खाडी जान भारतीय बाटो

23 June, 2016

ठाकुरसिंह थारू

  

नेपाल–भारत सीमामा प्रहरी र विभिन्न संघसंस्थाका प्रतिनिधि सक्रिय भए पनि भारतीय बाटो भएर खाडी जाने क्रम रोकिएको छैन । विदेश जाने भिसा भारतमै पाइने भन्दै नेपालीहरूलाई झुक्याएर विदेश पठाउने गरिएको हो । पछिल्लो पल्ट बाँकेको खडैचा नाका भएर भारत लगिएका दुई महिलाको उद्धार गरिएको छ । यसले ग्रामीण नाका प्रयोग भइरहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

 

वैदेशिक रोजगारीका लागि खाडी मुलुक पठाउने भन्दै पूर्वी जिल्लाका महिलालाई नेपालगन्ज नाकाबाट भारत लैजाने क्रम पछिल्ला दिनमा झनै बढेको छ । ‘अवैधानिक तरिकाले भारतकै बाटो विदेश जाने थुप्रै छन्, उनीहरूलाई निगरानी गरेर सीमामै रोकेका छौं,’ मानव बेचबिखनविरुद्धको अभियानमा लागेका अधिवक्ता पदम पाण्डे भन्छन्, ‘जति नै प्रयास गरे पनि खाडीलगायत अन्य देश जाने घटेका छैनन् ।’

 

डीएसपी भीमकिरण बोगटीले मुख्य नाकामा सुरक्षा निगरानी बढाएपछि मानव तस्करीका घटना ग्रामीण नाकाबाट हुन थालेको बताए । भारतीय बाटो जाने अधिकांश महिला भूकम्प प्रभावित जिल्लाका छन् । ‘सबैभन्दा ठूलो आर्थिक प्रलोभन हो, लुकिछिपी जाने गरेका छन्,’ उनले भने ।

 

भारत लगेर बेपत्ता पारिने घटना पनि धेरै छन् । माइती नेपालले सन् २०१५ मा सार्जजनिक गरेको तथ्यांक अनुसार एक वर्षमा ४ सय १० महिला बेपत्ता भएका छन् । उनीहरूको अवस्था खुल्न सकेको छैन । बेपत्ता हुनेहरूमा १८ वर्षमुनिका महिला बढी छन् । अधिकांशले रोजगारीका लागि भन्दै भारत र खाडी मुलुक जाने भनेर घर छाडेको माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले बताए ।

 

विनाशकारी भूकम्पयता सीमाबाट २ सय ८९ महिला र बालबालिकालाई उद्धार गरिएको छ । तीमध्ये डेढ सय भूकम्प प्रभावित जिल्लाका छन् । चालु आवमा बाँके प्रहरीले मानव बेचबिखनका ११ मुद्दा चलाएको छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026