कोरियाको कोरोना प्रभावित क्षेत्रमा हजार नेपाली

24 February, 2020

रुद्र खड्का

काठमाडौं – चीनबाट सुरु भएको नोवल कोरोना भाइरस दक्षिण कोरियामा समेत फैलिएपछि नेपाली कामदार त्रसित भएका छन्।कोरियास्थित नेपाली राजदूतावासले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरी कोरियामा कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको उल्लेख गर्दै प्रभावकारी रूपमा सुरक्षाका उपाय अवलम्बन गर्न आग्रह गरेको छ।

कोरियाको सिओलमा काम गरिरहेका रामेछापका विदुर सापकोटाले कोरोना नियन्त्रणमा नआएपछि नेपाली त्रसित भइरहेको बताए। ‘अहिलेसम्म कुनै पनि नेपाली संक्रमित भएको जानकारी छैन,’ उनले भने, ‘रोग फैलिँदै गयो भने नेपाली पनि संक्रमित नहोलान् भन्न सकिँदैन।’

कोरियामा रहेका नेपालीहरूले कोरोना भाइरस नियन्त्रणमा आउन सकेन भने चीनको जस्तै कोरियाबाट पनि उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्। रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दुई वर्षअघि कोरियाको राजधानी सिओल पुगेका भक्तपुरका राजेश नकर्मीले रोग फैलिएको ठाउँ सुनसान हुँदै गएको बताए। ‘उक्त रोगले अहिलेम्म राजधानीदेखि करिब पाँच सय किलोमिटर टाढाको थेगुमा धेरै क्षति पु-याएको छ,’ उनले फोनमा नागरिकसँग भने, ‘जसले गर्दा पूरै कोरियाभरि नै त्रास उत्पन्न भइरहेको छ।’

कोरोनाले सबभन्दा बढी संक्रमित भएको थेगुमा चार दिनयता चारजनाको मृत्यु भइसकेको बताइएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाका प्रमुख कृष्णप्रसाद खनालका अनुसार कोरोना भाइरस फैलिएको थेगु इलाकामा करिब एक हजार नेपाली कार्यरत छन्।

‘अहिलेसम्म कोरोना भाइरसका कारण कुनै पनि नेपाली संक्रमित भएको जानकारी छैन,’ खनालले भने, ‘तैपनि थेगु इलाकामा करिब एक हजार नेपाली रोजगारीमा रहेकाले चिन्ता बढाएको छ।’

चीन सरकारले अनेक प्रयास गर्दा पनि रोग नियन्त्रणमा आउन नसकेको बेला कोरियामा समेत त्यस्तै हालत हुन सक्ने ठानेर कोरियामा बसोबास गर्ने नेपालीले सरकारलाई जुनसुकै बेला उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले तयारी अवस्थामा रहन सचेत गराएका छन्।

कोरियास्थित नेपाली राजदूतावासले कोरोना भाइरसबाट बच्न सिओल महानगरपालिकाको कार्यालयबाट प्राप्त जानकारीलाई प्रचार गरेको जनाएको छ। रोजगारीका लागि आकर्षक मानिएको कोरियामा करिब ४० हजार नेपाली रहेको इपिएस कोरिया शाखाले जनाएको छ।

कोेरियामा पुगेका नेपालीले अनुशासित भएर तोकेको काम गरेपछि कोरिया सरकारले बर्सेनि नेपाली युवालाई कोरियामा रोजगारी दिने क्रम जारी राखेको छ। राम्रो पारिश्रमिक पाइने गन्तव्यको रूपमा लिने कोरिया रोजगारीमा जान बर्सेनि ठूलो संख्याका युवाले प्रतिस्पर्धा गर्ने गर्छन्।

कोरिया सरकारले सन् २००७ यता रोजगार अनुमति प्रणालीमार्फत नेपाली युवालाई लैजान थालेको हो। रोजगार अनुमति प्रणालीमार्फत कोरिया जानेले सबभन्दा पहिला कोरियन भाषा उत्तीर्ण गर्नुपर्छ। कोरियन भाषा उत्तीर्ण गरेका मध्येबाट कोरियाली रोजगारदाताले छनोट गरेपछि युवा रोजगारीका लागि कोरिया जान पाउँछन्। कोरियामा न्यूनतम मासिक पारिश्रमिक डेढ लाख रुपैयाँ तोकिएकाले बर्सेनि ठूलो संख्याका युवाले भाषा परीक्षाका लागि प्रतिस्पर्धा गर्ने गर्छन्।

त्यस्तै, कोरिया जाने युवाको लागत पनि अन्य मुलुकको तुलनामा कम लाग्ने गर्छ। हवाई टिकटसहित कोरिया जानेको खर्च ८० हजार रुपैयाँ हाराहारी हुने इपिएस शाखाका कर्मचारी बताउँछन्। इपिएस सुरु भएयता कोरियामा करिब ६५ हजार युवा गएको र तीमध्ये हाल ४० हजार जति उतै रहेको बताइन्छ।

चीनमा जस्तै कोरोना भाइरस कोरियामा फैलने हो भने उद्धारका लागि सरकारले निकै मेहनत गर्नुपर्ने धेरैको भनाइ छ। चीनमा रहेका एक सय ७५ जनालाई नेपाल फर्काउन सरकारले लामो कसरत गरेको उदाहरण देखाउँदै सापकोटाले कोरियामा त्यस्तो समस्या आए झन कठिन हुने बताए।

सिओलस्थित नेपाली राजदूतावासका अनुसार हालसम्म कोरियामा कोरोना भाइरसबाट संक्रमितको संख्या चार सय नाघिकेको छ। उक्त रोग सुरु भएको चीनमा ७३ हजारभन्दा बढी संक्रमित भइसकेका छन्। त्यस्तै कोरोनाका कारण चीनमा मृत्यु हुनेको संख्या दुई हजार तीन सय ४५ को पुगिसकेको छ।

१८ गतेको कोरिया उडान नहुने

कोरियामा कोरोना भाइरसको संक्रमण देखिएपछि अर्को साता (फागुन १८ गते) कोरियाको उडान नहुने भएको छ। ‘कार्यतालिका अनुसार फागुन १८ गते केही युवालाई कोरिया पठाउने योजना थियो,’ इपिएस शाखा प्रमुख खनालले भने, ‘कोरियामा कोरोना भाइरस फैलिएको खबर आएपछि फागुन १८ गतेको उडान रोक्ने निर्णयमा पुगेका छौं।’ इपिएस शाखाले रोजगारदाताले माग गरेपछि भाषा परीक्षा उत्तीर्ण गरेर रोष्टर सूचीमा रहेकालाई कोरिया पठाउने गर्छ। आगामी दिनका उडानबारे भने कोरोनाको विस्तार कसरी हुन्छ, त्यसमा भर पर्ने खनालले जानकारी दिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024