खोटाङ मझुवागढी नगरपालिकामा मजदुरलाई खाद्यन्न वितरण

27 Mar, 2020

दमन राई

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘लकडाउन’का कारण काम गर्न नपाउँदा बिहान बेलुकी छाक टार्न समस्या भएका कामदारलाई खाद्यान्न सहयोग गरेको छ।  कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि सरकारले गरेको ‘लकडाउन’का कारण दैनिक ज्याला मजदुरीको काम गर्न नपाउँदा बिहान–बेलुकीको छाक टार्नै नसक्ने अवस्थामा पुगेका मजदुरलाई नगरपालिकाले खाद्यान्न सहायोग गरेको हो।

दिक्तेल–खानीडाँडा सडक निर्माणको काम गरिरहेको अवस्थामा ‘लकडाउन’का कारण हातमुख जोर्नै नसक्ने अवस्थामा पुगेका उदयपुर र पथरी मोरङका १९ कामदारलाई २ सय केजी चामल, २० केजी दाल, नुन, तेल खाद्यान्नका सामग्री प्रदान गरेको हो।

चार बालबच्चा सहित सडकको काम गर्दैै बसिरहेका कामदारलाई दिक्तेलको सरस्वती आधारभुत विद्यालयको प्रांगणमा शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपमेयर बिणादेबी राई, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, डिएसपी बामदेव गौतम लगायतले कामदारलाई खाद्यान्नका सामग्री प्रदान गरेका छन्।

नगरपालिकाको ‘लोक कल्याणकारी नीति’ अनुसार लकडाउनको मारमा परेका दैनिक ज्यालादारी मजदुरलाई खाद्यान्न सहयोग गरिएको मेयर रिजालले बताए। खाद्यान्न हस्तान्तरणकाक्रममा मेयर रिजालले लकडाउन भए पनि नगरपालिकाभित्र कोही कसैले पनि भोकभोकै बस्नु नपर्ने घोषणा गरेका छन्। ‘यही लकडाउनकै कारण नगरपालिकाभित्र कसैले पनि भोकभोकै बस्नु पर्ने छैन,’ मेयर रिजालले भने, ‘आवश्यकताको पहिचान गरेर आगामी दिनमा पनि यस्तै राहतका योजनाहरु ल्याउने छौँ।’

दिनभरी मजदुरी काम गरेर बिहान बेलुकाको छाक टार्दै आएका कामदारलाई करिब १५ दिन पुग्ने खाद्यान्न प्रदान गरिएको नगरपालिकाले जनाएको छ। दिक्तेल–खानीडाँडा सडक कालोपत्रेको काममा चार बालबच्चा सहितका कामदार कार्यरत छन्। चार÷पाँच दिनअघि मात्र दिक्तेल आइपुगेका उनीहरु पाल टाँगेर बसिरहेका छन्। ‘लकडाउन’का कारण जिल्लामा निर्माणका क्षेत्रमा काम गर्ने दैनिक ज्याला मजदुरीका काम गर्दै आएका कामदार समस्यामा परेका छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024