खाडी मुलुकमा भइरहेको आक्रमणले नेपालमा कस्तो पर्ला असर?

3 March, 2026

Bijaya Raj Khanal

आर्थिक सुस्तताका बाबजुद बढ्दो विदेशी मुद्रा सञ्चितिको राहत पाइरहेको नेपाललाई मध्यपूर्वी क्षेत्रमा बढेको द्वन्द्वको तनावले प्रभाव पार्न सक्ने देखिएको छ।

धेरै नेपाली रोजगारीको खोजीमा जाने क्षेत्र हो, मध्यपूर्वी।

अमेरिका र इसराइलले इरानका २४ प्रान्तहरूका विभिन्न स्थानमा लक्ष्य गरेर हमला गरेपछि इरानले समेत गल्फ देशमा जबाफी हमला गर्न थालेको छ।

इरानले धेरै नेपालीहरू रोजगारीको लागि जाने कतार, कुवेत, बहराइन, जोर्डन, युएईलगायतका मुलुकमा पनि मिसाइल आक्रमण गरेको छ।

मध्यपूर्व र खाडीका विभिन्न देशहरूमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्ष्य गरेर आक्रमण गरेको हो।

आइतबार बिहान पनि संयुक्त अरब इमिरेट्स (युएई) र कतारका केही क्षेत्रमा विस्फोटका आवाजहरू सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।

यो द्वन्द्वको प्रभाव अन्तर्राष्ट्रियस्तरमै पर्ने देखिन्छ। यो द्वन्द्वले सर्वप्रथम तेलको मूल्य बढाउने सम्भावना छ।

रोयटर्सका अनुसार यो द्वन्द्वले तेलको आपूर्तिमा समस्या आउने र मूल्य बढ्ने सम्भावना छ।

अहिले द्वन्द्वमा सहभागी इरान प्रमुख तेल उत्पादक हो।

यसबाहेक होर्मुजको जलमार्ग इरानसँग जोडिएको छ। होर्मुज जलमार्गको उत्तरी क्षेत्रमा इरान र दक्षिणी क्षेत्रको भागमा ओमानको नियन्त्रण छ।

विश्वको समुद्री बाटो हुँदै जाने तेल तथा प्राकृतिक ग्यासमध्ये ठूलो हिस्सा यसै मार्गबाट जान्छ।

एक वर्षमा मात्रै कच्चा तेलको मूल्य १९ प्रतिशतभन्दा धेरैले बढेको छ।

गत शुक्रबार प्रति ब्यारेल ७३ डलरमा कारोबार भइरहेको कच्चा तेलको मूल्य ८३ प्रतिशतसम्म पुग्न सक्ने अनुमान भइरहेको छ।

‘यसअघि युक्रेन र रसियाको द्वन्द्वको कारण विश्वभर महॅंगी बढेजस्तै अहिले तेलको आपूर्तिमा समस्या हुने देखिएमा नेपालमा पनि महॅंगी बढ्ने सम्भावना रहन्छ,’ योजना आयोगका उपाध्यक्ष तथा राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ बताउँछन्।

अहिलेको द्वन्द्व लम्बिए डलरको भाउ समेत बढ्ने सक्ने आकलन अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले गरेका छन्।

जापानको येन र स्विस फ्रन्सबाहेक अन्य मुद्रासँगको विनिमय दर थप बलियो हुनसक्ने रोयटर्सले समाचारमा उल्लेख गरेको छ।

त्यस्तै, विश्वमा बढेको भू-राजनीतिक द्वन्द्वकै कारण सुनको मूल्यमा वृद्धि भइरहेको छ। एक वर्षयता मात्रै सुनको भाउ २१ प्रतिशतभन्दा धेरैले बढेको छ।

सुनलाई सबैभन्दा सुरक्षित सम्पत्ति मानिने भएकोले पनि यसको भाउ अब थप बढ्न सक्छ।

यसबाहेक यो द्वन्द्वले नेपाललाई प्रत्यक्ष असर गर्न सक्छ।

रोजगारीको लागि नेपालीहरूको मुख्य गन्तव्य नै खाडी मुलुक हो। वैदेशिक रोजगारमा गएकामध्ये आधाभन्दा बढी अर्थात ५६.९ प्रतिशत साउदी अरब, दुबई, कतार लगायतका खाडी मुलुकमा जाने गरेको राष्ट्र बैंकको २०७६ को एक रिपोर्टले उल्लेख गरेको छ।

सरकारले तनावग्रस्त मध्यपूर्वी देशमा १७ लाख नेपाली नागरिक रहेको खुलाएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पुससम्ममा मात्रै कतार, युएइ, जोर्डन, इसराइल, बहराइन, ओमान, कुवेत, साउदी अरेबियालगायतका मुलुक जान श्रम स्वीकृति लिनेको संख्या करिब तीन लाख छ।

‘अहिले मध्यपूर्वी क्षेत्रका हवाइ उडान बन्द भएका छन्, यसले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका कतिपय जान नसक्ने भएका छन्, यो अवस्था लम्बिए मुलुकभित्रको आन्तरिक श्रम बजारमा समेत दबाब पर्छ,’ राष्ट्र बैंकका अर्का पूर्व कार्यकारी निर्देशक डा. गुणाकर भट्ट भन्छन्।

वैदेशिक रोजगारीमा असर पर्दा मुलुक भित्रिने रेमिटेन्समा पनि प्रभाव पर्न सक्छ।

पूर्व कार्यकारी निर्देशक भट्ट भन्छन्, ‘एकातिर तेलको मूल्य बढ्दा विदेशी मुद्राको खपत बढ्छ र रेमिटेन्समा समेत गिरावट आएमा हाल मुलुकमा रहेको विदेशी मुद्राको सञ्चितिमा प्रभाव पर्न सक्छ।’

केही समयअघि नेपालमा विदेशी मुद्रा सञ्चिति उच्चले घट्न थालेसँगै सरकारले विभिन्न वस्तुको आयातमा प्रतिबन्ध नै लगाउन परेको थियो। हाल भने मुलुकमा ३२ खर्ब ४२ अर्ब बराबर विदेशी मुद्रा सञ्चिति छ।

यसले १८ महिनाभन्दा धेरैको आयात धान्न सक्छ। सात महिनाको आयात धान्ने सञ्चिति भएमा पर्याप्त मानिन्छ।

केही समय द्वन्द्व लम्बिएर अवस्था सामान्य बन्दै जाँदा भने रमिटेन्स बढ्ने सम्भावना हुन थाल्ने पनि योजना आयोगका उपाध्यक्ष श्रेष्ठ बताउँछन्।

‘यी मुलुकहरू तेलको भण्डारण धेरै भएका मुलुक हुन्, समस्या चाँडै समाधान भए पुनर्निर्माणमा गइ हाल्न सक्ने क्षमता यिनीहरूसँग छ, त्यसैले द्वन्द्वपछि थप रोजगारी बढ्ने सम्भावना हुन्छ र नेपाल भित्रिने रेमिटेन्समा पनि वृद्धि हुन सक्छ।’

अहिले मध्यपूर्वमा चलिरहेको द्वन्द्वले नेपालमा भावी दिनमा बन्ने सरकारलाई रेमिटेन्स दिगो स्रोत नभएको संकेत दिइरहेको र रोजगारी सृजनामा लाग्न सचेत गराउने राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भट्ट बताउँछन्।

यसबाहेक तत्काललाई यो द्वन्द्वले पर्यटनमा र वेदेशिक ऋण तथा साहयतामा पनि प्रभाव पर्न सक्ने आकलन गरिएको छ।

विशेषतः मध्यपूर्वका विमानस्थल नेपाली र विदेशीहरूको ट्रान्जिट हुने गरेकोले यहाँको पर्यटनमा केही प्रभाव पर्ने सक्ने आकलन गरिएको हो।

त्यस्तै, पछिल्लो समय नेपाल भित्रिने वैदेशिक सहयोग र ऋणमा कमी भइरहेको छ। कोभिड पछि नै अन्तर्राष्ट्रिय दातृ निकायहरूले विभिन्न मुलुकमा वैदेशिक सहयोग र ऋण कटौती गरेका छन्।

अहिलेको द्वन्द्वले निरन्तरता पाउँदा दातृ निकायहरूले प्राथमिकतामा राखेर सहयोग गर्ने मुलुकहरू फेरिन सक्ने भएकोले यसमा पनि असर पर्न सक्छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024