गन्तव्य मुलुकबाटै नवीकरण गर्न आग्रह

15 November, 2022

काठमाडौँ, कात्तिक २९ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम गन्तव्य देशबाटै श्रम स्वीकृति नवीकरण गर्न श्रमिकलाई आग्रह गरेको छ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै सबै श्रम गन्तव्य देशमा श्रम स्वीकृति गर्न सकिने व्यवस्था भएकाले म्याद सकिए वा नसकिएको जाँच गरी नवीकरण गर्न आग्रह गरेको हो। आफू कार्यरत रहेको मुलुकबाट नै श्रम स्वीकृति नवीकरण गरी नेपालको प्रचलित कानुनबमोजिम आफू र आफ्नो परिवारले पाउने कल्याणकारी सेवा सुविधा उपभोग गराउन मन्त्रालयले विज्ञप्तिमार्फत आग्रह गरेको छ।

मन्त्रालयले वैदेशिक रोजगार कल्याणकारी कोष र बीमाबापत दाखिला गर्नुपर्ने रकम सम्बन्धित देशमा रहेको आफ्नो बैङ्क खातामार्फत सिधै नेपालमा रहेको वैदेशिक रोजगार बोर्ड र सम्बन्धित बीमा कम्पनीको खातामा पठाउन सकिने व्यवस्था गरेको जनाएको छ।

मन्त्रालयका अनुसार श्रम स्वीकृतिको म्याद रहे वा नरहेको बेहोरा विभागको वेबसाइटमा गई चेकजाँच गरी म्याद समाप्त हुने अवस्थामा रहेको श्रम स्वीकृति समयमै नवीकरण गरेर विदेशमा दुर्घटनामा परेमा परिवारले कोष र बीमा कम्पनीबाट उपलब्ध हुने बीमा र कल्याणकारी कोषको सेवा लिन आग्रह गरेको छ।

श्रम स्वीकृतिको म्याद सकिएकाले विदेशमा दुर्घटना परी मृत्यु वा घाइते भएमा बोर्डबाट पाउने सात लाख र बीमा कम्पनीबाट पाउने १० लाख रुपियाँ दाबी गर्न वञ्चित हुन्छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024