कोरोना प्रभावित ८०० परिवारलाई राहत वितरण

21 December, 2020

६ पुस, वीरगञ्ज । नेपाल अष्ट्रेलिया प्रजातान्त्रिक मञ्चले तराईका विभिन्न जिल्लामा राहत वितरण गरेको छ । कोभिड-१९ बाट प्रभावित दलित विपन्न समुदायलाई खाद्यान्न सामग्री वितरण गरेको हो ।

पर्साको अलौ, सुगौली, लक्ष्मीपुर, रौतहटको गरूडा, सर्लाहीको चन्रद्ररनगरका दलित विपन्न समुदायलाई राहत वितरण गरिएको थियो । तराईको दलित लक्षित राहत कार्यक्रमको संयोजन पत्रकार चन्द्रकिशोरले गरेका थिए ।

तराईका तीन जिल्लामा ४ सय परिवारलाई प्रतिपरिवार २५ किलो चामल, २ किलो दाल, तेल, नून र मास्क १/१ प्योकट, नुहाउने र लुगा धुने साबुन वितरण गरिएको पत्रकार चन्द्रकिशोरले जानकारी दिए । मञ्चले तराईका दलितका लागि मात्रै ६ लाखको राहत प्रदान गरेको उनले बताए ।

राहत पाएपछि दलित विपन्न परिवार खुशी भएका छन् । मञ्चले जाजरकोटमा १०३ र कालीकोटमा १६३ परिवारलाई राहत वितरण गरेको छ ।

अष्ट्रेलियामा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुसँग रकम संकलन गरी नेपालका दलित विपन्न समुदायलाई राहत वितरण गरिएको मञ्चका अध्यक्ष सुरेन्द्र सापकोटाले बताए ।

‘नेपालमा कोभिड-१९ को राहत वितरणका क्रममा स्थानीय तहले विभेद गरेको गुनासो पनि आइरहेको थियो, यस्तो महामारीको समयमा देशमा केही सहयोग गर्नैपर्छ भन्ने लागेपछि अभियानमा जुटेका हौं,’ उनले भने, ‘हामीले राज्यबाट आश मारेर बसेका दलित विपन्न समुदायलाई राहत वितरण गरेका छौं ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024