कोरिया कामदार पठाउन तत्कालका लागि रोकियो

23 February, 2020

होम कार्की

काठमाडौँ — वैदेशिक रोजगार विभागले दक्षिण कोरियामा नयाँ नेपाली कामदार पठाउन तत्कालका लागि रोकेको छ । दक्षिण कोरियाका दुई सहरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अस्वाभाविक रूपमा बढेपछि विभागले नयाँ कामदार पठाउन तत्काल रोक लगाएको हो ।

‘कोरिया सरकारकै समन्वयमा नयाँ कामदारको उडान राखिएको छैन। अहिले हामी पर्ख र हेरको अवस्थामा छौं,’ विभागको कोरिया शाखा प्रमुख कृष्ण खनालले कान्तिपुरलाई भने। उनले फागुन १८ का लागि तय गरिएको उडान तालिका प्रभावित हुन सक्ने बताए। ‘फागुन १८ गते ४० जना कामदारको प्रस्तावित उडान छ। यसलाई कोरियाको मानव संसाधन विभागले स्वीकृत गरिसकेको छैन,’ उनले भने, ‘अब कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको अवस्था कस्तो हुन्छ। त्यसमा भर पर्छ।’रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गतसाता केही कामदार कोरिया गएका थिए। थप कामदार पठाउनेबारे कोरियाको सोलस्थित नेपाली दूतावास र मानव संसाधन विभागबीच समन्वय भइरहेको छ।

नियमित प्रक्रियाअनुसार सहज वातावरण भएको भए यही साता झन्डै दुई सय कामदार कोरिया जान्थे। दुवै देशले अवस्थालाई निकै गम्भीरतापूर्वक हेरिरहेको खनालको भनाइ छ।कोरियामा हाल झन्डै ४२ हजार ६ सय नेपाली छन्। जसमध्ये ३३ हजार अदक्ष कामदार छन्। ४ हजार ८ सय जना महिला छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024