्रिय खेलाडी सोनु तामाङ प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएका हुन् । उनीहरूसँगै गएका पदाधिकारीहरू सुन्दर थापाक्षेत्री र किरण राणा पनि स्वदेश फर्किसकेका छन् । उनीहरूसँगै गएका राणा अहिले अमेरिकामा छन् ।

 

सात खेलाडी र दुई पदाधिकारी प्रतियोगिता सकिएको पाँच दिनपछि नै स्वदेश फर्किए पनि अन्य नौजना गैरखेलाडी उतै लुकेका थिए । जापानमै लुकेर बस्ने गैरखेलाडीमा रामसुर बुढा, सञ्जीव बुढा, रोमी सरङ्कोटी राना, सूर्य बानियाँ, नरेन्द्र बुढा, सुन्दरकुमार ओली, श्यामकुमार पुन, डेन्डी शेर्पा र लक्ष्मण छन्त्याल छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ ट्रान्जिट हुँदै जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यी गैरखेलाडीमध्ये सातजना त्यहाँबाटै बेपत्ता भएका थिए ।

 

प्रतियोगिता खेल्न गएका खेलाडी जापान उत्रिनेबित्तिकै गायब भएपछि नेपालको टोली नै अपूरो बनेको थियो । जापानमै रहेका राष्ट्रिय टोलीका पूर्वखेलाडी राजकुमार प्रधान र उनका साथीसहित पदाधिकारीका रूपमा गएका किरण राणाले समेत प्रतियोगिता खेल्नुपरेको थियो । नारिता विमानस्थलबाट उनीहरू बस्ने तय भएको होटेलसम्म पुग्दा नौजना गैरखेलाडीमध्ये दुईजना मात्रै टोलीसँग थिए । ती दुई खेलाडी पनि होन्डा कपअन्तर्गत नेपालको खेल समाप्त भएपछि बेपत्ता भएका थिए ।

 

ड्रागन एयरलाइन्सकै अर्को स‌ं‌स्था क्याथे प्यासिफिकमार्फत जापान पुगेका नौजना गैरखेलाडीले नेपाली टोलीका अन्य खेलाडीसँगै फर्कने गरी २० जुलाईका लागि टिकट बुकिङ गरेका थिए । बाँकी नेपाली खेलाडी र पदाधिकारी पूर्वनिर्धारित समयमै नेपाल फर्कंदा ती गैरखेलाडीले १९ जुलाईको बेलुका पहिले नै बुकिङ भइसकेको आफ्नो टिकटसमेत रद्द गराएका थिए ।

 

पहिले नै बुकिङ भइसकेको टिकट रद्द गरेको घटनाले ती गैरखेलाडी पहिले नै उतै लुक्ने उद्देश्यले जापान गएको पुष्टि भएको अध्यागमनका एक अधिकारी बताउँछन् । ‘जापानका लागि एकतर्फी भाडा मात्रै ५५ हजार रुपैयाँभन्दा बढी छ । त्यसमा पहिले नै बुकिङ भएको टिकट रद्द गर्दा कम्तीमा ४० हजारको हराहारीमा पैसा नोक्सान हुन्छ’, ती अधिकारी भन्छन्, ‘टिकट रद्द गरेर त्यति धेरै रकम गुमाउन तयार हुनुले पनि उनीहरू पहिले नै उतै लुक्ने मनस्थितिका साथ जापान गएको पुष्टि गर्छ ।’

 

होन्डा कपका लागि सुरुमा १९ जना जाने तयारी गरे पनि १८ जनामात्रै जापान पुगेका थिए । जापानका लागि भिसा लागेर टिकटसमेत बुकिङ गरिसकेका प्रकाश बानियाँ भने जापान गएको देखिँदैन । फर्किएका सात खेलाडी र दुई पदाधिकारीबाहेक जापान गएका अन्य नौजना गैरखेलाडीको अध्यागमन विभागमा प्रस्थानको मात्रै रेकर्ड छ, फर्किएको रेकर्ड छैन ।

 

उमेर समूह र सिनियर राष्ट्रिय टोलीबाट समेत खेलिसकेका खेलाडीलाई जापान लाने सम्बन्धमा नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित समितिका सचिव किरण राणाले समन्वय गरे पनि उतै लुकेका नौजना गैरखेलाडीलाई लाने सम्बन्धमा कसले समन्वय गरेको हो भन्नेबारे स्पष्ट भएको छैन । होन्डा कपमा ती खेलाडीले वेस्ट काठमाडौं एफसी (फुटबल क्रिकेट) क्लबबाट सहभागिता जनाएका थिए ।

 

तर प्रतियोगिताका लागि जापान पुगेर फर्किएका क्लबका अध्यक्ष सुन्दर थापाक्षेत्री र राष्ट्रिय खेलाडीलाई जापान लान समन्वय गरेका किरण राणा दुवैले ती नौजना गैरखेलाडीबारे कुनै जानकारी नरहेको बताएका छन् ।

 

यसैबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जापानमा गैरखेलाडी लुकेको सम्बन्धमा छानबिन गर्न मंगलबार समिति गठन गरेको छ । राखेपले बोर्ड सदस्य शैलेश कर्माचार्यको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

 

समितिमा राखेपअन्तर्गतको संघसंस्था समन्वय शाखाका प्रमुख डेमबहादुर बस्नेत र कानुन शाखाका प्रमुख नारायण अर्याल सदस्य छन् । समितिलाई मैत्रीपूर्ण खेलका नाममा जापानमा गैरखेलाडी लगेर छाडेको घटनामा संलग्न रहेकाहरूका बारेमा विस्तृत छानबिन गर्न निर्देशन दिइएको जानकारी राखेपका प्रेस सल्लाहकार रोहित दाहालले दिए ।

 

यी हुन् जापानमै लुकेका गैरखेलाडी

 

रामसुर बुढा

सञ्जीव बुढा

रोमी सरङ्कोटी राना

सूर्य बानियाँ

नरेन्द्र बुढा

सुन्दरकुमार ओली

श्यामकुमार पुन

डेन्डी शेर्पा

लक्ष्मण छन्त्याल

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026